माक्र्सवादी सिद्धान्तको आन्तरिक एकता

प्रकाशित मिति : २०७३ पुष २८

- कृष्णदास श्रेष्ठ

माक्र्सवादी दर्शन, माक्र्सवादी राजनीतिक अर्थशास्त्र र वैज्ञानिक साम्यवादी सिद्धान्त माक्र्सवादका तीन प्रमुख अङ्गहरु हुन् । उपर्युक्त तीन अङ्गहरुमा प्रत्येकको आफ्नो खास र भिन्नै विषयवस्तु छ र प्रत्येकको विकास स्वतन्त्र रुपबाट हुन्छ । तर ती तीनमध्ये कुनै एकको अध्ययन गर्दा हामीले कुन कुरा बिर्सनु हुन्न भने तिनीहरु एक अर्कोबाट एकदमै अभिन्न र एक अर्कोसित घनिष्ठ रुपले सम्बन्धित छन् र आफ्ना उक्त अङ्गहरुसहित माक्र्सवाद एउटा सिङ्गो विचार–प्रणाली हो । तीन अङ्गहरुमा प्रत्येकको स्वाधीन रुपबाट अध्ययन गर्न सकिन्छ, तर पनि तिनीहरुको आपसी सम्बन्ध, आपसी अन्तरक्रिया र ठोस एकताबाट नै एउटा सिङ्गो सिद्धान्तको रुपमा माक्र्सवादको विकास भएको छ । 

हामीले के बताइसकेका छौं भने वैज्ञानिक साम्यवादका आधारभूत प्रस्थापनाहरु इतिहाससम्बन्धी द्वन्द्वात्मक–भौतिकवादी धारणा र आर्थिक सिद्धान्तका स्वभाविक निष्कर्ष हुन् । इतिहाससम्बन्धी भौतिकवादी धारणाले वैज्ञानिक–साम्यवादी सिद्धान्तको निम्ति दार्शनिक आधार प्रदान गरेको छ भने अतिरिक्त मूल्यको सिद्धान्तले त्यसको आर्थिक आधार प्रदान गरेको छ । उक्त दुई आधारहरुमा टेकेर नै समाजवादले आपूmलाई कल्पनाबाट विज्ञानमा फेर्न सक्यो । माक्र्सवादीहरुका लागि, माक्र्सवादी दर्शन विद्यमान सामाजिक–आर्थिक सम्बन्धहरुको वैज्ञानिक विश्लेषण तथा व्याख्या गर्ने एउटा साधन रहन्छ भने सो विश्लेषण ठोस व्यवहारिक निष्कर्षहरु निकाल्नका लागि ठोस आधार बन्दछ । अर्कोतिर, सामाजिक–आर्थिक सम्बन्धहरुको वैज्ञानिक अध्ययनबाट जुन नयाँ सामग्रीहरु प्राप्त हुन आउँछन्, ती दार्शनिक सामान्यीकरणका लागि ठोस आधार बन्दछन् । यसरी, उपर्युक्त तीन अङ्गहरु एक अर्कोको सहायक तथा परिपूरकको रुपमा एक अर्कोसित नङ–मासु झैं गाँसिएका छन् । 

सारांशमा, माक्र्सवाद एउटा सिङ्गो प्रणाली हो । प्रकृति र समाजको विकासका सामान्य नियमहरु के हुन्, समाजवादी क्रान्तिको विजय कुन तरिकाबाट हासिल गर्न सकिन्छ, समाजवाद र साम्यवाद समाजको निर्माण कसरी गर्न सकिन्छ, आदि सवालहरुबारे वैज्ञानिक विचारहरुको पूरै सुसंगत तथा समष्टिगत प्रणालीको नाम हो माक्र्सवाद । 

द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद, सर्वहारा राजनीतिक अर्थशास्त्र वैज्ञानिक समाजवादको रुपमा माक्र्स र एन्जेल्सका सैद्धान्तिक योगदानहरु हामीले पाएका छौं । उक्त सैद्धान्तिक योगदानहरुको समष्टिगत नाउँ हो माक्र्सवाद, जुन अहिलेसम्ममा विकासका विभिन्न चरणहरुबाट गुज्रिसकेको छ र जुन निरन्तर विकास हुँदो छ । उपर्युक्त योगदानहरुमा एक आन्तरिक एकता विद्यमान छ । हामी जसलाई वास्तवमा माक्र्सवाद भन्छौं त्यो दर्शन मात्र होइन, न अर्थशास्त्र मात्र हो, न वैज्ञानिक साम्यवाद मात्र हो, बरु त्यो उपर्युक्त तीन अङ्गहरुको ठोस तथा अभिन्न एकता हो । यही ठोस आन्तरिक एकताबाट नै माक्र्सवाद एक सिङ्गो सिद्धान्त बनेको छ । 

उपर्युक्त आन्तरिक एकता कुन अर्थमा रहेको छ त ? त्यो एउटा कुन अर्थमा रहेको छ भने उपर्युक्त तीन अङ्गहरु एकले अर्कोलाई टेवा दिन्छन्, एक अर्कोमाथि क्रियाशील रहन्छन् र एकले अर्कोलाई समृद्ध पार्दै, एकले अर्कोको विकासको निम्ति अवस्थाहरु सिर्जना गर्दै र एकले अर्कोको आवश्यकताको पूर्ति गर्दै एक अभिन्न आन्तरिक एकताको रुपमा, विकासको एउटा धाराको रुपमा तिनीहरु रहेका छन् । तिनीहरुको अन्तरक्रियाको खास चरित्र र रुपलाई तलका कुराहरुबाट बुझ्न सकिन्छ । 

इतिहाससम्बन्धी द्वन्द्वात्मक–भौतिकवादी धारणाको प्रतिपादनले माक्र्सको आर्थिक अनुसन्धानको लागि अति आवश्यक तरिकागत (Methodological) पूर्वाधारहरु प्रदान ग¥यो । द्वन्द्वात्मक–भौतिकवादी तरिकाको रुपमा यस्तो एउटा साधन उपलब्ध भयो, जसको मद्दतबाट माक्र्सले पुँजीवादी समाजको गतिको नियम पत्ता लगाउन सक्नुभयो । द्वन्द्वात्मक–ऐतिहासिक दृष्टिकोणको अभावमा उक्त कुरा सम्भव थिएन । त्यसका साथै, आर्थिक व्यवस्था नै सामाजिक जीवनको मूल आधार हो भन्ने ऐतिहासिक भौतिकवादको निकै महत्वपूर्ण प्रस्थापनाले माक्र्सलाई अर्थशास्त्रको अध्ययनतर्फ अधिकतम ध्यान लगाउनमा प्रेरित ग¥यो । अर्कोतिर वैज्ञानिक–साम्यवादी सिद्धान्तले अरु विकासले आर्थिक अनुसन्धानको जरुरी खाँचोलाई प्रस्तुत ग¥यो ।

उपर्युक्त विकासले कुन कुराको अपरिहार्य रुपमा अपेक्षा ग¥यो भने उक्त सिद्धान्तको लागि ठोस आर्थिक आधार तयार पारियोस् । १८४३ र १८४९ को बीचमा, जब माक्र्स र एन्जेल्सले आफ्नो नयाँ वैज्ञानिक–साम्यवादी सिद्धान्तको प्रतिपादन गर्नुभएको थियो, त्यस बेलामा जरुरी खाँचोको रुपमा नयाँ आर्थिक सिद्धान्तको प्रतिपादन तथा विशद व्याख्या हुनु आवश्यक हुन गयो । यसरी द्वन्द्वात्मक–भौतिकवादी तरिका आर्थिक अनुसन्धानका लागि आवश्यक साधन बन्यो भने वैज्ञानिक–साम्यवादी सिद्धान्तको विकासको खाँचो सो अनुसन्धानको लागि बलियो प्रेरक शक्ति बन्यो । 
अनि अर्कोतिर, नयाँ आर्थिक सिद्धान्तको प्रतिपादन र विशद व्याख्याले इतिहाससम्बन्धी भौतिकवादी धारणा र वैज्ञानिक साम्यवादको सिद्धान्त दुवैलाई ठोस रुपमा समृद्ध तथा सशक्त बनायो । कुन रुपमा उक्त काम गरियो भन्ने विषयमा संक्षिप्त रुपमा विचार गरौं ।
ऐतिहासिक भौतिकवादको एउटा प्रमुख प्रस्थापना के हो भने प्रकृतिको विकासका नियमहरु विपरित, मानव समाजको विकासका नियमहरु जनताको क्रियाकलापमार्फत र वर्गीय समाजमा वर्गहरुको क्रियाकलाप तथा सङ्घर्षमार्फत क्रियाशील हुन्छन् । उक्त प्रस्थापनालाई माक्र्सको आर्थिक सिद्धान्तले समृद्ध पारेको छ, किनभने उक्त सिद्धान्तमा उहाँले के देखाउनुभयो भने पुँजीवादी उत्पादन–प्रणालीका वस्तुगत आर्थिक नियमहरु वर्ग–सङ्घर्षको प्रक्रियामा सिद्ध हुन्छन् । आर्थिक नियमहरु पनि प्रकृतिका निमयहरु क्रियाशील हुने ढङ्गबाट क्रियाशील हुन्छन् भन्ने पुँजीवादी अर्थशास्त्रीको धारणाका विपरीत, माक्र्सको आर्थिक सिद्धान्तको उपर्युक्त निष्कर्षले ऐतिहासिक भौतिकवादलाई सबल र समृद्ध पा¥यो । त्यसैगरी, पुँजीवादी राज्य र अधिरचनाका (Superstructure) अन्य तत्वहरुले पुँजीवादी उत्पादन–प्रणालीको विकासमा ठूलो भूमिका खेल्छन् भन्ने जुन निष्कर्ष माक्र्सले आफ्नो कृति पुँजीमा निकाल्नुभयो, त्यसले आर्थिक आधार र अधिरचनाबीचको सम्बन्धबारे आर्थिक सिद्धान्तबाट धेरै महत्वपूर्ण निष्कर्षहरु निस्के, जसले इतिहासको भौतिकवादी धारणालाई समृद्ध पारे ।
जहाँसम्म वैज्ञानिक साम्यवादमाथि माक्र्सको आर्थिक सिद्धान्तको प्रभावको सवाल छ, त्यसबारे माथि हामीले कुन कुरा बताइसकेका छौं भने माक्र्सको आर्थिक सिद्धान्तले वैज्ञानिक साम्यवादलाई बलियो आर्थिक जगमा उभ्यायो र सो सिद्धान्तबाट निकालिएका निष्कर्षहरुले साम्यवादका आधारभूत प्रस्थापनाहरुलाई उचित सावित गरे । अतिरिक्ति मूल्यको सिद्धान्तले पुँजीवादी उत्पादन–प्रणाली कुन ढङ्गबाट क्रियाशील रहन्छ र त्यसको विकासका मूल धाराहरु के हुन् भन्ने देखायो, र त्यसले गर्दा साम्यवादी सिद्धान्त आर्थिक दृष्टिबाट सही प्रमाणित भयो । जस्तो कि लेनिन भन्नुहुन्छ ः “माक्र्सले पूरा रुपमा एकमात्र समकालीन समाजको विकासको आर्थिक नियमबाट कुन निष्कर्ष निकाल्नुभयो भने समाजवादी समाजमा पुँजीवादी समाजको रुपान्तरण हुनु अनिवार्य छ ।”

वास्तवमा माक्र्सको सिद्धान्त वैज्ञानिक साम्यवादको आर्थिक न्यायोचितता हो, र त्यसले साम्यवादी सिद्धान्तको विकासमा निकै महत्वपूर्ण भूमिका खेलेको छ । वैज्ञानिक साम्यवादलाई सृदृढ आर्थिक आधार प्रदान गरेर उक्त आर्थिक सिद्धान्तले समाजवादलाई वैज्ञानिक सिद्धान्तमा फेर्ने प्रक्रियालाई पूर्णता प्रदान गरेको छ । त्यसैले, लेनिनले माक्र्सको आर्थिक सिद्धान्त उहाँको सिद्धान्तको सबभन्दा गहन, व्यापक तथा विस्तृत पृष्टि तथा कार्यान्वयन रहेको बताउनुभयो । 

यसरी, कुन कुरा स्पष्ट हुन्छ भने माक्र्सवादका अङ्गहरुको गहिरो तथा अभिन्न एकता रहेको छ । तर त्यो एकता पारस्परिक अन्तरक्रिया र पारस्परिक प्रभाव तथा समर्थनको रुपमा मात्र, अर्थात् साझो रेखामा मात्र सीमित रहेको छैन । उक्त एकता ठाडो रुपमा पनि रहेको छ । अर्थात् माक्र्सवादी सिद्धान्तले विकासको एउटै दिशाको अनुसरण गरिआएको अर्थमा पनि उक्त आन्तरिक एकता रहेको छ । उक्त विकास द्वन्द्वात्मक ढङ्गबाट भएको छ, अर्थात् त्यसको चरित्र अन्तर्विरोधी छ । उक्त सिद्धान्तका कुनै खास–खास तत्वहरु समयको क्रममा पछि गएर बेठीक र समय नसुहाउँदा सावित भएका छन्, तर समग्र रुपमा माक्र्सवादी सिद्धान्त झन्झन् समृद्ध तथा विकसित भइरहेको छ । त्यसैले, समग्र रुपमा त्यसको आन्तरिक एकताको रुपमा लिए मात्र, उक्त सिद्धान्तलाई सही र ठीक ढङ्गबाट बुझ्न सकिन्छ । 

माक्र्सवादी सिद्धान्तको विकासको सम्बन्धमा एउटा आधारभूत कुरा के छ भने त्यसको विकास सधैंभरि त्यसका अभिन्न अङ्गहरुको एकताको रुपमा भएको छ । माक्र्स र एन्जेल्सका सैद्धान्तिक उपलब्धिहरुको आन्तरिक एकता कुन तथ्यमा पनि रहेको छ भने उहाँहरुले आफ्नो सम्पूर्ण अनुसन्धानमा एउटा साझा उद्देश्य अपनाउनुभयो, र त्यो उद्देश्य थियो— समाजवादलाई वैज्ञानिक आधार प्रदान गरी त्यसलाई कल्पनाबाट सच्चा विज्ञानमा फेर्नु । यही साझा उद्देश्य नै माक्र्सवादका अङ्गहरुको एकताको मूल स्रोत तथा कारण रहेको छ । 

माक्र्सको पुँजी माक्र्सवादी सिद्धान्तको आन्तरिक एकताको एउटा चहकिलो, आदर्श दृष्टान्त बनेको छ । पुँजी राजनीतिक अर्थशास्त्रसम्बन्धी एक महान् कृति हो । तर त्यो त्यति मात्र होइन । त्यसको ज्यादै गहन दार्शनिक तथा ऐतिहासिक सारतत्व पनि छ । अर्थशास्त्रसम्बन्धी महत्वपूर्ण कृति हुनाको साथै, पुँजी भौतिकवादी द्वन्द्ववादको विशद व्याख्या र कार्यान्वयनको एक बेजोड नमुना पनि हो । त्यहाँ पुँजीवादी समाजको अध्ययनमा उक्त द्वन्द्ववादलाई बडो दक्षतापूर्वक लागू गरिएको छ । माक्र्सको सैद्धान्तिक अनुसन्धानको तरिका, अर्थात् द्वन्द्वात्मक–भौतिकवादी तरिकालाई आर्थिक अनुसन्धानमा सही र सुसंगत रुपमा प्रयोग गरिएको छ । जहाँसम्म पुँजीको ऐतिहासिक सारतत्वको सवाल छ, पुँजीवादी उत्पादन–प्रणालीको अनुसन्धान र अध्ययन गर्नु हुँदा माक्र्सले विशाल परिमाणमा ठोस ऐतिहासिक तथ्यहरुमाथि आपूmलाई आधारित पार्नुभयो । विपुल ठोस ऐतिहासिक सामग्रीहरुको आधारमा उहाँले पुँजीवादका वास्तविक ऐतिहासिक जराहरु, त्यसका आधारभूत अन्तर्विरोधहरु र त्यसको पतनको अनिवार्यतालाई स्पष्टसित दर्शाउनुभयो । सर्वहारा वर्ग–सङ्घर्षका हितहरुको प्रतिनिधित्व गरेर पुँजीले समाजवादको लागि सङ्घर्षमा सर्वहारावर्गको हातमा एक धारिलो अस्त्र प्रदान ग¥यो । 
माक्र्सवादको सच्चा भावना त्यसका तीन अभिन्न अङ्गहरुको एकतामा रहेको छ । उक्त भावनालाई लेनिनले यस रुपमा दर्शाउनुभएको छ ः माक्र्सवाद “स्पातको एउटै टुक्राबाट ढलान गरेर बनाइएको” छ । उक्त भनाइमा माक्र्सवादको वास्तविक चरित्र अभिव्यक्त भएको छ । त्यस रुपमा त्यसको चित्रण गर्नुमा दुइटा कारण छन् । एउटा कारण के भने माक्र्सवादले संसारसम्बन्धी वस्तुगत ज्ञानलाई श्रमजीवी जनताका हितहरुको सचेत अभिव्यक्तिसित गाँसेको छ । अर्को कारण के भने माक्र्सवाद क्रान्तिकारी विचारहरुको एक सुसंगत व्यवस्था हो ।
तर, यस्ता अनगिन्ती घटनाहरु पहिले पनि देखिएका थिए र अहिले पनि देखिँदै छन् जसमा माक्र्सवादलाई एक सिङ्गो सिद्धान्तको रुपमा ग्रहण गरिँदैन र त्यसलाई “कार्यमा पथप्रदर्शक” को रुपमा ठीकसित प्रयोग गरिँदैन । एक थरी समाजवादीहरु र तथाकथित माक्र्सवादीहरुको माझमा व्यापक रुपमा फैलिएको एउटा प्रवृत्ति हामी के देख्छौं भने उनीहरु माक्र्सवादी सिद्धान्तका खास–खास वैयक्तिक तत्वहरुसित (उदाहरणका लागि आर्थिक तत्वको प्राथमिकतासम्बन्धी धारणा) आफ्नो समर्थनको आधारमा आपूmलाई माक्र्सवादी भनी दावा गर्छन् । हाम्रो मुलुकलगायत कैयन् मुलुकहरुमा केही तथाकथित माक्र्सवादीहरुको तर्फबाट, माक्र्सवादका केही खास प्रस्थापनाहरुमा जोड दिने वा तिनलाई मात्र प्रयोग गर्ने, आफ्नो खास कामको लागि त्यसका कुनै भनाइहरुमा अवाञ्छित मात्रासम्म बल दिने वा तिनलाई बाहियाती स्थितिसम्म बढाउने प्रयत्नहरु प्रशस्त र व्यापक मात्रामा भएर आएका छन् । लेनिनको भनाइअनुसार, त्यस्ता मामिलाहरुमा नै माक्र्सवाद एकपक्षीय, विकृत तथा निर्जीव देखिने हुन्छ र त्यसले जीवन्तता गुमाउँछ । एक सिङ्गो, सुसंगत विश्व–दृष्टिकोणको रुपमा मात्र माक्र्सवाद कार्यमा पथप्रदर्शक बन्न सक्छ र त्यस रुपमा प्रयोग भए मात्र त्यो सार्थक, उपयोगी तथा प्रभावकारी सिद्ध हुन सक्छ ।