श्रीमानको शव कुर्दा कुर्दै श्रीमतीको पनि ज्यान गयो

प्रकाशित मिति : २०७३ पुष २७

रोल्पा । डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको शब कुर्दाकुर्दै श्रीमतीको पनि मृत्यु भएको छ ।

श्रीमान्को शबको पर्खाइमा रहेकी रोल्पा, लिवाङ–९ गुरुङ गाउँकी कमला गुरुङको निधन मृत्यु भएको हो । 

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपछि उनी तनावमा थिइन् । 

दिउँसो दाँत माझ्दै गरेकी बुहारी एक्कासी बेहोस भई लडेको देखेपछि कमलाकी सासुले छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस भएर लडेकी गुरुङको खुट्टा मालिस गर्दै गर्दा निधन भएको छिमेकीले बताएका छन् ।

प्रारम्भिक चरणको शवपरीक्षणपछि मंगलबार शव आफन्तलाई बुझाइसकेको तथा घटनाको थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ । हृदयाघातका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । 

साउदी अरबमा एक कम्पनीमा काम गर्ने मृतक कमलाका श्रीमानलाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएपनि अहिलेसम्म शब नेपाल आउन सकेको छैन ।