‘अरुण–३ परियोजना नेपालीहरु आफैंले बनाउनुपर्छ’

प्रकाशित मिति : २०७३ पुस २८

खाँदबारी । जिल्ला सदरमुकाम खाँदबारीबाट ढिलोगरी प्राप्त समाचार अनुसार २५ पौषमा पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेकपा (माओवादी) ले संयुक्त रुपमा अरुण–तेस्रोको विषयलाई लिएर विरोध प्रदर्शन तथा सभा गरे ।

क्रान्तिकारी माओवादीका किरात राज्य इन्चार्ज मिनकुमार राउतले संचालन गरेको कार्यक्रमको अध्यक्षता विप्लव माओवादीका पदम राईले गरेका थिए भने मसालका हेमराज गुरुङले कार्यक्रमका सहभागीलाई स्वागत गरेका थिए ।

विरोध सभालाई क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तथा लिम्बुवान इन्चार्ज सीताराम तामाङ, नेकपा (माओवादी)का नेता धर्मेन्द्र बाँस्तोला र मसालका सुरेन्द्र भण्डारीले सम्बोधन गरेका थिए ।

वक्ताहरु सबैले अरुण–३मा भारतीय कम्पनी सतलजसँगको सम्झौता खारेज गरी नेपालीहरु आफैले बनाउनुपर्नेमा जोड दिएका थिए ।

स्थानीय जनसहभागितासहित हजार बढीको संख्यामा निस्केको विरोध ¥याली संखुवासभाको खाँदवारी नगरपालिका परिक्रममा गरी पोखरी बजारमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

२९ पौषमा तीन वामघटकले विराटनगरमा रहेको भारतीय कन्सुलर कार्यालय हटाउन माग गर्दै विरोध प्रदर्शन तथा सभा गर्ने कार्यक्रम तय गरका छन् ।