काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले क्रान्तिकारी कहिल्यै निराश हुन नहुने विचार व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंको कपनमा सोलु–काठमाडौं जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष बैद्यले यस्तो बताएका हुन् । नेपालमा क्रान्ति अपरिहार्य रहेको बताउँदै उनले राज्यसत्तामा कुनै पनि परिवर्तन भएको छैन, जनताका समस्याहरु ज्युँका त्युँ रहेकाले क्रान्तिकारीहरु नयाँ जनवादी क्रान्तिको तयारीमा नयाँ ढंगले जुट्नुपर्ने बताए ।
कांग्रेस, एमाले, माके र मधेसवादी दलहरुले सारतः एउटै वर्गको प्रतिनिधित्व गर्छन् भन्दै दक्षिणपन्थी अवसरवाद, नवसंशोधनवाद र प्रतिक्रियावादका विरुद्धको संघर्षमा दृढतापूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालहरु निकै जटिल र संकटपूर्ण दिशातर्फ धकेलिएको भन्दै नयाँ जनवादी क्रान्तिको कोर्स पूरा गर्न पार्टीको आगामी राष्ट्रिय सम्मेलनबाट कार्यदिशा परिमार्जन र परिस्कृत गरिने पनि अध्यक्ष बैद्यले बताए ।
विष्णु खड्काले अध्यक्षता गरेको र कुमार बोगटीले संचालन गरेको सम्पर्क मञ्चको जिल्ला भेलामा क्रान्तिकारी माओवादीका सचिवालय सदस्यहरु दिनेश शर्मा, राम आचार्य, पवनमान श्रेष्ठ, केन्द्रीय सदस्यहरु सुरेश श्रेष्ठ, बसन्त बोगटी, जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चका केन्द्रीय संयोजक हरिकृष्ण गजुरेल, विध्यार्थी नेता पेशल दाहाल र जिल्ला सम्पर्क मञ्चका किरात संयोजक कुमार भट्टराई लगायत नेताहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।
भेलाले महेश निरौलाको संयोजकत्वमा अमिर कोइराला, राम राई, कुन्ता बस्नेत, अमर मगर, पेम्बा लामा, अर्जुन थापामगर, दिनेश रानामगर, दिवस रानामगर, जीवन निरौला, पासाङ शेर्पालगायत सदस्य रहेको सोलु–काठमाडौं जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्च गठन गरेको छ । निरौलाको संयोजकत्वमा ६ सदस्य पछि थप्ने गरी १७ सदस्यीय कमिटि गठन गरेको हो ।