क्रान्तिकारीहरुको कार्यभार

प्रकाशित मिति : २०७३ पुस २३

- हरिकृष्ण गजुरेल

“एउटा कमजोर मुलुकले बलियो राष्ट्रलाई पराजित गर्न सक्छ, एउटा सानो मुलुकले ठूलो मुलुकलाई हराउन सक्छ । सानो मुलुकका जनताले ठूलो मुलुकद्वारा गरिएको आक्रमणलाई निश्चय पनि परास्त गर्न सक्छन्, यदि उनीहरुले संघर्षको उठान गर्न सकेभने, यदि उनीहरुले हतियार उठाउने साहस गरे भने उनीहरुले आफ्नो मुलुकको भाग्य आफ्नो हातमा लिन सक्छन् । यो इतिहासको नियम हो ।” – माओ

उक्त भनाई नेपालको वर्तमान अवस्थालाई नियाल्दा साँच्चै मार्गनिर्देशनको रुपमा रहेको स्वतः स्पष्ट हुन्छ । अहिले देश गम्भिर संकटको अवस्थाबाट गुज्रिरहेको छ । देशी–विदेशी, प्रतिक्रृयावादी, सामन्तवादी, साम्राज्यवादी र विस्तारवादीको ताण्डब नृत्यमा झुमिरहेका नेपाली शासकहरुको रवैयाले अन्ततः राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाल अत्यन्तै विकराल बन्न पुगेको छ । आफ्नै मुलकका शासकहरुको दास बन्न बाध्य र विवश छन् नेपाली जनता । मुठ्ठीभरका दलाल, भ्रष्ट र तस्करहरुको दबदबाले दिनप्रतिदिन मजदुर, किसान, उत्पीडित र उपेक्षित जनता रोग, भोग, अशिक्षा र अभावजस्ता दर्दनाक स्थितिबाट गुज्रन बाध्य छन् ।

विदेशीको गुलामी र चाकरीबाट शासन सत्तामा पुगेकाहरु आफ्नो लुटको स्वर्ग बचाई रहनको लागि तल्लिन भएको पाइन्छ भने विदेशीका गुलामी गर्नेमा प्रतिस्पर्धा गर्न मै होडबाजी गरिरहेको देखिन्छ । साम्राज्यवादी, विस्तारवादी मुलुकहरु आफ्नो दबदबा कायम राखि निरन्तर आफ्नो हैकमलाई बढाउँदै लगिरहेका छन् । साँच्चै अब क्रान्तिकारीहरु जाग्नुपर्ने बेला आएको छ । राष्ट्रिय स्वाधीनताको निम्ति आम शोषित, उत्पीडित, उपेक्षित जनतालाई गोलबन्द गरी राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व क्रान्तिकारीहरुले गर्नुपर्ने अपरिहार्यता सृजना भएको छ । साथसाथै जनतन्त्र र जनजीविकाको सुनिश्चितताको लागि पहलकदमी लिनुपर्ने बेला आएको छ । विजयको सन्निकट पुगेको क्रान्ति प्रतिक्रान्तिमा बदलिन पुग्नु र क्रान्तिको नायक नै खलनायक र अन्ततः प्रतिक्रान्तिको पनि नायकमा बदलिन पुग्नुले आम शोषित, उत्पीडित, उपेक्षित जनतामा निराशा पैदा भएको छ । त्यसलाई पुनः क्रान्तिकारी आशावादमा बदल्नु पर्दछ । जसको निम्ति क्रान्तिकारीहरुले अथक मेहनत गर्नैपर्ने हुन्छ । जुन कुरा क्रान्तिकारीहरुको वर्तमानको कार्यभार बनेर आएको छ । 

अब क्रान्तिकारीहरुले संघर्षको उठान गर्नै पर्दछ भने आवश्यक पर्दा जस्तोसुकै त्याग, बलिदानी र विरताको निम्ति पनि तयार रहनै पर्दछ । आवश्यक परेमा हतियार उठाउने सहास समेत गर्नैपर्दछ भने समग्र मुलुकको भाग्य र भविष्य निर्माणको खातिर दृढताका साथ मैदानमा उत्रेर नेतृत्वदायी भूमिका निर्वाह गर्ने आँट गर्नै पर्दछ । जनघात र राष्ट्रघात गर्नेहरुका विरुद्ध निर्मम संघर्ष गरेर जरैदेखि धुलिसात बनाएरै छोड्नुपर्दछ । जुन कार्यभार क्रान्तिकारीहरुको काँधमा आएको छ । 

आज मुलुकमा भारतीय विस्तारवादद्वारा जबर्जस्त लादिएका असमान सन्धि सम्झौताहरुले आक्रान्त बन्न पुगेको छ । नेपाली जनता पीडाले छट्पटाइरहेका छन् । तर शासकहरु भारतीयविस्तारवादको चाकरी गर्नमै प्रतिस्पर्धा गरिरहेका छन् । अब क्रान्तिकारीहरुले यी यावत असमान सन्धि सम्झौताहरुका खारेजी लगायत समुन्नत, स्वाधीन र सार्वभौम मुलुक निर्माणको निम्ति समग्र रुपले पहल कदमी लिने आँत गर्नै पर्दछ र दलाल शासकहरु लगायत तमाम प्रतिक्रयावादी, यथास्थितिवादी, सामन्तवादी र साम्राज्यवादी अवशेषहरुलाई समेत धूलोपिठो पारी पत्तासाफ गर्नुपर्दछ । जसको निम्ति आम क्रान्तिकारी, देशभक्त, उत्पीडित, उपेक्षित र शोषित जनताहरु विचको गठजोडमा संघर्षको आँधीबेहरी सृजना गर्नुपर्दछ । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी बैज्ञानिक समाजवादको खातिर अघि बढ्नै पर्दछ । नेपालको मात्र नभएर समग्र विश्वको समस्यको समाधान बैज्ञानिक समाजवादले मात्र गर्नेछ । दिन प्रतिदिन माक्र्सवादको अपरिहार्यता बृद्धि हुँदै गईरहेको छ । अहिले विश्वमा एकाधिकार पूँजीवादले निम्त्याएको संकट चरम बन्दै गईरहेको छ । माक्र्सवाद बाहेक अरु माध्यमले विश्वको संकट समाधान हुनेवाला नै छैन । आज पूँजीवाद असफलताको दिशामा पुगेको र माक्र्सवादको सान्दर्भिकता ह्वात्तै बढेर गएको कुरा अमेरिका र यूरोपमा खोलिएका माक्र्सवादी पुस्तकालहरु र त्यहाँका कतिपय विश्वविद्यालयहरुमा पूँजीवादको विकल्पमा हुन थालेका माक्र्सवादी बहसहरुले स्वतः सिद्ध पुष्टि गर्दछ । त्यसकारण माक्र्सवाद र मालेमावाद असफलतातिर जाँदैछ भनेर डंका पिट्नु साम्राज्यवादी र विस्तारवादीहरुको चित्कारबाहेक अरु केही होइन । मुख्यतः ‘दुनियाँ बद्ल्नु हो’ भन्ने कुरालाई आत्मसात गर्दै क्रान्तिकारीहरुले पुर्ण रुपमा आशावादी हुँदै क्रान्ति समान्न गरी जनताको जीवनस्तरमा आमुल परिवर्तनको लागि पहलकदमी लिने आँट गर्नै पर्दछ । 

संख्यात्मक रुपमा धेरै र थोरै भन्दा पनि दृढ आत्मविश्वास, क्रान्तिकारी भावबाट लैस हुनुको साथै आवश्यक पर्दा क्रान्तिकारीहरु आगोको झिल्को बन्नु पर्दछ । आगोको झिल्को सानो भए पनि संसार डढाइदिन्छ, त्यस्तै क्रान्तिकारीहरु थोरै भएता पनि संसारका साम्राज्यवादी र विस्तारवादीहरुका लुटको स्वर्गलाई खरानी बनाई दिनुपर्दछ भने आम शोषित, उत्पीडित, उपेक्षितहरुको सहभागिता एवं नेतृत्वदायी भूमिका रहेको जनवादी राज्यसत्ता स्थापना गरेरै छोड्ने दिशामा निरन्तर अघि बढ्न क्रान्तिकारीहरु प्रतिबद्धताका साथ तैयार बन्नै पर्दछ । जसको निम्ति आम शोषित, उत्पीडित, उपेक्षितहरुलाई गोलबन्ध गरी क्रान्तिकारहिरु दृढ आत्म विश्वास र अदम्य साहसका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्दै निराशावाद र निस्कृयतावादलाई क्रान्तिकारी आशावादमा बदलेर अघि बढ्ने साहस गर्नु पर्दछ । माओवादीका नाममा माओवादीलाई नै भ्रष्टीकरण गर्नेहरुका विरुद्ध ने.क.पा.(क्रान्तिकारी माओवादी) का नेता कार्यकर्ताहरु जनताका बीचमा गएर वास्तविकता चिरफार गरी जनतालाई यथार्थ रुपमा बुझाउने काम समेत गर्नुपर्दछ भने मालेमाको रक्षा, प्रयोग र विकासको वातावरण निर्माणको लागि अथक मेहनत गर्नैपर्दछ । ‘तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौं’ भन्ने माओको भनाइलाई आत्मसात गर्नुपर्दछ । 

क्रान्तिकारीहरुले बोध गर्नुपर्ने कुरा जसरी भियतनामी जनताले हो चि मिन्हको नेतृत्वमा अमेरिकी साम्राज्यवादलाई धूलो चटाउन सफल भए, त्यसैगरि नेपाली क्रान्तिकारीहरुले मोहन वैद्य ‘किरण’को नेतृत्वको ने.क.पा. (क्रान्तिकारी माओवादी) पार्टीको नेतृत्वमा आम शोषित, उत्पीडित समुदायलाई गोलबन्द गरी साम्राज्यवादी र विस्तारवादीहरुलाई धूलो चटाइ जनवादी व्यवस्था स्थापना गर्नै पर्दछ । क्रान्तिकारीहरुले आफ्नो मुलुकको भाग्य र भविष्य आफ्नो हातमा लिने आँट र साहस गर्नैपर्दछ । यो क्रान्तिकारीहरुको प्रमुख दायित्व र कार्यभार नै हो ।