काठमाडौं
। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय भेला सोमबारबाट सुरु हुँदैछ । देशैभरिबाट करिब ३ सयको संख्यामा प्रतिनिधिहरु जम्मा हुने भेलाले बहुपदीय हिसाबले नयाँ कार्यसमिति चयन गर्दैछ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले उद्घाटन गर्ने कार्यक्रममा पार्टीका बरिष्ठ नेता सिपी गजुरेल लगायतका नेताहरुको उपस्थिति हुने कार्यक्रम रहेको छ । पार्टीको नेवाः राज्य कार्यालय कुपण्डोलमा हुने उक्त भेलाको भव्य तयारी गरेको क्रान्तिकारीका संयोजक सेवन्त राज भण्डारीले बताए ।

‘शिक्षामा व्यापारीकरण, विदेशीकरण, माफियाकरणको भण्डाफोर गरौं ! रोजगारमूलक, वैज्ञानिक एवम् जनवादी शिक्षाका लागि संघर्ष गरौं !! भन्ने मूल नाराका साथ सुरु हुने भेला मंगलबार बेलुका सम्पन्न हुनेछ । स्ववियू निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरिएको क्रान्तिकारीको यस भेलालाई आम क्रान्तिकारी विध्यार्थीहरुले विशेष महत्वका साथ हेरेका छन् । यस संगठनले पूर्णसमानुपातिक निर्वाचन प्रणालीको माग राख्दै आएको भए पनि आसन्न स्ववियू निर्वाचनका लागि मिश्रित निर्वाचन प्रणालीमा सहमति जनाएको छ भने स्ववियूमा तीन दलीय सिन्डिकेटको अन्त्यको जोडदार माग गर्दै आएको छ ।

कांग्रेस, एमाले र माओवादी केन्द्र निकट विध्यार्थी संगठनले गैरविध्यार्थीहरुलाई एकमुष्ठ सैयौंको संख्यामा भर्ना गरेको भन्दै त्योको जोडदार विरोध गर्दै आएको छ । स्ववियूमा भएको सिन्डिकेटको अन्त्य र एकमुष्ठ गैरविध्यार्थीको भर्नाको विरोधलगात स्ववियू चुनाव सम्बन्धी संगठनको आधिकारिक धारणा र योजना भेलाले ठोस गर्ने संयोजक भण्डारीले बताए ।

यो संगठनलाई आम क्रान्तिकारी युवा विध्यार्थीहरुले शिक्षा क्षेत्रमा मौलाउँदो माफियाकरण, व्यापारिकरण र विकृतिकरणका विरुद्ध लड्ने नेतृत्वदायी संगठनको रुपमा लिंदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर