जुम्लाको वैकल्पिक इतिहास

जुम्लामा बस्तीको विकास र परम्परा

प्रकाशित मिति : २०७३ माघ १६

- राजबहादुर कुँवर

राकम कर्णाली, भर्ता, महावु, ढिपु, गाग्रा दक्षिण पूर्वोत्तर र नाग्म, चुली मालिका, वुडु हुँदै पश्चिम उत्तर फैलिएका दुइटा पहाडको बिचमा जुम्ला अवस्थित छ भने नाग्म, रारालिही, चुलाकोट हुँदै डाँफेलेकतिर फैलिएको पहाडले सिंजा उपत्यका र चौघान उपत्यकालाई छुट्याई दिएको छ । अर्कोतिर कुँडारी, मालिका हुँदै गिरीदह पूर्वदक्षिण फैलिएको पहाडले भेरिखोला र तिला खोलाका बस्तीको रेखा कोरिदिएको छ । त्यस्तै दानसाँघुबाट तिर्खु हुँदै फैलिएको पहाडले चौधविस र गज्र्याङकोटलाई विभाजित गरिदिएको छ । यी मुख्य पहाडका साथै साना साना डाँडा, थुम्का र कोटले जुम्लाको बस्तीलाई भौगोलिक दृष्टिले पृथक तुल्याएका छन् ।

जुम्लाका अधिकांश बस्तीहरु पहाडी भिरालोको दक्षिणी मोहोडामा मुलतः हिमा नदी, तिला नदी, जवा नदी, भेरी खोला र गोरुखोलाका किनारमा अवस्थित छन् । गाउँ खेति योग्य जमिनमा नभई भिरालो पाखोमा केन्द्रीकृत र सघन रहेका छन् । यो बस्ती विकासको परम्परागत ढाँचा खेतियोग्य जमिनमैत्री रहेको छ भने जुम्लाका उच्च पहाडी भूभागका वस्तीहरु खर्क र शिकारका सिलसिलामा विकसित भएका पाइन्छन् । नराकोटको बारेदेखि शनिगाउँको भाँडगाउँसम्मका पहाडी वस्तीलाई हाल पनि बाह्र खर्क भनेर चिनिन्छ । गाइबाख्राको बर्षे गोठ गर्दा गर्दै विकसित तल्लो खोपडी, माथिल्लो खोपडीजस्ता गाउँले खर्क परम्पराबाट गाउँहरु विकसित भएका देखिन्छन् । बुम्रमाडीचौरको मर्फान गाउँ मार्का अर्थात् शिकारी कुकुरले पत्ता लगाएको मार्कापानीबाट अपभ्रंश भै विकसित भएको मान्ने अवधारणाले मर्फान शिकारको सिलसिलामा विकसित भएको बस्ती देखिन्छ । त्यस्तै लिताकोटको बोहोरा थाप्लाबाट शिकार खेल्न गएर मालिकाठाँटाको ढिपुमा बोहोराको बस्ती विकसित हुनुले जुम्लाका उच्च पहाडी बस्ती शिकारी परम्पराका उपज हुन् भन्ने तथ्यलाई पुष्टि गर्दछ ।

जुम्लाको वस्तीमा जातीय विन्यास जहाँ जहाँ ठकुरीको टाकुरे शासन सञ्चालित भएका थिए, त्यहाँ दलित, बाहुन र क्षेत्रीको वस्तीहरु पाइन्छन् । सिंजा साम्राज्यको केन्द्र मानिने सिंजा उपत्यकाको वस्तीलाई उदाहरणार्थ प्रस्तुत गर्न सकिन्छ । त्यहाँ साहुवाडामा सुनार (जो सिंजा दरबारको गहना निर्माणमा क्रियाशील रहेका थिए) को वस्ती रहेको छ । माथि, तल र माझ लेकपोरमा रहेका बुढा (सिंजा साम्राज्यका झारा सिपाही थिए) को वस्ती रहेको छ । हाटसिंजामा वड जो दरबारका कालिगढ थिए भने लुड्कुमा बाहुन जो ज्योतिषीय कार्य गर्दथे । प्रायः टाकुरे राज्यको दरवार क्षेत्रको सवैभन्दा नजिक दलित जातिको वस्ती रहेको पाइन्छ । छिनासिम दरवारमा होस् या सुनारगाउँ दरवार, सवैभन्दा नजिक दलित जातिको नै बसोवास रहेको छ ।

खस शासकको केन्द्र वरिपरि दलितको वस्ती विकसित हुनुमा कुनै आठौं आश्चर्य चाहीँ छैन । यसको प्रमुख कारण के देखिन्छ भने शासकले वेतनभोगी श्रमिकका रुपमा दलितको सीप, कला र क्षमताको प्रयोग गरेको देखिन्छ । गहना निर्माण, भवन निर्माण, लुगालत्ता सिलाईजन्य कार्यका खातिर दरवार वरिपरि राखिएका दलित समुदाय कालान्तरमा भूमि अधिकार खोसिएका वस्तीमा परिणत भएका पाइन्छन् । अर्कोतिर ब्राहमण, ठकुरीले आफ्नो खेति र अन्य श्रमजन्य कार्यका लागि श्रम दासको रुपमा आफू सँगसँगै दलितलाई भित्र्याएको पाइन्छ । मुगुबाट मालभिडमा स्थानान्तरित चौलागाई ब्राहमणले सिंगाचौरका दलितलाई सँगसगै ल्याएको पाइन्छ । त्यस्तै लाम्राका ब्राहमणले जैतपुरका दलितलाई भित्र्याएको पाइन्छ । यसरी वस्तीको विकासमा श्रम परम्पराको अहम भूमिका देखिन्छ ।

यो श्रम र जीवन निर्वाहका निम्ति भूस्वामीले दिने अनाज विनिमयको प्रणालीले खलो प्रथाको स्वरुप धारण गरेको पाइन्छ । खलो प्रथाले दलितको भूमिमाथिको स्वामित्वलाई कमजोर मात्र तुल्याएको छ । वर्षदिनभरिको श्रमलाई एक पाथी अनाजसँग साट्ने खलो प्रथा दलित जातिमाथिको श्रमशोषणको कठोर नमुना हो ।

अर्कोतिर ज्योतिषीय कार्यका लागि शाषकले ब्राहमणको उपस्थितिलाई अनिवार्य गरेको पाइन्छ । प्रकृतिवादी चिन्तन, बौद्ध परम्परा हुँदै वैदिक सभ्यतासँग जोडिएको कर्णालीको धार्मिक चिन्तनको इतिहासमा वैदिक परम्पराको शासकीय प्रयोगले जुम्लामा दैलेखको भूर्ति र वडबाट आचार्य, खाडा पञ्च्यालाबाट न्यौपाने र अछामको तिमिल्सैनबाट तिमिल्सिना भित्रिएको पाइन्छ । यी व्राहमणले जजमानी कार्यको सिलसिलामा क्षेत्रीय थान र चिहानलाई आफ्नो पैत्रिक सम्पत्तिझैं बाँडफाँड गरेकोे मात्र पाइदैन कि क्षेत्रीय चिहान र वस्तीको मालिक बनेर एउटा बाहुनले अर्को बाहुनलाई जजमानी विक्री गरेको पनि देखिन्छ । यही परम्परा दलित जातिमा पनि रहेको छ । जनसंख्याको बृद्धिसँगै सयौं घरमा बाँडिएका लगिलाई विक्री गर्ने र नयाँ लगि अंगिकार गर्ने प्रचलन रहेको छ ।

बाहुन, ठकुरीको उपस्थिति नै नभएको क्षेत्रीय वस्ती चौधविस दरा हो । चौधविसको लुम र तिर्खुमा झिनो संख्यामा रहेका दलित पनि सिलाईकटाईजन्य कार्यका लागि स्थानीय खस क्षेत्रीले भित्र्याएका हुन् । चौधविसमा रहेका बोहोरा, बुढा, रावत, महताराजस्ता क्षेत्रीयले बाहुनको वस्तीसँग जोडिएका क्षेत्रीयले अपनाएका वैदिक परम्परालाई अंगिकार गरेका छैनन् । तातोपानीको बाबिरामा रहेका बुढा क्षेत्रीले बैदिक परम्परानुसार जन्म, विवाह र मृत्यु संस्कारलाई मान्दछन् । आफ्नो परिवारको सदस्यको मृत्यु भएमा एक वर्ष सम्म मासु, दुध नखाने, एकसरो सेतो कपडा लगाउने गर्दछन् भने चौधविसमा आफ्नो सदस्यको मृत्यु भएमा समय हेरी कतै तीन दिन, कतै पाँच वा सात दिनमा चोखिने, मसान पुज्ने भनेर मृतकको दाहसंस्कार गरेकै दिन कुखुरा र खसी काट्ने परम्परा छ । वाहुन नभएमा शुद्धिकार्यका लागि कन्याबाट जल खाएर शुद्ध भएको ठानिन्छ । यसरी चौधविसका क्षेत्रीयले अपनाएको संस्कार वैदिक संस्कारभन्दा पृथक र मौलिक रहेको छ । यसले कर्णालीका खस क्षेत्री अवैदिक र प्रकृति पुजक हुन् भन्ने मान्यतालाई पुष्टि गर्दछ ।

सिंजाको ओदी, लेकपोर, लुमजस्ता शिकार, पशुपालनको सिलसिलामा विकसित बस्तीको विवाह परम्परा निकै सरल रहेको पाइन्छ । ओदीमा विवाह गर्दा लामा विष्णुको धामीले परिस्थिति हेरी ओटालो, थाडो वा घरको चुल्होमा कलश राखेर गाउँका मान्यजनका सामुन्नेमा एक दुई घन्टामै विवाह गरिदिने चलन छ । ओदीवासी लामाविष्णुलाई वेदविज्ञ देवता मान्दछन् र ब्राहमणको आवश्यकता ठान्दैनन् । लुम, लेकपोर, बारेजस्ता गाउँमा यदि माइतीले कन्यादान नदिने भएमा जन्तीसँग दुलाहा पठाउँदैनन् भने दुलाहाले अर्काको घरमा भाहुरी रिग्नु हुँदैन भन्ने परम्परा रहेको छ ।

जुम्लामा घर बनाउँदा ज्योतिष र धामी दुवैलाई माटो हेराउने र घरको जग खनेर बान्नोमा रुपैया, तामा, चाँदी जस्ता धनमाल सिला हाल्ने परम्परा अद्यापी कायमै छ । कृषि उपज व्यवस्थापनका दृष्टिले मात्र होइन आधुनिक ल्यान्टर प्रणालीको पूर्ववर्ती स्वरुप थाडा बनाइन्छ । जुम्लामा नारे बनाउने चलन विशेषतः पाथरखोला र पाडमा मात्रै नारे गर्ने चलन नुवाकोट गाउँ र अन्यत्र फाट्टफुट्ट पाइन्छ । जुम्लामा मान्छेको घर र पशुको गोठ एउटै भवनमा तल्लो र माथिल्लो तल्लामा विभाजित गरी बनाइन्छ । घोडा पाल्नु र छोरा पाल्नु एकै हो भन्ने उखान प्रचलित हुनु र मान्छे तथा पशुको लागि एउटै भवन निर्माण गर्नुले पशुपालन जुम्लामा सबैभन्दा महत्वको व्यवसाय भएको देखिन्छ ।
जुम्लामा साँघुरा र होचा घर एउटै बाडामा निर्माण गर्ने परम्परा थियो । सर्मीको लामाथाडा एउटा नमुना हो । जहाँ १० वटा घर थिए । हाल तिनटा घरले नै त्यो भूभागलाई ओगटेको छ । अर्कोतिर वाडा प्रणालीले एउटै वस्तीका पृथक पहिचानलाई अभिव्यक्त गर्दछ । उदाहरणका लागि मालिकावोता गाउँ थापावाडा, ऐडीवाडा, भट्ट्वाडा, बुढावाडा, बाहुनवाडाजस्ता वाडामा विभाजित छ तर, बाहुनबाडा र भट्टवाडामा बाहुन नभई क्षेत्रीको नै बसोबास छ । वाडाका नामाकरण स्थान विशेष तली, माथि र परवाडा मात्र नभई जाति, थर र प्रवृत्तिबाट पनि नामाकरण गरिएको पाइन्छ । वस्तीको वाडामा विन्यास गर्ने परम्पराबाट नै आधुनिक वडाको विकास भएको देखिन्छ । जुम्लामा वाडा प्रणाली यति सशक्त छ कि आधुनिक विचार, सिद्धान्तको राजनीतिमा पनि वाडागत विभाजन हुने गर्दछ ।

जुम्लामा मस्टो र परम्परा
जुम्लामा बाह्रभाइ मस्टोका विविध स्वरुप र प्रकृति रहेका छन् । (चौसट्ठी किल्ला) मस्टो परम्पराकोे रचनाकार मानिसको प्राकृतिक जीवन पद्धति नै हो । मस्टो परम्परा समयानुकुल मानवीय रुचि, क्षमता र प्रकृतिसँग अन्तरघुलित देखिन्छ । मूलतः मस्टो परम्परा प्रकृतिपुजक परम्परा हो । कुनै मस्टो दुधभोगी छन् भने कुनै मस्टो रक्तभोगी छन् । यो शाकाहारी र मांशाहारी सामाजिक जीवनकै प्रतिविम्ब हो । अर्कोतिर मस्टो परम्परा बहुदेवतावादी अवधारणा हो । गाउँ र वस्ती पिच्छे फरक फरक मस्टो र अन्य देवता पुजिन्छ । यो वहुदेवतावादले मानिसलाई वहुचिन्तन, वहुदल, बहुसंस्कारप्रति सहिष्णु हुन सिकाएको छ । मस्टोको प्राकृतिक चिन्तनले प्राकृतिक विविधतालाई स्वीकारेको छ । दुधमुखी देखि रक्तमुखिसम्मका मस्टो मात्र छैनन्, मस्टो दलितदेखि ब्राहमणसम्मका लागि समान छन् । मस्टो परम्पराको प्रारम्भ जातीय छुवाछुत मुक्त रहेपनि पछिल्लो चरणमा दलित जातिलाई अपेहेलना गर्ने सामाजिक सांस्कृतिक विभेद मस्टो परम्परासम्म विस्तारित गरिएको पाइन्छ । वहुदेवतावादी परम्पराले भावनात्मक, मनोवैज्ञानिक, सामाजिक एवम् सांस्कृतिक प्रभुत्वका दृष्टिले व्यापक र विस्तारित भएपनि मस्टोका समृद्ध थानभने कहिँ कतै पनि छ्रैनन् । हजारौं पाली भएका मस्टोका थान कुहिएका फ्ल्याकभन्दा माथि छैनन् भने सयौं पाठा काटिने थान हेर्दा भत्किन थालेको थोत्रो आटी झै देखिन्छन् ।

मस्टो परम्परित क्षेत्रमा कुनै पनि खसी, बोका वा कुखुरा काट्नु पर्यो भने घाँटी रेटेर काट्ने प्रचलन छ, जुन मुस्लिम परम्परासँग सम्बन्धित देखिन्छ । मस्टोका होचा र साँघुरा थानमा तरबार उचालेर काट्न असहज भएकोले हो वा कुनै अन्य सांस्कृतिक दृष्टिले ? यो भने खोजीको विषय हो ।

अर्कोतिर मस्टोको मन्दिर नजिकको बनजंगल फडानी नगर्ने मात्र होइन ढटेलोको झ्याङसमेत काटिदैन । मस्टोको थान नजिकको रुख, काँडालाई समेत पवित्र मानिन्छ । यसले बनजंगललाई सुरक्षित गर्न सघाउ पुर्याएको छ , सुन्दरगाउँको देआरको पाताल एउटा उदाहरण हो ।
जुम्लामा कुनै पनि ठूला ताल, पातल, रुख, डाँडो आदिलाई देवताको प्रतीक मानिन्छ । जस्तो कि विष्टज्यूको ताल र नदै डावलाई पुजिन्छ भने भुरिचुला, माइथाप्ला, चिमाराजस्ता डाँडामा मालिका देवीको पुजा गरिन्छ । यसरी ताल, डाँडा, पातालको मानवीय जीवनसँग अन्योन्याश्रित सम्बन्ध हुन्छ, जसलाई दैविकरण गरिएको छ । छहराले बनाएको नीला ताल, ओढार, अनकण्टार जंगल, भीरमा भूत हुन्छ भन्ने अवधारणा छ । भूतको अवधारणा जटिलता, दुर्लंघ्य र भयानकतासँग जोडिएको पाइन्छ ।

खडेरी, महामारीको बैज्ञानिक रहस्यको जानकारीको अभावले मस्टोसँग बर्षाको पुकारा गर्ने, बर माग्ने गरिन्छ । यति मात्र होइन मस्टो परम्परामा मनोवैज्ञानिक उपचार पनि गरिन्छ । भूत, मसान, पिचास, बोक्सी जस्ता अन्धविश्वासले पैदा गर्ने डर भगाउनेदेखि ढोहेरी जस्ता न्यायिक कार्यमा सहभागी गराइन्छ । ढोहेरी भनेको कसैले घर, जग्गा, पैसा, वा अन्य कार्यमा अन्यायपूर्ण र विभेदकारी व्यवहार गरेमा देवताको थानमा खड्राती गरेर, पाठो चढाएर न्यायको अपेक्षा गर्ने क्रिया हो ।

जुम्लामा बाह्र भाई मस्टो मध्ये चर्चित मस्टो वुडु,मस्टो, कवा मस्टो , लाटोमस्टो , क्षेत्रपाल मस्टो , बाओ, मसटोथार्प, बाविरो, सुन्दरगाउँ, ओखाडी आदि रहेका छन् । मस्टोको केन्द्र तातोपानी गाविसको बाविरा, विराट गाविसको वुडु, नराकोटको माथि बाओ, तातोपानीकै डाँगीवाडा आदि रहेका छन् । यि मस्टोका अतिरिक्त मालिका, कालिका, भैयार, महादेव, लुहासुर, ह्यांग्रयालगायतका दर्जनौं देवीदेवताको पुजाआजा गरिन्छ ।

मस्टो परम्परामा अवतारवाद जोडिएको छ । मस्टो परम्पराले प्रकृति पुजक परम्पराबाट अवतारवादी स्वरुप ग्रहण गर्नमा बैदिक संस्कृतिको प्रभाव रहेको छ । बाटोघाटोमा असामयिक निधन भएका मानिस मात्र होइन जनयुद्धका सहिद समेत पितृृमा फेरिने, मानो खाने, टाटा दान गर्नु पर्ने अवतारवादी धारणाले जुम्लाको समाजलाई जकडेको देखिन्छ । यो अवतारवाद प्रकृति, विज्ञान र व्रहमाण्डका रहस्यको जानकारीको अभावमा मौलाएको देखिन्छ भने मस्टो परम्पराको प्रकृति पुजक प्रक्रियालाई अवतारवादले छोपिदिएको छ ।

मस्टोको महत्वपूर्ण विशेषता के हो भने मस्टोको हरेक थानमा आलम फरफहराउने गरिन्छ । मस्टोको आलम त्रिकोणात्मक हुने गर्दछ । त्रिकोणात्मक दुईटा आलमलाई जोड्ने हो भने नेपालको झन्डाको स्वरुप निर्माण हुन्छ । नेपालको झन्डामा प्रयोग हुने रातो, निलो रंग र चन्द्र सुर्यको व्याख्या राजतन्त्रसँग जोडेर गरिए पनि ति प्रतीक चिन्ह प्रकृतिपुजक परम्पराका उपज हुन् । झन्डामा अंकित चन्द्र र सूर्यको चन्द्रवंशी र सूर्यवंशी राजपरम्परासँग जोडेर हेर्ने चिन्तन भनेको राजालाई ईश्वरी दैवी शक्ति मान्ने सिद्धान्तको उपज हो र राजतन्त्रका पक्षपाति वुद्धिजीवीको उपव्याख्या मात्र हो ।

मस्टो परम्परित कर्णालीको चन्दननाथ र भैरवनाथमा ५२ हातको लिंगो र ५२ हातकै झन्डा फरफहराउने गरिन्छ, जुन त्रिकोणात्मक हुने गर्दछ । अर्कोतिर खेतहरु मध्येको ठूलो र उब्जाउ खेतमा पुल्ती हालिन्छ । धान सघन रोप्ने र त्यहाँ नेपालको झन्डा आकारकै पुल्ती फरफहराउने गरिन्छ । नेपालको झन्डाको पूर्ववर्ती स्वरुप मस्टाको आलम र पुल्तीमा भेटिन्छ । यो विश्वकै मौलिक नेपाली झन्डाको आदिस्रोत मस्टो परम्परा हुन सम्भव छ ।

जुम्लामा उत्पादन परम्परा र मौलिकता
संसारको उचाईमा फल्ने जुम्लाको प्रसिद्ध उत्पादन भनेको काली मार्सी धान हो । काली मार्सी धान उत्पादनसँग चन्दननाथ बाबा र लछालकृति पैकेलाको कथा बहुप्रचारित छ । लछालकृति पैकेलाले लाछु जिउलामा रुखमूलको पानी लाग्ने गरी चुकेनी झाड उखेलेर खेत बनाएको मानिन्छ । अहिले त्यो खेतलाई जुम्लाका धान किसान गुरुफोक्टोले कहलाउँछन् र त्यो खेतमा वर्षेनी १ सुपो मात्र धान उत्पादन हुने गर्दछ । लाछुबाट नै धानखेति प्रारम्भ गरिएको हो भन्ने तथ्यलाई संस्कृतमा लेखिएको (यहाँ नेपाली अनुवाद समावेश गरिएको छ) निम्न पाण्डुलिपीले व्यक्त गर्दछ ।
………..
दयालु सिद्ध चन्दननाथ बाबाले लक्षु (लाछु) गाउँमा जन्मेका कृतवीर्य नाम गरेका एक जना बलशाली शिष्यलाई यो रहस्यपूर्ण उपदेश दिनुभयो । अन्नबाट सम्पूर्ण प्राणीको उत्पत्ति र रक्षा हुन्छ । त्यो अन्नलाई मेघ (वर्षा) ले रक्षा गर्दछ । यज्ञ (यज्ञको धुँवा) बाट मेघ उत्पन्न हुन्छ । यज्ञ भनेको कर्म हो । कर्म अनुसार प्राणीको जन्म र मृत्यु हुन्छ, कर्मबाट नै देवताहरू प्रसन्न हुन्छन् । यसैले मानिस सधै कर्मशील हुनुपर्छ । यसैले तिमी पनि सम्पूर्ण लोकको हितका लागि कर्म गर । शाली धान, मास, मुङ, कागुनु आदि धेरै किसिमका अन्नहरू यज्ञ गर्नका लागि जम्मा गर । आफ्ना सन्तानहरूको सहयोगबाट खेत बनाऊ । मैले दीर्घकालीन तपस्याबाट प्राप्त गरेको शाली धान (काली मार्सी) ल्याएको छु । यो प्रयोगबाट सिद्ध भइसकेको छ । यो हैमदेश(हिउँ पर्ने ठाउँ) का लागि उपयुक्त छ । हे लक्षुवासी शिष्य ! अन्नको अभावबाट कुनै पनि कर्म वा विधिहरू सम्पन्न गर्न सकिँदैन ।

अतः ती सम्पूर्ण कर्महरूको सम्पन्नताका लागि धान रोप । यो कार्य सफल हुन्छ र यसको विस्तार पनि हुन्छ । प्रत्येक वर्ष चैत्र महिनाको १२ गते केलाइएका धानहरू चिसो पानी, नदी अथवा कुनै जलाशयमा डुबाउनुपर्छ । यस प्रक्रियाबाट रोप्दा एक पाथी धानबाट एक भारी(मुरी) धान फल्दछ । चार दिनपछि अर्थात् चैत महिनाको १६ गते बिहान जलमा भिजाइराखिएको उक्त धानलाई जलबाट निकाल्नु पर्छ । त्यसपछि उनको वस्त्र ओछ्याएर करिब तिन घन्टा जनि राख्नु पर्दछ । अनि पुरा भिजेको पनि होइन र पुरा सुकिसकेको पनि होइन, यस्तो अवस्थामा रहेका ती धानलाई लिपिएको र आगाले तातो भएको घरको बिचको कोठामा पातहरू ओछ्याएर त्यसमाथि पर्वतको आकार बनाएर राख्नुपर्छ । सल्लाका बोक्रा, भुर्जपत्र (भोजपात) र कम्बलले छोप्नुपर्छ र दुई दिन राख्नुपर्छ त्यसपछि धान अङकुरित हुन्छन् वा टुँसाउँछन् । यसपछि धान छोप्नका लागि प्रयोग गरिएको भोजपात, कम्वल आदि हटाएर आगोको तातो नपर्ने गरी धानमा चिसो पानी छर्नुपर्छ । गोठको परिपक्व मल हाल्नुपर्छ र अरू दुई दिन त्यत्तिकै राख्नुपर्छ । यसो गर्दा टुसाहरू बलिया हुन्छन् ।

यसपछि बिस गते मङगलाचरणपूर्वक परिवारसहित भएर धेरै जल भएको ठाउँमा ती अङ्कुरित धानहरू रोप्नुपर्छ । त्यस दिन मिष्ठान्न भोजन गर्नुपर्छ । यसपछि बैसाख सङ्क्रान्तिका दिन नारीहरूले सात गाँठा पारिएको रङ्गीन धागो अर्थात् रक्षासूत्र बाँध्नुपर्छ । खेतका देवता तथा अन्य देवतालाई पुवा चढाउनुपर्छ । खेतमा काम गर्ने सबैलाई त्यो प्रसाद दिनुपर्छ । यसै दिन रोपिएका ती धानमा बीस अँजुली पानी चढाउनुृपर्छ र सूर्यको तापबाट तातेको जल खेतबाट बाहिर फाल्नुपर्छ । यसो गरेमा सम्पूर्ण परिवारको कल्याण हुन्छ । (स्रोत : पूर्ण सिंह कठायत, चन्दननाथ गाविस र अनुवाद डा. प्रेम चौलागाई, रावतवाडा)

शाके ९६३ वि.सं. १०९८ को यो लिपीले जुम्लाको धानखेतिको इतिहास झन्डै ९७३ वर्ष हुन आउँछ । चन्दननाथ बाबाको ज्ञान र लछालकृति पैकेलाको प्रयोगबाट प्रारम्भ भएको धानखेति जुम्लाका घोडेमहादेव, मालिकाठाँटा, बुम्रमाडीचौर, गोठीचौर बाहेक अन्य सम्पूर्ण गाविसमा कतै पूर्ण र कतै आंशिक हुने गर्दछ ।

जुम्लाको जौं बाली सम्बन्धी अनेकौं शिकारी कथा जोडिएका छन् । लाछुबाट स्थानान्तरित घोडेवासीले शिकारको सिलसिलामा जौं को उत्पादन भएको एउटा ठानो देखेर वस्ती वसेको ठान्दछन् । यही प्रकृतिको कथा सिफ्टी मर्फान, पोखरी, ढिपुजस्ता गाउँमा पनि कहिन्छ । यसले जौ यहीको प्रकृतिको मौलिक रचना भएको संकेत गर्दछ । अर्कोतिर के देखाउँछ भने जुम्लाको वस्ती विकासको प्रारम्भिक चरणमा जौ बालीको असाध्यै महत्व थियो ।

जुम्लामा मिश्रित खेती प्रणाली प्रचलित छ । चिनोभित्र भट्ट, गहत, सिमी, कोदोभित्र कागुनो, काँक्रा, फर्सि, मकैभित्र फर्सि, काँक्रा, सूर्यमुखीफूल, मार्से, आलु, सिमी, फापर सिमीभित्र चोता, कोइरा र धानको आलीमा भट्ट, गुराँसजस्ता दालहन बाली र तरकारी उत्पादन गरिन्छ । जुम्लामा मिश्रित खेतिको समृद्ध परम्परा रहेको छ ।

एउटै वर्ष विउ उत्पादन गरी फलाइने तरकारी चोता र कोइरा हो । फागुन १२ गते चोता र कोइराको विउ उत्पादनका लागि गाना रोपिन्छ । मूलतः जुम्लाका उच्च पहाडी क्षेत्रमा चोता कोइरा रोप्दा नयाँ बाली शुभारम्भकोे रुपमा पुजाआजा पनि गरिन्छ । चोता कोइराको विउ जेठ असारभित्र तयार हुन्छ । जुन सिमी भित्र वा छुट्टै लगाइ कार्तिक मंसिरमा भित्र्यान्छ । श्रीपञ्चमीको दिनमा धानको बेन्नु जोत्ने तथा गोरुको काँधमा तेल हाल्ने गरिन्छ । पहिलो भाग कागलाई दिएर खिचडी खाने गरिन्छ । श्रीपञ्चमीको गोरु पुजा कृषि संस्कृतिको एउटा महत्वपूर्ण भाग हो ।