यो पृथ्वीलोकमा एउटा यस्तो देश छ जहाँ एउटा होइन दुईटा होइन चारचारवटा ‘प्रजातन्त्र दिवस’ मनाइन्छ । त्यो पनि लरतरो तरिकाले होइन, बडो तामझामका साथ । निकै खर्चिलो, भड्किलो र राष्ट्रको ढुकुटी रित्याएर । दिवस मनाउँदाको रात राज्यसत्ता बडो आनन्दसँग निदाउँछ । बेलुका अङ्ग्रेजी मार्काका राता, काला, हरिया सिसिका विर्का खोल्छ । सेकुवा र भटुरेका लाम्टा लुच्छ र अङ्ग्रेजी दारु चियर्स गर्दै तुनुक्क तुन्क्याउँछ र हनिमुन मनाउँदै लाखौँका विकासी थाङ्नामा लुड्किन्छ । किनकि उसले प्रजालाई दिवसका अवसरमा निकै सुखशान्ति र समृद्धि बाँडेको छ । आफ्ना प्रजाहरूलाई उनीहरूकै हात हातमा तन्त्र थमाएकोमा ऊ प्रफुल्ल मुद्रामा मखलेल हुन्छ । त्यो देश भनेको नेपाल नाम गरेको मण्डल हो, जहाँका शासकहरू प्रभुहरूको भजन गाउँदै वेलाबखत आशिर्वाद थाप्न कमण्डलु भिरेर तिर्थाटनतिर हिँड्छन् ।

यहाँ ‘प्रजातन्त्र दिवस’ पनि दलैपिच्छेका आआफ्नै भागशान्तिका छन् । ती हुन् पहिलो सातसाले ‘प्रजातन्त्र’ खासमा पर जा तन्त्र दिवस । यो काङ्ग्रेस नाम गरेको दलको हजुरियामा बक्स भएको दिवस हो । यो हरेक वर्सको फागुन ७ गते अर्थात् आजका दिनमा पर्छ । दोस्रो छयालीससाले ‘बहुदलीय प्रजातन्त्र’ दिवस । यो बामकाङ दलको हजुरियामा बक्स भएको दिवस हो । यो प्रत्येक बर्सको चैत २६ गते पर्छ । यसलाई चैते प्रजातन्त्र पनि भनिन्छ । तेस्रो नयाँ साल फेरिने महिना आर्थत् बैसाख ११ गतेको ‘लोकतन्त्र दिवस’ । यो सातदले लाउकेहरूको हजुरियामा बक्स भएको दिवस हो । यसलाई पुनर्वाहालीय प्रजातन्त्र पनि भनिन्छ । चौथो हो जेठ १५ को ‘गणतन्त्र दिवस’ । यो हाल नेकपा (माके) अर्थात् नेपाल कमाउ पाइटी (मारवाडीकेन्द्र) का सुप्रिमोका हजुरमा बक्स भएको दिवस हो । यी चारै थान दिवसको सारतत्व भनेको ‘पर जा तन्त्र’ दिनु हो । चारखाले दललाई भागशान्ति प्रजातन्त्र दिवस पुगेपछि पञ्चप्रेतहरूको प्रजातन्त्र दिवस मात्र खारेज किन गर्ने ? त्यसैले अब उप्रान्त पञ्चप्रेतहरूको दिव पुस १ को पञ्चायती प्रजातन्त्रलाई ब्युँताउनु पर्छ भन्ने यो कैलुब्राहको प्रस्ताव छ । किनि पञ्चप्रेतहरू पनि एउटै आमाका सन्तानै त हुन् । अर्की आमाका त होइनन् । तिनले पनि एउटै प्रभुलाई पूजाआजा गर्छन् क्यारे । यो बर्स यदि पुस १ गतेलाई नमाने पनि पुस २७ लाई माने पनि पञ्चप्रेतहरू खुसी हुन्छन् । अहिले त पञ्चप्रेत बाहेकका जबजेहरूले पनि पुस २७ लाई एकताको प्रजातन्त्र मान्नु पर्छ भन्ने प्रस्ताव कुकुरको मासु दोकानमा उठाएकै हुन् ।

जे होस् यी सबै दिवसको जन्म र न्वारान दिल्ली दरबारको प्रसुतीगृहमा भएका हुन् । नेपालमा चलेका आन्दोलन, जनआन्दोलन र जनयुद्ध आदि आदिलाई कडा प्रकारको प्रसुती वेथा लागेपछि सुत्केरी गराउन प्रभुका दरबारमा रहेको प्रसुती अस्पतालमा लैजानु प¥यो । त्यहाँ पु¥याएपछि डाक्टर प्रभु महाराजले अप्रेशन गरे र विभिन्न वर्ण र जातका पर जा तन्त्रहरू जन्मिए । त्यसपछि उतै न्वारान गरिवरी जुगानुकुलका दलका लाउकेहरूलाई प्रभुले यी पर जा तन्त्र नामका बच्चा थमाएर शासन गर भनि पठाइदिए । यसरी चारथान ‘प्रजातन्त्र दिवस’ जन्मिए हुर्किए र तिनले दलका लाउकेहरूलाई फल्दो फाप्दो बनाए ।

यी चारै थान पर जा तन्त्र दिवसले आआफ्नो कार्यकालमा एकेक वटा संविधान नामको उडुस जन्माए । ती उडुस नेपाल मण्डलका झुप्राछाप्राहरूमा पसेर गरिबगुरुवा काम गरी खाने प्रजाहरूलाई टोकेर तिनका रगत चुस्नसम्म चुसेर ढाएिको छ । ढाडिएको मात्रै छैन, यो उडुसले त जति मा¥यो उती फैलने अमिवाजस्तै स्याउँस्याउँती लिखा पारेको छ । विभिन्न क्षेत्र, जाति, धर्म र संस्कृतिका गरिबगुरुवाका झुप्राछाप्राहरूबाट उनीहरूलाई उठिबास लाएको छ । ती छाप्राका गरिबगुरुवा तन्नेरी पाखुराहरूलाई विभिन्न मुलुकमा भासिन वाध्य पारेको छ । चलीबेटीहरू वेचिन, नाङ्गिन, मारिन वाध्य पारेको छ । यो सबै करामत यिनै चार थान पर जा तन्त्र दिवसका उडुसहरूको हो । यतिखेर गणतन्त्र नामको उडुसले त झन् जन्मेदेखि नै गरिबगुरुवालाई टोकेर हैरान पारेको छ । कयौँको त ज्यान पनि लिइसक्यो ।

यो उडुसले मनुखेलाई मात्रै टोक्दैन । यसले त नदी, खोला, बनजङ्गल, खानिखनिज, जडिबुटी, ढुङ्गा, गिट्टी, बालुवा, गैँडा, हात्ती, बाघ, भालु, कस्तुरी, मृग र सरकारी उद्योगधन्दा सबै सबैलाई टोकेर हैरान पारेको छ । प्रकृतिले दिएका अपार जिनिस समेत उडुसले टोक्ने र प्रजातन्त्रले बेच्ने गरेर सबै रित्याइसकेको छ । यतिखेरको गणतान्त्रिक उडुसले कर्णाली, अरूण, कोसी हाइड्यामलाई टोकेर भाग्ने बनायो । अहिले यो उडुसले त्रिभुवन एयरपोर्ट र चुरेका गिट्टी ढुङ्गालाई टोक्न थालेको छ । उडुसले टोकेर छटपटिएका जिनिसलाई गणतन्त्रले बेच्नका लागि विलसिल काटेर ठिक्क पारेको छ । मोलतोल मिल्ने वित्तिकै प्रभुका चरणमा यी जिनिसहरू रातारात बेचिने छन् । यो प्रजातन्त्र र गणतन्त्रले दिउँसोमा आँखा देख्दैन । दिउँसो आँखा नदेख्ने दिनन्धो रोग लागेको छ । त्यसैले यसले विल काट्दा र पैसा असुल्दा रातको १२ बजे मात्रै गर्छ । दिनन्धो रोग लागेकाले प्रभुले कहिले विशेष दूत पठाएर र धेरैजसो यहीँ बस्ने दूत मार्फत् आँखामा दवाईपानी हाल्न लगाउँछ । दावाईपानी पाउने वित्तिकै प्रभुका चरण छुन् प्रजातन्त्र दगुरी हाल्छ । यतिखेर गण्तन्त्रको छाउरो काजीसाब प्रभुको दर्शनभेट गर्न कुदेको छ । त्यसपछि को को जाने हुन् थाहा छैन । भित्रभित्रै सबैले पालोशान्ति साइत जुराएर बसेका छन् । यसरी पर जा तन्त्रका उढुसहरूले नेपाली मनुखेहरूलाई हैरान पारेकै छन् । यी उडुस मासिने त छाँटै छैन बा । टोकाई सहने मनुखेहरू पो उल्लू हुन् कि भन्छु म त ।
७ फागुन २०७३

[email protected]

प्रतिक्रिया

सम्बन्धित खवर