एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि पत्रकारमाथिको आक्रमण र अपमानका घटनामा वृद्धि भएका छन् ।
ट्रम्पले निर्वाचनअघिदेखि नै सुरु गरेको पत्रकारमाथिको प्रहार लगातार जारी राखेका हुन् ।
मेरिल्याण्डमा कन्जरभेटिभ पोलिटिकल एक्सन कंग्रेसमा दिएको भाषणको सुरुमै उनले १३ मिनेटसम्म मीडियाको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पले सञ्चारमाध्यममाथि लगातार प्रहार गर्न थालेपछि सञ्चारमाध्यम र ट्रम्पबीच मीडियाको सम्बन्धमा नयाँ टकराव देखिएको छ ।
ह्वाइट हाउसमा ट्रम्पका प्रवक्ता शान स्पाइसरले गरेको प्रेस भेटघाटमा ट्रम्पप्रति आलोचना गरिएको भन्दै बीबीसी, द न्यूयोर्क टाइम्स, सीएनएन जस्ता सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश नदिई बाहिर निकालिएको छ ।
ह्वाइट हाउसको रबैयाको विरोधमा एसोसिएटेड प्रेस (एपी) र टाइम म्यागेजिनका पत्रकारले पनि पत्रकार सम्मेलन बहिष्कार गरेका थिए । उनीहरुले पत्रकारलाई बाहिर निकालेकामा ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन् ।