ऐतिहासिक भौतिकवादको क्षेत्रमा माक्र्सको योगदान

प्रकाशित मिति : २०७३ पुष २६

- हस्तबहादुर के.सी.

‘माक्र्सको ऐतिहासिक भौतिकवाद, वैज्ञानिक चिन्तनको महान उपलब्धि थियो । त्यसपछि इतिहास र राजनीति सम्बन्धि धारणाहरुमाथि जुन अवस्था र भाँडभैलोले रजाई गरेको थियो, त्यसका ठाउँमा अब निर्णायक रुपमा पूर्ण र सुसंगत वैज्ञानिक सिद्धान्त स्थापित हुन आयो ।’
– भी.आई. लेनिन


माक्र्सवादको अभ्युदय हुनुभन्दा पहिलो परापूर्वकालदेखि मानव समाजका सर्वोत्तम चिन्तकहरूले ‘मानिसद्वारा मानिसको शोषण र उत्पीडनबाट मुक्त हुने, आफ्नोे उत्पादनको मालिक आफै हुने, सुखी र समृद्ध समाजको निर्माण गर्ने’ परिकल्पना गर्दै आए र यस विषयमा गिजों, थिएरी, मिन्ये, एडम स्मिथ, डेविड रिकार्डो, सेन सिमोन, फुरिये, ओवेन र काण्ट जस्ता विश्वका तमामखाले विचारकहरूले न्याय र समानताको आधारमा समाजको निर्माण कसरी गर्न सकिन्छ भन्ने अनेकौंथरिका परिकल्पना र सिद्धान्तहरू प्रस्तुत गरे । तर ती सबै विचार र सिद्धान्त समाज विज्ञानका नियम र वास्तविक परिस्थितिमा आधारित नभई पवित्र इच्छा र कल्पनामा आधारित थिए । ती विचारहरू तथा सिद्धान्तकारहरूले वास्तविकरूपमा समाजिक शोषण र उत्पीडनबाट कसरी मुक्त हुने र न्याय र समानतामा आधारित समाजको निर्माण कसरी गर्ने भन्ने सम्बन्धमा सटिक र वैज्ञानिक जवाफ प्रस्तुत गर्न सकेका थिएनन् ।

मानव जातिको विकास जब पूँजीवादमा परिणत भयो तब सर्वहारा वर्गको सङघर्ष समाज विकासको मुख्य बाहक बन्यो । ऐतिहासिकक आवश्यकताका रूपमा वर्गीय शोषण र उत्पीडनबाट मुक्त हुने उपाय र न्यायपूर्ण समाजमा संक्रामण हुने नियम, तरिका र तीनका स्वरूपका बारेमा उद्घोषण गर्दै कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा कम्यूनिष्ट घोषणा पत्रको निर्माण गरे । कम्युनिष्ट घोषणा पत्रले अभिव्यक्त गरेका विचार र सिद्धान्तले विश्वभरिका मजदुर तथा सर्वहारा वर्गको हितलाई वैज्ञानिक आधारमा पुष्टि गर्ने काम गरिरहेकै छ । माक्र्स–एंगेल्सले जारी गरेको यो घोषणापत्रको आधारमा संसारभरिका कम्युनिष्टहरूले आफ्नोे देशको सामाजिक परिस्थितिको विश्लेषण गर्दै त्यस सिद्धान्तलाई लागू गर्ने प्रयत्न गर्दै आएका छन् ।

यो क्रान्तिको विज्ञानसम्बन्धी कम्युनिष्ट घोषणापत्रको निर्माण गर्नुभन्दा पहिले माक्र्स र एंगेल्सले आफूभन्दा पूर्ववर्ती राजनैतिक, आर्थिक तथा दार्शनिक ज्ञानको प्रशस्त मात्रामा अध्ययन गरेर त्यसैको निष्कर्षका रूपमा माक्र्सवादको प्रतिपादन भयो । यस शास्त्रीय जर्मन दर्शन, फ्रान्सिसी समाजवाद र अंग्रेज अर्थशास्त्रको उच्चतम विकास र माक्र्सका रूपमा ऐतिहासिक प्रतिभाको समन्वयले भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त र वर्गविहीन समाजको निर्माण ।

माक्र्स र एङ्गेल्सले आफूभन्दा पहिलेको विकसित भएका समाज विज्ञानका नियमहरूलाई सर्वहारा श्रमजीवी वर्गका जनताको हितका निम्ति सुसंगठित गर्दै उनीहरूको क्रान्तिकारी आन्दोलनमा जोड्ने काम गरेको हुनाले माक्र्सवाद विश्वभरिका मजदुर वर्गका मुक्ति, आन्दोलनको वैचारिक हतियार एवम् मार्गदर्शक सिद्धान्त सावित भयो । उन्नाइसौं शताब्दीको आरम्भमा जर्मनमा नयाँ–नयाँ भौतिकवादी दार्शनिक मान्यताहरू देखापरे । खास गरेर जर्मन शास्त्रीय दर्शनका रूपमा जार्जी हेगेलको द्वन्द्ववाद र लुडविक फायखाखको भौतिकवादी दर्शनका मूल्यवान तथा सुसंगत विचारहरूलाई आत्मासात् गरेर माक्र्स–एंगेल्सले द्वन्द्वात्म्क भौतिकवादी दर्शनको विकास गर्नुभयो ।

माक्र्सवादका प्रवर्तक माक्र्सको महान वैज्ञानिक देन केमा निहित छ भने उहाँहरूले प्रकृतिको मात्र नभएर समाजको समेत विकासको द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको व्याख्या र विश्लेषण गर्नुभयो । यसप्रकारले उहाँहरूले सामाजिक विकासको एकमात्र वैज्ञानिक सिद्धान्त–ऐतिहासिक भौतिकवादको सिर्जना गर्नुभयो । सामाजिक विकासलाई नियन्त्रित गर्ने नियमहरूका सिद्धान्तका रूपमा ऐतिहासिक भौतिकवादको स्थापना गर्नुभयो । यो विज्ञानले मानिसहरू किन र कसरी इतिहासका निर्माता बन्छन् भन्ने व्याख्या प्रस्तुत गरेको छ । यस प्रकारले इतिहासको वास्तविक, वैज्ञानिक, भौतिकवादी अवधारणाको रूपमा ऐतिहासिक भौतिवादको अभ्युदय भयो ।

समाजको विकास भनेको नै एउटा सामाजिक–आर्थिक व्यवस्थाको ठाउँमा अर्को बढी नियमित व्यवस्थाको नियमित परिवर्तन हो भन्ने वैज्ञानिक व्याख्या गर्दै माक्र्सले आदिम साम्यवादी व्यवस्थाबाट दास प्रथात्मक र त्यसपछि क्रमशः सामन्तवादी तथा पूँजीवादी व्यवस्था हुँदै अन्त्यमा साम्यवादी व्यवस्थातर्फ मानव इतिहासको प्रगतिशील गति चलिरहनेछ भन्ने वैज्ञानिक तथ्यहरूको पेश गर्नुभयो ।

ऐतिहासिक भौतिकवादको प्रतिपादन गर्दै माक्र्सले इतिहासका वास्तविक निर्माता जनसमुदाय र श्रमिकहरू नै हुन् भन्ने कुरा प्रमाणित गर्नुभयो । जनताको श्रमद्वारा नै मानिसहरूलाई चाहिने सबै भौतिक मूल्यहरूको उत्पादन हुन्छ । श्रम नै मानव जातिको जीवन र विकासको निम्ति नभई नहुने कुरा हो भन्ने अकाट्य प्रमाण पेश गर्नुभयो । युग विकासक्रमको व्याख्या गर्दै ‘आजसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास हो’ भन्ने पुष्टि गर्नुभयो ।

माक्र्स र एंगेल्सले समाजको इतिहासका वस्तुगत नियहरू मानिसका क्रियाकलापमार्फत प्रकट हुन्छ भन्ने सिद्धान्त अगाडि सार्दै समग्ररूपमा मानव जातिले पहिलो पाइला चालेदेखि आजसम्म चार प्रकारका सामाजिक र आर्थिक संरचनालाई पार गरेको छ । आदिम साम्यवादी युग, दास प्रथात्मक युग, र पुँजीवादी संरचनाको युगसम्म विकास भइसकेको छ । आज हामी अर्को संरचनामा संक्रामणको युगमा बाँचिरहेका छौं । यो संक्रमणको पहिलो चरण सामजवाद हो र अन्तिम चरण साम्यवाद हो ।

आजको युग सर्वहारा वर्ग र साम्राज्यवादीबीचको भीषण वर्गसङ्घर्षको युग हो । माक्र्सवादी सिद्धान्तअनुसार पूँजीवादी–साम्राज्यवादको पतन र सर्वहारा र श्रमजीवी वर्गको जीत अवश्यंभावी छ । ऐतिहासिक भौतिकवादको सिर्जना गर्न माक्र्सको मौलिक विशेषता रहेको छ । यो नै माक्र्सको प्रमुख देन हो र जुन सिद्धान्तअनुसार आज मानव समाज क्रमिकरूपले परिवर्तनशील चरित्र बोकेर अगाडि बढिरहेको छ र संक्रमणको डिलमा उभिएको छ ।

अन्त्यमा, कमरेड माओ अगाडि भन्नुहुन्छ– ‘वर्गहरु संघर्ष गर्छन, केही वर्ग विजय पाउँछन् अरुहरु निर्मूल हुन्छन् । इतिहास यस्तै छ, सभ्यताको हजारौं वर्षको इतिहास यस्तै छ । यस दृष्टिबाट इतिहासको व्याख्या गर्नु नै ऐतिहासिक भौतिकवाद हो, यस दृष्टिको विपरित उभिने विचारधारा ऐतिहासिक माक्र्सवाद हो ।’ उपर्युक्त माओको भनाइ सबै मालेमावादीहरुका निम्ति गहन शिक्षा सावित भएको छ ।