पार्टीभित्रका गलत विचारहरूलाई सुधार्ने सम्बन्धमा

प्रकाशित मिति : २०७३ पुष २५

- माओत्सेतुङ

चौथो लाल सेनाभित्रको कम्युनिस्ट पार्टी सङ्गठनमा यस्ता विभिन्न गैरसर्वहारा विचारहरू छन्, जसले पार्टीको सही कार्यदिशाको कार्यान्वयनमा ठूलो बाधा पुर्याउँछन् । यस्ता विचारहरूलाई पूर्णरूपमा नसुधारेमा, चौथो लाल सेनाले चीनको महान् क्रान्तिकारी सङ्घर्षमा आफ्नो जिम्माका अभिभाराहरूलाई सम्भवतः वहन गर्न सक्दैन ।

निश्चय पनि यस पार्टीसङ्गठनमा भएका यस्ता गलत विचारहरूको स्रोतको तथ्य यसका आधारभूत एकाइहरूमा अधिकाँश व्यक्तिहरू किसानहरू र निम्नपुँजीपति वर्गका अन्य तत्वहरू रहनुसित छ, तर ती कायम रहनाको र बढ्नाको एउटा महत्वपूर्ण कारण चाहिँ केमा निहित छ भने पार्टीका नेतृत्वकारी अङ्गहरूले उक्त गलत विचारहरूका विरुद्ध योजनाबद्ध तथा दृढ सङ्घर्ष चलाउन र पार्टीको सही कार्यदिशामा सदस्यहरूलाई शिक्षित पार्नसकेका छैनन् ।

केन्द्रीय कमिटीको सेप्टेम्बर पत्रको भावनाअनुसार यस महाधिवेशनले चौथो सेनाभित्रको पार्टीसङ्गठनमा विभिन्न गैरसर्वहारा विचारहरू कुन रूपमा अभिव्यक्त भएका छन्, तिनका स्रोतहरू के हुन् र तिनलाई कुन तरिकाले सुधार्नुपर्छ भन्ने कुरातर्फ औंल्याउँछ, र सारा कमरेडहरूलाई तिनको पूर्णरूपमा उन्मूलन गर्न आव्हान गर्दछ । 

सङ्गठनात्मक अनुशासनको अवहेलनाको सम्बन्धमा

चौथो फौजको पार्टी सङ्गठनमा सङ्गठनात्मक अनुशासनको अवहेलना निम्न रूपहरूमा अभिव्यक्त भएको छ :
क) बहुमतको फैसलालाई अल्पमतले नमान्नु । उदाहरणका लागि, जब अल्पमतले आफ्नो प्रस्ताव अस्वीकृत भएको देख्छ, तब त्यसले पार्टीका फैसलाहरूलाई दिलैदेखि कार्यान्वित गर्दैन । यसमा सुधार ल्याउने तरिकाहरू निम्न बमोजिम छन् :
१. बैठकमा सबैजनालाई आ–आफ्नो राय सकभर पूरा रूपमा व्यक्त गर्न उत्साहित पारिनुपर्छ । कुनै पनि विवादास्पद प्रश्नमा कुन ठीक हो कुन बेठीक हो भन्ने कुरालाई सम्झौता वा ढाकछोप नगरिकन स्पष्ट पारिनुपर्छ । स्पष्ट निष्कर्षमा पुग्नका लागि एउटा बैठकमा जुन कुराको टुङ्गो लाग्नसक्दैन, त्यसबारे अर्को बैठकमा छलफल गरिनुपर्छ, तर यसो गर्दा काममा बाधा पर्नुहुँदैन ।

२. अल्पमतले बहुमतको फैसलालाई मान्नु पार्टी अनुशासनको एउटा महत्वपूर्ण आवश्यकता हो । अल्पमतको सुझाव अस्वीकृत भएमा त्यसले बहुमतद्वारा पारित फैसलालाई समर्थन गर्नुपर्छ । आवश्यक परेमा त्यसले अर्को बैठकमा पुर्नविचारका लागि सो सुझाव पेश गर्नसक्छ, तर यसबाहेक त्यसले कुनै रूपमा पनि फैसला विपरीत काम गर्नुहुँदैन ।

ख) सङ्गठनात्मक अनुशासनको अवहेलना गरेर आलोचना गर्नु :
१. भित्रीपार्टी आलोचना पार्टीसङ्गठनलाई बलियो पार्ने र त्यसको लडाकु क्षमतालाई बढाउने साधन हो । तर लाल सेनाको पार्टीसङ्गठनमा सधैंभरि यस्तो खालको आलोचना हुँदैन र कहिलेकाहीँ आलोचनाले व्यक्तिगत आक्षेपको रूप लिन्छ । नतिजास्वरूप, त्यसबाट पार्टीसङ्गठनलाई र साथै व्यक्तिहरूलाई नोक्सान पु¥याउँछ । यो निम्नपुँजीवादी व्यक्तिवादको अभिव्यक्ति हो । यसलाई सुधार्ने उपाय भनेको आलोचनाको उद्देश्य वर्गसङ्घर्षमा विजय हासिल गर्नका लागि पार्टीको लडाकु क्षमतालाई बढाउनु र यसलाई व्यक्तिगत आक्षेपको साधनको रूपमा प्रयोग गर्नुहुन्न भन्ने कुरा पार्टीसदस्यहरूलाई बुझ्नमा सघाउ पुर्याउनु हो ।

२.धेरैजना पार्टीसदस्यहरू पार्टीभित्र नगरेर पार्टीबाहिर आलोचना गर्छन् । यसको कारण के हो भने आमपार्टी सदस्यहरूले अझसम्म पार्टी सङ्गठनको (त्यसको बैठक आदिको) महत्वलाई बुझेका छैनन् र उनीहरू सङ्गठनभित्र गरिने आलोचना र त्यसभन्दा बाहिर गरिने आलोचनाबीच कुनै भिन्नता देख्दैनन् । यसलाई सुधार्ने उपाय पार्टी सदस्यहरूलाई प्रशिक्षित पार्नु हो, जसबाट उनीहरूले पार्टीसङ्गठनको महत्वलाई बुझून् र पार्टी कमिटी वा अन्य कमरेडहरूको आलोचना पार्टी बैठकमै गरून् ।

निरपेक्ष समानतावादका सम्बन्धमा

एक समयमा लाल सेनामा निरपेक्ष समानतावादी चिन्तनले निकै गम्भीर रूप लिएको थियो । यसका केही दृष्टान्तहरू यहाँ दिइएका छन् । घायल सिपाहीहरूलाई दिइने भत्ताका सम्बन्धमा घाउको गम्भीरता हेरेर फरकफरक भत्ता दिइएकोमा आपत्ति जनाइयो, र सबैलाई बराबर भत्ता दिइनुपर्छ भन्ने माग गरियो । अफिसरहरूले घोडा चढेको कुरालाई कामका लागि आवश्यक कुरा नठानिकन त्यसलाई असमानताको एउटा लक्षण ठानियो । रसदको वितरण निरपेक्षरूपले समान हुनुपर्छ भन्ने माग गरियो र खास मामिलाहरूमा बढी रसद दिइएकोमा आपत्ति जनाइयो । चामलको ढुवानी गर्ने सम्बन्धमा उमेर वा शारीरिक अवस्थालाई नहेरिकन, सबैले बराबर परिमाणमा भारी बोक्नुपर्छ भन्ने माग गरियो । बस्ने ठाउँको वितरणमा पनि सबैको लागि बराबर ठाउको माग गरियो, र हेडक्वाटरले अलि ठूलो कोठा लिएकोमा त्यसको पनि निन्दा गरियो । थकाइलाग्ने काम दिँदा पनि समानताको माग गरियो, र अर्को मानिसले भन्दा अलि बढी काम गर्न इन्कार गरियो । कुरा कहाँसम्म पुग्यो भने घायल व्यक्ति दुई जना र स्टे«चर एउटा मात्र भएमा कुनै एक जनालाई स्टे«चरमा लैजान नहुने, भयो, किनभने एकले अर्कालाई प्राथमिकता दिन चाहँदैनथ्यो । उपर्युक्त उदाहरणहरूले के देखाउँछन् भने लाल सेनाका अफिसर र सिपाहीहरूका माझमा निरपेक्ष समानतावाद अझ पनि ज्यादै गम्भीर रूपमा रहेको छ ।

राजनीतिक मामिलामा अति जनवादझैँ निरपेक्ष समानतावाद पनि दस्तकारी तथा साना–किसान अर्थतन्त्रको उपज हो, र फरक कति मात्र छ भने यिनमा एउटाचाहिँ राजनीतिक मामिलामा अभिव्यक्त हुन्छ र दोस्रोचाहिँ भौतिक मामिलामा अभिव्यक्त हुन्छ । यसलाई सुधार्ने तरिका ः हामीले कुन कुरातर्फ औँल्याउनुपर्छ भने पुँजीवादको उन्मूलन हुनुभन्दा पहिले, निरपेक्ष समानतावाद किसान र साना सम्पत्ति–मालिकहरूको एउटा भ्रम मात्र हो र सामाजवादअन्तर्गत पनि कुनै निरपेक्ष समानता हुनसक्दैन, किनभने त्यसबेला पनि ‘प्रत्येकबाट उसको सामथ्र्यअनुसार, प्रत्येकलाई उसको कामअनुसार’ को सिद्धान्तको आधारमा र साथै कामको आवश्यकता पूर्तिअनुसारको सिद्धान्तको आधारमा भौतिक चीजहरूको वितरण हुनेछ । अफिसर र सिपाहीहरूको समान तलब भए झैँ लाल सेनामा भौतिक चिजहरूको वितरण धेरथोर समान हुनुपर्छ, किनभने सङ्घर्षको वर्तमान स्थितिको माग यही छ । तर अविवेकपूर्ण निरपेक्ष समानतावादको विरोध गरिनुपर्छ, किनभने यो सङ्घर्षका निम्ति आवश्यक हुनुको सट्टा सङ्घर्षको निम्ति बाधक छ ।

मनोगतवादका सम्बन्ध
केही पार्टीसदस्यहरूमा मनोगतवाद गम्भीर हदसम्म विद्यमान छ, र यसले राजनीतिक परिस्थितिको विश्लेषणमा र कामको निर्देशनमा ठूलो हानी पुर्याउँछ । यसको कारण के भने राजनीतिक परिस्थितिको मनोगत विश्लेषण र कामको मनोगत निर्देशनले अनिवार्य रूपमा या त अवसरवादलाई या त विप्वलवादलाई जन्मदिन्छ । जहाँसम्म मनोगतवादी आलोचना, जथाभावी वा निराधार कुराकानी, वा आपसी शङ्काको सम्बन्ध छ, पार्टीभित्र यस्ता कुराहरूले अक्सर गरी असैद्धान्तिक झगडा पैदा गर्छन् र पार्टीसङ्गठनहरूलाई कमजोर तुल्याउँछन् ।
भित्रीपार्टी आलोचनाको सम्बन्धमा अर्को उल्लेखनीय कुरा के छ भने केही कमरेडहरू आलोचना गर्दा ठुल्ठूला कुरालाई छाडेर ससाना कुरामा ध्यान दिन्छन् । उनीहरू कुन कुरा बुझ्दैनन् भने आलोचनाको मुख्य काम राजनीतिक तथा सङ्गठनात्मक गल्तीहरू देखाउनु हो । जहाँसम्म व्यक्तिगत कमजोरीको प्रश्न छ, यदि यी कमजोरीहरू राजनीतिक र सङ्गठनात्मक गल्तीहरूसित सम्बन्धित छैनन् भने चाहिनेभन्दा बढी तिनको आलोचना गर्नु र सम्बन्धित कमरेडहरूलाई हैरान पार्नु आवश्यक छैन । अर्को कुरा, यस्तो आलोचनाको सिलसिला एकपल्ट चलेपछि ठूलो खतरा के छ भने पार्टीसदस्यहरूले आफ्नो ध्यान पूरारूपमा ससाना कुराहरूमा केन्द्रित पार्नेछन्, अनि सबैजना अल्छे र निस्पृह बन्नेछन् र सबैले पार्टीका राजनीतिक अभिभाराहरूलाई बिर्सनेछन् ।

यसलाई सुधार्ने मुख्य उपाय पार्टीसदस्यहरूलाई प्रशिक्षित गर्नु हो, जसले गर्दा उनीहरूको सोचाइ र आफ्नो पार्टीजीवनमा राजनीतिक तथा वैज्ञानिक भावना व्याप्त होस् । यस उद्देश्य पूर्तिका लागि हामीले यी कामहरू गर्नुपर्छ :

१) राजनीतिक परिस्थितिको विश्लेषण र वर्गशक्तिहरूको मूल्याङ्कन गर्दा पार्टीसदस्यहरूलाई मनोगत विश्लेषण तथा मूल्याङ्कन गर्नुको सट्टा माक्र्सवादी–लेनिनवादी तरिका अँगाल्न गर्न सिकाउनु,

२) सङ्घर्षको कार्यनीति र कार्यतरिका निर्धारित गर्नका लागि सामाजिक तथा आर्थिक अनुसन्धान तथा अध्ययनतर्फ पार्टीसदस्यहरूको ध्यान आकृष्ट गर्नु र वास्तविक अवस्थाहरूको अनुसन्धान नगरेमा उनीहरू हवाइ कल्पना र विप्लववादको खाल्टोमा जाकिनेछन् भन्ने कुरा बुझ्नमा कमरेडहरूलाई मद्दत गर्नु र

३) भित्रीपार्टी सङ्घर्षमा मनोगतवाद, मनपरीवाद र छाडा आलोचनादेखि सावधान रहनु, अर्थात् भनाइहरू तथ्यहरूमा आधारित हुनुपर्छ र आलोचना राजनीतिमाथि केन्द्रित हुनुपर्छ ।

व्यक्तिवादका सम्बन्धमा

लाल सेनाको पार्टीसङ्गठनमा व्यक्तिवादी प्रवृतिले आपूmलाई निम्न रूपहरूमा अभिव्यक्त गरेको छ :
१.बदला लिने मनोवृत्तिः पार्टीभित्र कुनै सैनिक कमरेडद्वारा आफ्नो आलोचना भएपछि, कुनैकुनै कमरेडहरू पार्टीबाहिर बदला लिने अवसर खोज्छन्, र त्यसको एउटा उपाय सम्बन्धित कमरेडलाई कुटपिट गर्नु वा गालीगलौज गर्नु हो । उनीहरू पार्टीभित्र पनि बदला लिनखोज्छन् । ‘तैँले यस बैठकमा मेरो आलोचना गरेको छस्, अर्को बैठकमा कुनै किसिमले म तँसित बदला लिनेछु ।’ बदला लिने यस्तो मनोवृत्ति शुद्ध व्यक्तिगत स्वार्थबाट, समग्र रूपमा वर्ग र पार्टीका हितहरूको अवहेलनाबाट उत्पन्न हुन्छ । यसको निसाना वर्गसत्रु होइन, बरु हाम्रो आफ्नै पङ्क्तिमा रहेका कमरेडहरू हुन्छन् । यो यस्तो विनष्टकारी कुरा हो, जसले सङ्गठन र त्यसको लडाकु क्षमतालाई कमजोर पार्छ ।
२. ‘सानो डफ्फा’ मनोवृत्ति : कतिपय कमरेडहरू आफ्नै सानो डफ्फाको हितलाई मात्र ध्यानमा राख्छन् र सामान्य हितलाई बेवास्ता गर्छन् । बाहिरबाट हेर्दा यो व्यक्तिगत हितको सम्पादनजस्तो देखिँदैन तर, वास्तवमा यसमा अधिकतम सङ्कीर्ण व्यक्तिवाद निहित हुन्छ र यसको प्रभाव विनाशकारी र विघटनकारी हुन्छ । लाल सेनामा ‘सानो डफ्फा’ मनोवृत्तिको बोलबाला रहेको थियो र आलोचनाको फलस्वरूप त्यसमा केही सुधार भए पनि यसका अवशेषहरू अझसम्म विद्यमान छन् र त्यसलाई हटाउन अझ प्रयास गर्नु जरुरी छ ।

३. ‘जागिरे’ मनोवृत्ति : जुन पार्टी र जुन लाल सेनाका उनीहरू सदस्य छन्, ती दुवै क्रान्तिका अभिभाराहरू सम्पन्न गर्ने कार्यका साधन हुन् भन्ने कुरा कतिपय कमरेडहरू बुझ्दैनन् । उनीहरू स्वयम् नै क्रान्तिका निर्माता हुन् भन्ने कुरा उनीहरू महसुस गर्दैनन्, उनीहरू क्रान्तिप्रति होइन, बरु आफ्ना वरिष्ठ अधिकारीप्रति उत्तरदायी छन् भन्ने ठान्दछन् । क्रान्तिसित सम्बद्ध यो ‘जागिरे’ निष्क्रिय मनोवृत्ति पनि व्यक्तिवादको एउटा अभिव्यक्ति हो । क्रान्तिका लागि बिनासर्त काम गर्न सक्रिय कार्यकर्ताहरू धेरै सङ्ख्यामा किन नभएका होलान् भन्ने कुरा यसबाट थाहा हुन्छ । यस मनोवृत्ति उन्मूलन नभएमा सक्रिय कार्यकर्ताहरूको सङ्ख्या बढ्नेछैन र क्रान्तिको गह्रौँ बोझ केही खास मानिसहरूको काँधमाथि पर्नेछ, र यसले गर्दा सङ्घर्षलाई हानी पुग्नेछ । 

४. ऐशआरामको लालसा : लाल सेनामा यस्ता केही मानिसहरू पनि छन्, जसको व्यक्तिवाद ऐशआराम खोज्ने प्रवृत्तिमा अभिव्यक्त हुनेगर्छ । उनीहरू हमेशा के आशा गर्छन् भने उनीहरूको टुकडी ठूलो सहरमा प्रवेश गर्नेछ । उनीहरू काम गर्नका लागि होइन, बरु ऐशआरामका लागि सहरमा जान चाहन्छन् । जुन लाल इलाकाहरूमा जीवन कठिन छ, त्यहाँ उनीहरू कदापि जान चाहँदैन । 

५. निष्क्रियताः कतिपय कमरेडहरू कुनै कुरा आफ्नो इच्छाविपरीत भएमा निष्क्रिय बन्छन् र काम गर्न बन्द गर्छन् । मुख्य रूपमा यसको कारण प्रशिक्षणको कमी हो, तर कहिलेकाहीँ यसको कारण नेतृत्वबाट कामको अनुचित ढङ्गले सञ्चालन गरिनु, अनुचित ढङ्गबाट कामको बाँडफाँड गरिनु वा अनुचित ढङ्गबाट अनुशासन लागु गरिनु पनि हुन्छ । 

६. सेना छाड्ने इच्छा : लाल सेनाबाट स्थानीय काममा स्थानान्तर हुनचाहने मानिसहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । यसको कारण व्यक्तिगत मात्रै नभएर अन्य निम्न कारणहरू पनि छन् : क) लाल सेनामा जीवनका भौतिक कठिनाइहरू, ख) लामो सङ्घर्षपछिको थकाइ र (३) नेतृत्वद्वारा अनुचित ढङ्गबाट कामको सञ्चालन गरिनु, अनुचित ढङ्गबाट कामको बाँडफाँड गरिनु वा अनुचित ढङ्गबाट अनुशासन लागु गरिनु । 

यसलाई सुधार्ने मुख्य उपाय प्रशिक्षणलाई बलियो पार्नु हो, जसबाट विचारधारात्मक रूपबाट व्यक्तिवादलाई खत्तम पार्न सकियोस् । अर्को उपाय उचित ढङ्गबाट कामको सञ्चालन गर्नु, कामको बाँडफाँड गर्नु र अनुशासन लागु गर्नु हो । यसबाहेक लाल सेनाको भौतिक जीवनमा सुधार ल्याउने उपायहरू पत्ता लगाइनुपर्छ र आराम र पुनर्ताजगीकालागि सुलभ हुने हरेक अवसरलाई भौतिक अवस्था सुधार्नका लागि प्रयोग गरिनुपर्छ । हामीले दिने प्रशिक्षणका सम्बन्धमा हामीले के प्रस्ट पार्नुपर्छ भने सामाजिक उत्पत्तिको दृष्टिबाट व्यक्तिवाद पार्टीभित्र निम्नपुँजीवादी र पुँजीवादी विचारहरूको प्रतिबिम्बन हो । 

घुमक्कड विद्रोही समूहरूको विचारधाराको सम्बन्धमा

लाल सेनामा घुमक्कड विद्रोही जत्थाहरूसित सम्बद्ध विचारधारा उत्पन्न हुनाको कारण यसमा आवारा तत्वहरू ठूलो सङ्ख्यामा छन् र चीनमा, खासगरी दक्षिणी प्रान्तहरूमा ठूलो सङ्ख्यामा आवाराहरूको उपस्थिति छ । यो विचारधारा तल उल्लेखित रूपहरूमा अभिव्यक्त भएको छ : १) कोही मानिसहरू घुमक्कड छापामार कारबाहीद्वारा हाम्रो राजनीतिक प्रभावलाई बढाउन चाहन्छन्, तर आधारक्षेत्रहरू निर्माण गर्ने कष्टसाध्य काम गरेर र जनताको राजनीतिक सत्ता कायम गरेर त्यसलाई बढाउन चाहँदैनन् । २) कोही मानिसहरू लाल सेनालाई विस्तारित गर्नका लागि स्थानीय रक्षकदल र स्थानीय सेनालाई बढाउने र लाल सेनाको मुख्य शक्तिको विकास गर्ने कार्यदिशाको अनुसरण गर्दैनन्, बरु ‘मानिस भाडामा लिने र घोडा किन्ने’ र ‘भगुवाहरू भर्ती गर्ने र बागीहरूलाई सामेल गर्ने’ कार्यदिशाको अनुसरण गर्छन् । कोही मानिसहरूमा जनतासित मिलेर कठोर सङ्घर्ष चलाउने धैर्यको कमी छ र उनीहरू खुब मोजमज्जा गर्नका लागि ठुल्ठुला सहरहरूमा जान मात्र चाहन्छन् । घुमक्कड विद्रोहीहरूको विचारधाराका यस्ता सबै अभिव्यक्तिहरूले लाल सेनाको उचित अभिभाराहरू पूरा गर्नमा बाधा पु¥याउँछन् । त्यसैले त्यसको उन्मूलन गर्नु लाल सेनाको पार्टीसङ्गठनभित्र हुने विचारधारात्मक सङ्घर्षको एउटा महत्वपूर्ण उद्देश्य हुन्छ । के कुरा बुझ्नुपर्छ भने वर्तमान अवस्थामा व्हाङ् छाओ वा लो छ्वाङ खालका घुमक्कड विद्रोहीहरूका तरिकाहरूलाई छुट दिन सकिँदैन । 
यसलाई सुधार्ने उपायहरू निम्न हुन् :
१. शिक्षालाई जोडदार रूपमा बढाऊ, गलत विचारहरूको आलोचना गर र घुमक्कड विद्रोही दलहरूको विचारधारालाई निर्मूल पार । २. लाल सेनाका आधारभूत दस्ताहरूको बीचमा र हालै भर्ती गरिएका बन्दीहरूका बीचमा आवारा दृष्टिकोणका विरुद्ध शिक्षालाई जोडदार रूपमा बढाऊ । ३. लाल सेनाको वर्गबनौटलाई फेर्नका लागि सङ्घर्षमा अनुभव बटुलेका सक्रिय मजदुर र किसानहरूलाई त्यसका पङ्क्तिहरूभित्र ल्याऊ । ४. लडाकु मजदुर तथा किसानहरूका समुदायहरूका बीचबाट लाल सेनाका नयाँ टुकडीहरू बनाऊ ।

विप्लववादका अवशेषहरूका सम्बन्धमा
लाल सेनाको पार्टीसङ्गठनले विप्लववादको विरुद्ध सङ्घर्ष पहिले नै चलाइसकेको छ, तर पर्याप्त मात्रामा चलाइएको छैन । तसर्थ, यस विचारधाराका अवशेषहरू लाल सेनाभित्र अझ पनि विद्यमान छन् । निम्न रूपहरूमा यसको अभिव्यक्ति हुन्छ ः १) आत्मगत तथा वस्तुगत अवस्थाहरूलाई बेवास्ता गरी आँखा चिम्लेर काम गर्नु, २) सहरका लागि निर्धारित पार्टीका नीतिहरूलाई अपर्याप्त र फितलो ढङ्गबाट कार्यान्वित गर्नु, ३) सिथिल फौजी अनुशासन —खासगरेर पराजयको बेलामा, ४) केही टुकडीहरूद्वारा घर जलाउने काम गरिनु, ५) भगुवाहरूलाई गोली हानेर मार्ने चलन र शारीरिक सजाय दिने चलन— यी दुवै चलनमा विप्लववादी प्रवृत्ति प्रकट भएको छ । सामाजिक उत्पत्तिको दृष्टबाट हेर्ने हो भने विप्लववाद लम्पट–सर्वहारा विचारधारा र निम्नपुँजीवादी विचारधाराको मेल हो ।
यसलाई सुधार्ने उपायहरू निम्न हुन् :
क. विचारधारात्मक रूपले विप्लववादलाई निर्मूल पार । ख. नियम, नियमावली तथा नीतिहरूद्वारा विप्लववादी व्यवहारलाई सच्याऊ ।