महान अक्टोबर समाजवादी क्रान्तिको सफलताः वस्तुगत र आत्मगत परिस्थितिको तादम्यता

प्रकाशित मिति : २०७३ फाल्गुन ९

- परि थापा

 हान अक्टोबर समाजवादी क्रान्ति परम्परागत पात्रो अनुसार सन् १९१७ को अक्टोबर २५ तारिख र नयाँ पात्रो अनुसार सन् १९१७ को नोभेम्बर ७ तारिखका दिन सम्पन्न भएको थियो । वास्तवमा अक्टोबर समाजवादी क्रान्ति मानव समाजको इतिहासमा संसार हल्लाउने खालको एक युगान्तकारी घटना थियो ।

उक्त ऐतिहासिक क्रान्तिको सफलताको सजिव वर्णन अमेरिकी पत्रकार एवं समाजवादी जोहन रिडले आफ्नो विश्व प्रसिद्ध रचना ‘संसार हल्लाउने दस दिन’ नामक रचनामा रोचक ढंगले प्रस्तुत गरेका छन् । उनले अक्टोबर समाजवादी क्रान्ति सम्पन्न हुने दौरानमा तत्कालिन अवस्थामा रुसमै रहेर त्यसको प्रत्यक्ष अध्ययन र अनुभव गरेका थिए ।

यतिखेर अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको एकसय वर्ष अथवा एक शताब्दी पुग्दैछ । अक्टोबर समाजवादी क्रान्तिले प्रतिकृयावादी पुँजीवादी व्यवस्थालाई ध्वस्त पारेर मानव समाजको क्रान्तिकारी परिवर्तन र शोषित, उत्पीडित सर्वहारा वर्गको पक्षमा राज्यसत्ता स्थापना गरेको मात्र होइन, बरु विश्व साम्यवादी व्यवस्था स्थापनाको दिशामा अगाडि बढ्नका लागि विश्वभरिका सर्वहारावर्गलाई उत्प्रेरणा र मार्गदर्शन समेत गरेको थियो । अहिले अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको संदर्भमा त्यो क्रान्ति सफल हुनुका पछाडि रहेका वस्तुगत र आत्मगत परिस्थितिहरुका सम्बन्धमा संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।

रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न हुनुभन्दा अगाडि नै दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रियले तत्कालिन विश्व परिस्थितिका सम्बन्धमा गम्भीर छलफल गरेको थियो । त्यस सन्दर्भमा खास गरेर त्यस अवस्थामा विश्वका साम्राज्यवादी शक्तिहरुका वीचमा विकास हँुदै गएको व्यापक अन्तर्विरोध र त्यसको परिणामस्वरुप साम्राज्यवादी देशहरु विपरीत ध्रुवमा विभाजित भएर विश्वयुद्धको खतरा उत्पन्न हुन सक्ने सम्भावनाका बारेमा केन्द्रित रहेको थियो ।

सन् १९०७ मा जर्मनको स्टुटगार्ड शहरमा सम्पन्न भएको दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रियको महाधिवेशनमा लेनिन, रोजा लक्जेम्वर्ग र मार्तोभले सम्भावित विश्वयुद्धका सम्बन्धमा प्रस्तुत भएको प्रस्तावमाथि यसप्रकार संयुक्त संशोधन प्रस्ताव राखेका थिए ः “पछि युद्ध भड्कियो भने त्यतिखेर समाजवादी पार्टीहरुको कर्तव्य भनेको त्यसको शिघ्र अन्त्यको लागि हस्तक्षेप गर्नु हुनेछ र सम्पुर्ण शक्ति लगाएर युद्धले निम्त्याएको ध्वंशात्मक आर्थिक एवं राजनीतिक संकटलाई उपयोग गरेर जनतालाई जागृत गराउनु र त्यसपछि पुँजीवादीवर्गको शासनलाई उन्मुलन गर्न तीब्रता दिनु हुनेछ ।” स्टुटगार्ड अधिवेशनले यो प्रस्तावलाई सर्वसम्मतले पारित गरेको थियो ।

जब सन् १९१४ को अगस्ट ४ तारिखमा युद्ध भड्कियो, तब स्टुटगार्ड अधिवेशनमा सहभागि भएका बहुमत पार्टीहरुले साम्राज्यवादी युद्धका विरुद्धमा संघर्ष गर्ने दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रियको नीति र निर्णयलाई कार्यान्वयन गरेनन् । त्यसबेला संसारकै ठुलो र शक्तिशाली रहेको जर्मनको सामाजिक जनवादी पार्टीले त त्यस प्रकारको कुनै पनि नीति र निर्णयप्रति नबाँधिने मत महाधिवेशनको दौरानमा पहिल्यै राखेको थियो । तर लेनिनको नेतृत्वमा रहेको बोल्शेभिक पार्टीले साम्राज्यवादी युद्धको विरोध गर्दै घरेलु प्रतिकृयावादी सत्ताका विरुद्ध संघर्ष अगाडी बढाएर कम्युनिष्ट अन्तर्राष्ट्रियको नीति र निर्णयलाई व्यवहारमा कार्यान्वयन गरेको थियो र त्यो संघर्षलाई महान् अक्टोबर समाजवादी क्रान्तिको सफलतासम्म पु¥याएको थियो ।

तत्कालिन अन्तर्राष्ट्रिय परिस्थितिका साथ साथै रुसको आन्तरिक परिस्थिति पनि क्रान्तिकारी शक्ति र आन्दोलनका लागि परिपक्व हँुदै गएको थियो । जारशाहीलाई सत्ताच्यूत गरेर त्यसपछि सामाजिक क्रान्तिकारी पार्टीको नेता अलेक्जेम्बर केरेन्स्कीको नेतृत्वका स्थापना भएको अन्तरिम बुर्जुवा सरकार अत्यन्तै कमजोर र असंगठित थियो भने अर्कातिर त्यो सरकार राज्य संचालनका दृष्टिकोणले अनुभवहिन मात्र थिएन कि त्यसको काम गर्ने तौरतरिका र कार्यशैली जारशाहीको भन्दा भिन्न र फरक थिएन । साम्राज्यवादी शक्ति र देशहरु एकातिर स्वयम् युद्धमा संलग्न थिए र फसेका थिए भने अर्कातिर उनीहरुका बीचमा व्यापक विभाजन हुनुका साथै अन्तरविरोध विकास भएको थियो । त्यसरी उनीहरु सशस्त्र विद्रोहमार्फत् रुसको केन्द्रीय सत्ता कब्जा गर्दै समाजवादी क्रान्ति सफल बनाउनका लागि बिजयन्मुख हुँदै गइरहेका बोल्शेभिक क्रान्तिकारीहरुका विरुद्ध आक्रमण र हस्तक्षेप गर्न नसक्ने अवस्थामा थिए । त्यसैगरि रुसको राज्यसत्ता स्वयम् साम्राज्यवादी युद्धमा संलग्न भएको थियो ।

महान अक्टोबर समाजवादी क्रान्तिलाई सफलतामा पु¥याउनका लागि तत्कालिन रुसको उपरोक्त राष्ट्रिय परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिको वस्तुगत अवस्थाका अतिरिक्त बोल्शेभिक पार्टीको आत्मगत अवस्था पनि निकै खारिएको अवस्थामा थियो । लेनिनको नेतृत्वमा रहेको बोल्शेभिक पार्टी त्यहाँको क्रान्तिकारी सर्वहारा मजदुर वर्गको अग्रदस्ताका रुपमा रहेको थियो र त्यसभन्दा अगाडि सन् १९०५ र १९१७ को फेबु्रअरी क्रान्तिको नेतृत्व समेत गरेर दुईवटा क्रान्तिबाट खारिएको र परिस्कृत भैसकेको थियो । त्यसैगरी बोल्शेभिक पार्टीले ठुलो संख्यामा रहेका रुसका किसानवर्गलाई सर्वहारा मजदुर वर्गको मित्रशक्तिका रुपमा लिएर उनीहरुसंग प्रभावकारी एकता कायम गर्न सफल भएको थियो । त्यसैगरि बोल्शेभिक पार्टीले किसानवर्गका प्रमुख शत्रुका रुपमा रहेका त्यहाँका सामन्ती र जमिन्दार वर्गका विरुद्ध लडेर उनीहरुका हकहितका पक्षमा काम गर्न सक्दछन् भन्ने कुरामा पनि विश्वस्त पारेको थियो । त्यसबाट क्रान्तिका शत्रु पक्ष र मित्रपक्षका बीचमा स्पष्ट सीमा रेखा कोरिएको अवस्था थियो ।

त्यस अवस्थामा रुसको जनप्रतिधिमूलक संस्था सोभियतको पनि निर्वाचन सम्पन्न भएको थियो । ती निर्वाचनहरुमध्ये तत्कालिन रुसका दुई ठुला राजधानी शहरहरु मस्को र पेत्रोग्रादका सोभियतहरुमा बोल्शेभिक पार्टीका पक्षधर मजदुर र सेनाका प्रतिनिधिहरुले बहुमत हाँसिल गरेर विजय भएका थिए । त्यसबाट लेनिन र बोल्शेभिकहरु आफ्नो हातमा केन्द्रीय सत्ता लिन सक्छन् भन्ने कुरोको निक्र्यौलमा पुगेका थिए । ती दुई मुख्य शहरहरुका सोभियतमा प्राप्त भएको विजयको उत्साहलाई आम न्यायप्रेमी जनसमुदायहरुसंग जोडेर प्रतिकृयावादी र क्रान्तिविरोधी तत्वहरुलाई धराशायी र परास्त गर्न पर्याप्त शक्ति पुग्दछ भन्नेमा पनि उनीहरुलाई पूर्ण आत्मविश्वास थियो ।
महान लेनिनको नेतृत्वमा रहेको बोल्शेभिक पार्टी कार्लमाक्र्सका विचारहरुप्रति प्रतिवद्ध रहेको क्रान्तिकारी पार्टी थियो । त्यसैले उनीहरुले क्रान्तिलाई कसरी सफल बनाएर विजय हासिल गर्ने भन्ने स्पष्ट नीति र कार्यक्रम तय गरेका थिए जसमा लेनिनको प्रत्यक्ष नेतृत्व र निर्देशन रहेको थियो । त्यस योजनाअनुसार सर्वप्रथम पेत्रोग्रादको सोभियतमा कब्जा जमाउने अनि सोभियतकै नाममा सत्ता कब्जा गर्ने र त्यसपछि अन्य शहरहरमा पनि त्यो प्रकृयालाई अगाडि बढाउने कार्ययोजना रहेको थियो ।

त्यसै संदर्भमा लेनिनले आफ्नो प्रशिद्ध रचना ‘अप्रिल थेसिस’ लेखेका थिए, जसमा उनले ‘सम्पूर्ण सत्ता सोभियतलाई’ भन्ने नारा मात्र दिएनन्, आम जनसमुदायहरुको सरोकारको विषयलाई समेत अगाडि ल्याए । ती विषयहरुमा ‘शान्ति, जमिन र खाना’ गरि तीनवटा विषयहरु समावेश थिए ।

लेनिनलाई रुसी जनताहरुले युद्धको अन्त्य चाहन्छन् भन्ने थाहा थियो । त्यसकारण उनले बोल्शेभिक पार्टीले जर्मनहरुसंग शान्ती सम्झौता गर्ने कुराको घोषणा गरे । बोल्शेभिकहरुको समर्थनमा मुख्यतः शहरहरुमा बस्ने सर्वहारा मजदुर वर्ग रहेका थिए । ठुलो बहुमतमा रहेका किसानवर्गहरुमध्ये निकै कम मात्र बोल्शेभिक पार्टीको समर्थनमा रहेका थिए । त्यसकारण किसानहरुलाई जमिनदिने प्रतिबद्धता दिएपछि सत्ता कब्जा गर्ने दौरानमा बहुमत जनसंख्यामा रहेका किसानवर्ग तथष्ट रहेका थिए । त्यतिखेर रुसमा विभिन्न शहर र बजारहरुमा खाद्यअभाव रहेको थियो । त्यो कुरालाई मध्यनजर राख्दै लेनिनले बोल्शेभिक पार्टीले सत्ता कब्जा गरेपछि उक्त खाद्य अभावको समस्या समाधान गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

लेनिनले हंगेरीका कम्युनिष्ट नेता बेला कुनको आलोचना गर्दै भनेको छन् “माक्र्सवादको सबैभन्दा महत्वपूर्ण र एकदमै सार कुरा– जीवित–आत्मा भनेको नै ठोस परिस्थितिको ठोस विश्लेषण हो । त्यो कुरालाई उनले त्यतिखेरको अवस्थाको मूल्याकंन गरेर प्रमाणित गरेका थिए । त्यसैगरी लेनिनले काउत्स्कीको आलोचना गर्दै भनेको छन् ः “काउत्स्कीका वामपन्थी विपक्षीहरुले क्रान्ति ‘बनाउन’ सकिन्न भन्ने कुरो एकदमै राम्रोसंग जान्दछन्, क्रान्तिहरु बस्तुगत रुपले नै (अर्थात् पार्टीहरु र वर्गहरुको चाहनाभन्दा स्वतन्त्र रुपले) इतिहासमा आउने परिपक्व संकटहरु र मोडहरुमार्फत् विकास हुन्छन्, संगठनविना जनसमुदायहरुले एकताभाव गुमाउछन् र केन्द्रीकृत राज्यको शक्तिशाली आतंककारी सैन्य संगठन विरुद्धको संघर्ष कठिन र लामो कार्य हो । त्यो कुरालाई पार्न लेनिन र बोल्शेभिक पार्टीले व्यवहातः पुष्टि गरेर देखाएको थियो ।

अहिले महान अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी विश्वव्यापी रुपमा संसारभरका सच्चा माक्र्सवादी–लेनिनवादी क्रान्तिकारीहरुले विविध कार्यक्रम गरी मनाइरहेका छन् । यस संदर्भमा हामीले उपरोक्त ऐतिहासिक घटना र तीनका विवेचनाबाट हाम्रो देशको वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको वस्तुगत अवस्थाको सही ढंगले मूल्यांकन गर्दै पार्टी र संगठनको आत्मगत अवस्थालाई सुदृढ पार्दै क्रान्तिकारी आन्दोलनलाई कसरी अगाडि बढाउने र नेतृत्व प्रदान गर्ने भन्ने कुरा सिक्न, बुझ्न र कार्यान्वयन गर्न आवश्यक छ ।