एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको सबैभन्दा ठूलो सैनिक अस्पतालमा चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले गरेको आक्रमणमा ३० जनाको मृत्यु भएको छ ।

डाक्टरको भेषमा आएका आईएसका बन्दुकधारीले सरदार दाउद सैनिक अस्पतालको मुख्य ढोकामा आत्मघाती हमलापछि भवनभित्र छिरेर कर्मचारी र विरामीमाथि गोली चलाउन सुरु गरेका अफगान रक्षा मन्त्रालयले जनाएको छ ।
मारिनेमा अस्पतालका डाक्टर, नर्स र विरामी रहेका छन् ।

आक्रमणपछि हेलकप्टरबाट अमेरिकी राजदूतावास नजिकै रहेको ४ सय शैय्याको सो अस्पतालको छतमा उत्रिएका कमाण्डो टोलीका सदस्यसँगको घन्टौ लामो भिडन्तपछि चार हमलाकारी मारिएका थिए ।

आक्रमणपछि अस्पतालमा रहेका सबै विरामीलाई निकालिएको थियो । चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले आक्रमणको जिम्मेवारी लिएको छ । तालिवानले यो आक्रमणमा आफ्नो कुनै प्रकारको संलग्नत अस्वीकार गरेको छ ।

अस्पतालका एक डाक्टरले भने, ‘एक बन्दुकधारी अस्पतालमा लगाउने पोसाकमा थिए । उनले कोटभित्रबाट बन्दुक निकाले र कर्मचारी तथा विरामीमाथि गोली बर्साउन थाले ।’

अस्पतालबाट बाहिरिन सफल चिकित्सक अब्दुल कादिरले भने, ‘सेतो कोट लगाउने एक बन्दुकधारीले म माथि गोली चलाए, म सिढीको तलबाट कुदें । त्यसपछि उसले मेरा एक सहकर्मीमाथि गोली चलाए ।’

अफगान राष्ट्रपति अशरफ घानीले यस आक्रमणले तमाम मानवीय मूल्यलाई कुल्चिएको बताएका छन् । उनले अस्पतालमाथिको आक्रमणलाई अफगानिस्तानमाथिकै आक्रमणको रुपमा टिप्पणी गरेका छन् ।

आक्रमणमा परी अन्य ५० जना घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणका क्रममा ६ घन्टासम्म अस्पतालमा भिडन्त चलेको गृहमन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर