एकजुट भएर राष्ट्रघात, जनघात र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं !

प्रकाशित मिति : २०७३ पुस १९

- परि थापा, कार्यालय सदस्य, नेकपा (क्रान्तिकारी माओवादी) तथा सचिव, देजमो, नेपाल

‘राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि गम्भीर खतरा आइलागेको छ । त्यसैगरी भ्रष्टाचार संस्थागत नै भएको छ । यस अवस्थामा सम्पूर्ण सच्चा देशभक्त, जनतान्त्रिक, प्रगतिशिल, अग्रगामी र क्रान्तिकारी शक्तिहरु र जनसमुदायहरु एकजुट भएर राष्ट्रघाती, जनघाती र भ्रष्टाचारी तत्वहरुका विरुद्ध संघर्षमा जुट्न आव्हान गर्न चाहन्छु ।’

पार्टी र संयुक्त मोर्चाको केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले लिएका महत्वपूर्ण निर्णयहरुबारे संक्षिप्तमा चर्चा गरिदिनुस् न ।
हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र पार्टी निकटको संयुक्त मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय समितिका बैठकहरु हालसालै सम्पन्न भएका छन् । पार्टीको बैठकले पार्टीको आगामी राष्ट्रिय सम्मेलनलाई मध्यनजर राख्दै संगठन सुदृढीकरण, प्रशिक्षण, आर्थिक लगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरुलाई समेटेर संघर्ष संचालन गर्ने नीति अन्तर्गत तीन महिने अभियानको कार्यक्रम तय गरेको छ । त्यसैगरी देजमोले पनि देशव्यापी रुपमा व्यापक सदस्यता वितरण गर्ने, संगठन विस्तार गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविका एवम् भ्रष्टाचारका विषयहरुलाई समेटेर संघर्षका कार्यक्रमहरु संचालन गर्ने र मोर्चालाई आम जनताका बीचमा स्थापित गर्ने निर्णय लिएको छ ।

बैठकले संशोधन प्रस्तावलाई ‘विस्तारवादी’, एमालेको विरोधलाई ‘सामन्तवादी’ भनेर संश्लेषण गरेको पाइयो । यसलाई विस्तारमा प्रष्ट पारिदिनुस् न ।

हाम्रो पार्टीले वर्तमान संविधानलाई पश्चगामी संविधान मान्दछ र त्यसको खारेजीको माग गरेको छ । त्यसको प्रतिस्थापन जनगणतान्त्रिक संविधानले गर्नु पर्दछ भन्ने मान्यता राख्दछ । त्यसैले त्यसमा हुने संशोधनले खासै अर्थ र औचित्य राख्दैन । अहिले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले जुन संशोधन प्रस्ताव प्रस्तुत गरेको छ, त्यो भारतीय विस्तारवादीहरुको निर्देशन र सल्लाह अनुसार आएको छ । त्यसैगरी मधेशवादी दलहरुलाई पनि भारतीय विस्तारवादी सत्ताले नै निर्देशन र सल्लाह दिने गरेको छ । एमालेको विरोध नक्कली हो । उ आफू सत्ताबाट बाहिरिनु परेकोले संविधान संशोधन गर्नै हुँदैन भन्ने कथित अडान देखाएको मात्रै हो ।

क्रान्तिकारी माओवादीले ‘आत्मनिर्णयको अधिकारसहितको जातीय संघीयता’को कुरा गर्दै आएको छ । यहाँहरुको संघीयताको खाका चाहिं के हो ? जनताले बुझ्ने भाषामा प्रष्ट्याइदिनुस् न ।

हाम्रो पार्टीले आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकारोक्ति सहित जातीय क्षेत्रीय स्वशासनका आधारमा राज्यको नयाँ संघीय संरचना गर्ने नीति लिंदै आएको कुरा स्पष्टै छ । त्यस आधारमा लिम्बुवान, किरात, ताम्सालिङ, नेवा, तमुवान, मगरात, खसान, कोचिला, मिथिला, भोजपुरा, अवध र थरुहटलगायतका संरचना प्रस्तुत गरेको छ । पार्टी संगठनको संरचना पनि सोही अनुरुप निर्माण र संचालनमा छ ।
संसदवादीहरुले प्रस्तुत गरेको संघीयताको खाका, त्यसको सिमांकन र नामांकनबारे क्रान्तिकारी माओवादीको दृष्टिकोण प्रष्ट पारिदिनुस् न ।
संसदवादी पार्टीहरुले संघीयताको मर्मलाई वास्तविक अर्थमा आत्मसाथ गरेका छैनन् भन्ने कुरा प्रष्टै छ । उनीहरुले जुन बेनामी खाका र सिमांकन प्रस्तुत गरेका छन्, त्यो कुनै सिद्धान्त र मापदण्डमा आधारित नभएर हचुवा र मनमौजी ढंगले गरेका छन् । पहिलो संविधानसभाद्वारा तय गरिएको पहिचानका पाँच आधार र सामथ्र्यका चार आधारलाई स्वीकार गरेर अपनत्व ग्रहण गरेको भनिएता पनि त्यसलाई पूरै लत्याएको स्पष्टै छ । उनीहरुले मुखले संघीयता भनेता पनि घुमाइफिराई सारमा एकात्मक र केन्द्रीकृत संरचना नै कायम गर्न खोजेको कुरो लुकेको छैन ।

अहिले आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियताको चर्चा चलिरहेको छ । यी दुईबीचको अन्तरसम्बन्ध र प्रधान र गौणको विषयमा स्पष्ट पारिदिनुहुन्थ्यो कि ?

–हाम्रो देशमा पहाडीया अहंकारवादले खासगरेर तराई÷मधेशका जनसमुदायलाई अराष्ट्रवादी र विखण्डनवादी आँखाले हेर्दछ र त्यही आरोप लगाउँदछ । त्यसको परिणामस्वरुप राज्यसत्तामा पहाडीया अहंकारवादको हालीमुहाली कायम राख्न चाहन्छ । त्यसैगरी साम्राज्यवादी शक्तिहरु त्यसमा खासगरेर भारतीय विस्तारवादले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामा विभिन्न किसिमले हैकम र हस्तक्षेप गर्दै र चलाउँदै आएको छ । त्यसरी देशभित्रको आन्तरिक समस्या समाधान गर्नका लागि पहाडीया अहंकारवादविरुद्ध र वाह्य हस्तक्षेप रोक्नका लागि भारतीय विस्तारवादका विरुद्ध संघर्ष चलाउनुपर्ने आवश्यकता छ । त्यसकारण देशभित्र शान्ति सुव्यवस्था कायम गर्नका लागि आन्तरिक अन्तरविरोध र राष्ट्रिय स्वाधीनताको जगेर्ना गर्नका लागि वाह्य शक्तिसँगको अन्तरविरोध मुख्य बन्दछ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर यहाँहरु निरन्तर आन्दोलनमा हुनुहुन्छ । राष्ट्रियताको मुद्दामा गरिएको तीन दलीय कार्यगत एकताले आन्तरिक राष्ट्रियताको मुद्दालाई गौण बनाएको पनि कतिपयको बुझाइ छ नि ?

हाम्रो पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित मुद्दाहरुमा दृष्टिकोण मिल्ने र साझा अवधारणा बनाउन सकिने पक्षहरुसँग सहकार्य र कार्यगत एकता गरेर संघर्षलाई अगाडि बढाउने नीति लिएको छ । सोही नीति अनुसार अहिले हाम्रो पार्टी लगायत अन्य दुई पार्टीहरु नेकपा (मसाल) र नेकपा (माओवादी)सँग कार्यगत एकता कायम गरी संघर्षका कार्यक्रमहरु अगाडि बढाएको छ । तर हाल कायम भएको तीन पार्टीबीचको कार्यगत एकता राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित समग्र मुद्दाहरुलाई समेटेर गरिएको होइन । अहिले गरिएको कार्यगत एकता जलस्रोत र उर्जा क्षेत्रमा भएको भारतीय हस्तक्षेप मुख्यतः माथिल्लो कर्णाली जलविद्युत आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजना, र विराटनगरमा अनधिकृत रुपमा रहेको भारतीय वाणिज्यदूतको कार्यालयका विरोधमा केन्द्रीत रहेको स्पष्टै छ ।

कार्यगत एकताको आयुलाई लिएर पनि विभिन्न चर्चा हुने गरेको छ । यो कार्यगत एकता कति परसम्म जान सक्ला ?

कार्यगत एकता रणनैतिक एकता जस्तो लामो वा दीर्घकालीन नहुने त स्पष्टै छ । हाम्रो पार्टीले जुन उद्देश्य प्राप्तिका लागि कार्यगत एकता गरिएको हो, त्यसको प्राप्ति नहुन्जेल कायम राख्ने र अगाडि बढाउने तर्फ अधिकतम प्रयत्न गर्नेछ । यसप्रकारको एकतालाई कायम राख्न त्यसमा संलग्न सबै पक्षका बीचमा एकआपसमा राम्रो समझदारी कायम राखिरहन सम्बन्धित सबैले गम्भीर र जिम्मेबार हुनु पर्दछ । हाम्रो पार्टीले त्यस्तो पहल र प्रयत्न गर्न हदैसम्म योगदान पु¥याउने छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरुमाथि गहिरिदो संकटको जगमा उठ्ने र उठेको आन्दोलनमा क्रान्तिकारी माओवादी तथा देजमोले त्यसको नेतृत्व लिन सक्छ ? जसको एजेण्डा उसैको नेतृत्व नहुँदा आन्दोलन गन्तव्यहीन बनेका दृष्टान्तहरु छन् नि ?

आज देशमा राष्ट्रियता, जनतन्त्र र जीविकाका विषयहरुमाथि गम्भीर संकट आइलागेको मात्र होइन, भ्रष्टाचारले संस्थागत रुप लिएको छ र राज्यको समग्र पक्षलाई आक्रान्त पारेको र गाँजेको छ । त्यसका लागि देशमा पालैपालो सत्ता र सरकार संचालनको नेतृत्व गर्न पुगेका पार्टी र खास गरेर तिनका मुख्य नेतृत्व जिम्मेवार रहेको छ । यस्तो गम्भीर अवस्थामा माथि उल्लेखित मुद्दाहरुमा आधारित भएर चल्ने र चलाउने संघर्ष र आन्दोलनको अग्रिम नेतृत्वमा हाम्रो जस्तो क्रान्तिकारी पार्टी र त्यसको निकट रहेको संयुक्त मोर्चाले नेतृत्वदायी भूमिका निभाउनु पर्दछ भन्ने कुरा स्वतः स्पष्ट छ । तर अहिले हामीलाई के महसुस भएको छ भने पार्टीको आत्मगत अवस्था वा सांगठानिक शक्ति र क्षमता परिस्थितिको माग भन्दा कमजोर हुन पुगेको छ । त्यसका लागि विगतमा पार्टीमा पटक–पटक भएका फुटहरु लगायतका कारणहरु जिम्मेवार रहेका छन् । यही यथार्थलाई ध्यानमा राखेर पार्टीले पार्टी संगठन सुदृढकिरण लगायतका कार्यक्रमहरु तय गरेर अभियानात्मक ढंगले अगाडि बढ्ने नीति तथा योजना तय गरेको छ । त्यस प्रकारको भूमिका निभाउनमा लागि पार्टीले सम्पूर्ण प्रयत्न लगाउने छ ।

राष्ट्रियता, जनतन्त्र र जनतन्त्रको मुद्दामा अन्य राष्ट्रिय तथा क्षेत्रीय पार्टीहरुसँग सहकार्य गर्न सकिने सम्भावना चाहिं कस्तो देख्नुहुन्छ ?

सिन्द्धान्तः त्यसप्रकारको सम्भावनालाई पूरै अस्वीकार गर्न त सकिंदैन तर तत्काललाई त्यस्तो अवस्था विद्यमान रहेको छैन । देशको राष्ट्रिय राजनीति लगायतका विषयहरुमा आउने परिवर्तनको अवस्थाले त्यसप्रकारको सम्भावनालाई अगाडि ल्याउने काम गर्दछ । त्यस्तो अवस्थामा पार्टीले तात्कालिक परिस्थितिको मूल्यांकन गरेर कार्यगत एकताको नीति तय गर्दछ ।

पार्टीको पछिल्लो विभाजनदेखि अहिलेसम्म देशैभर पार्टीको सांगठनिक तथा राजनीतिक स्थिति चाहिं कस्तो पाउनु भएको छ ?

पार्टीमा आउने फुट र विभाजनहरुले पार्टीमा असर त पार्छ नै । त्यसप्रकारको फुट र विभाजनले पार्टीलाई राजनीतिक भन्दा पनि सांगठानिक रुपमा असर पार्ने हुन्छ । किनभने अहिलेसम्म पार्टीमा आएको विभाजनको अवस्था क्रान्तिकारी दृष्टिकोणबाट भन्दा दक्षिणपन्थी, संशोधनवादी एवम् अवसरवादी दृष्टिकोणबाट भएको छ । र, पार्टीले त्यस्ता गलत दृष्टिकोण र रुझानको आलोचना र भण्डाफोर गरेर प्रष्ट पार्ने काम गरेको छ । तर त्यसप्रकारका गलत तत्वहरुसँग कतिपय इमान्दार कार्यकर्ता पंक्ति पनि भ्रममा परेर जानसक्ने भएकाले सारमा नभए पनि मात्रात्मक रुपमा असर पु¥याउँदछ । र, विगतको फुटले पार्टीको सांगठानिक सामथ्र्यमा केही क्षति पु¥याएको थियो । अहिले पार्टीले त्यसप्रकारको क्षतिलाई पूर्ति गर्दै देशव्यापीरुपमा पार्टीको सांगठानिक विस्तारमा अगाडि बढिरहेको छ ।

क्षेत्रीय र विश्व राजनीतिमा शक्तिकेन्द्रबीचको बढ्दो अन्तरविरोधले नेपालको नयाँ जनवादी क्रान्तिमा पार्नसक्ने असरलाई चाहिं कसरी हेर्नु भएको छ ?

कम्युनिष्ट आन्दोलन र क्रान्ति एउटा अन्तर्राष्ट्रियतावादी आन्दोलन र क्रान्ति हो । त्यसकारण हामीले हाम्रो देशमा सम्पन्न गर्ने नयाँ जनावदी क्रान्तिको पक्षमा सहयोग जुटाउने र समर्थन लिने कार्यलाई महत्वपूर्ण प्राथमिकता साथ अगाडि बढाउनु पर्दछ भने हामीले पनि अन्य देशहरुमा हुने त्यस्ता क्रान्ति र संघर्षहरुमा सहयोग, समर्थन र ऐक्यबद्धता जाहेर गर्नु पर्दछ । त्यसैले विश्वव्यापी वा क्षेत्रीय रुपमा उपस्थित हुने अन्तरविरोध एवम् शक्ति सन्तुलनले हाम्रो देशको क्रान्ति र परिवर्तनमा प्रत्यक्ष वा परोक्ष असर पार्ने स्वतः स्पष्ट छ । तर वर्तमान अवस्थामा नेपाली नयाँ जनवादी क्रान्ति र त्यसको नेतृत्व गर्ने क्रान्तिकारी पार्टी र शक्तिलाई भाइचरा सम्बन्धको स्तरमा सहयोग र समर्थन गर्ने अन्तर्राष्ट्रिय शक्ति विद्यमान नरहेको सत्य हो ।

अब नेपालमा हुने वा सम्पन्न गरिने नयाँ जनवादी क्रान्तिको मोडेल कस्तो हुन्छ ? संक्षिप्तमा जनताले बुझ्ने गरी बताइदिनुस् न ।

–नयाँ जनवादी क्रान्ति भनेको पुँजीवादी क्रान्तिकै एक रुप हो । तर त्यो पँुजीवादी पार्टी र शक्तिको नेतृत्वमा नभएर सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्व एवं मजदुर र किसान वर्गको एकतामा आधारित हुन्छ । नयाँ जनवादी क्रान्तिले देशीय सामन्तवाद र विदेशी साम्राज्यवादका विरुद्धमा संघर्ष चलाउँदछ । त्यसैले यो जनतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षमा अनि विदेशी हस्तक्षेपका विरुद्धमा हुने आन्दोलन र क्रान्ति हो । त्यसैले त्यो क्रान्ति शान्तिपूर्ण संक्रमणबाट सम्भव नहुने स्पष्टै छ र त्यसका लागि सर्वहारावर्गले बलप्रयोगको माध्यमबाट पुँजीवादी प्रतिक्रियावादी वर्गलाई सत्ताच्यूत गरी आफ्नो हातमा राज्यसत्ता लिनु पर्दछ । हाम्रो पार्टीले नेपाली विशेषतामा आधारित सशस्त्र जनविद्रोहको बाटोबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशा लिएको छ । तर परिस्थितिमा आउने परिवर्तनलाई ध्यानमा राख्दै लामो वा दीर्घकालीन जनयुद्धको बाटो अपनाउनु पर्ने सम्भावनालाई पनि अस्वीकार गरेको छैन । नयाँ जनावदी क्रान्ति सम्पन्न भएपछि वैज्ञानिक समझदारी व्यवस्था कार्यान्वयन गर्ने दिशामा अगाडि कार्यदिशा हुनेछ ।

अहिले संसदवादीहरु चुनाव घोषणाको दाउपेचमा छन् । देजमोले संसदीय वा स्थानीय निर्वाचनलाई उपयोग वा बहिष्कार के गर्छ ? त्यसले नेपाली नयाँ जनवादी क्रान्तिलाई कसरी सघाउ पु¥याउन सक्छ ?

संसदवादी दलहरुको मुख्य कार्यनीति नै संसदीय निर्वाचन हो र सबैखाले हत्कण्डा अपनाएर त्यसमा आफ्नो वर्चस्व कायम गर्नु हो । अहिले संविधान संशोधन र निर्वाचनको विषयलाई लिएर उनीहरुका विषयमा केही अन्तरविरोध चर्किएको जस्तो पनि देखिएको छ । तर त्यो अस्थायी हो । अहिले विद्यमान अवस्थालाई हेर्दा तत्काल र निकट भविष्यमा कुनै पनि खालको निर्वाचन हुने सम्भावना क्षीण नै देखिन्छ । तर हाम्रो पार्टीले संसदीय निर्वाचन, जसमा स्थानीय तहको समेत पर्दछ, –लाई कार्यनीतिक विषयका रुपमा लिएको छ । यदि निर्वाचन घोषणा भएर हुने अवस्था आएमा पार्टीले तात्कालिक अवस्थाको मूल्यांकन गरेर त्यसलाई उपयोग वा बहिष्कार गर्ने बारेमा निर्णय गर्नेछ । उपयोग वा बहिष्कार जे गरे पनि पार्टी र क्रान्तिको हितमा हुने वा बनाउने उद्देश्यसाथ हुनेछ ।

अन्तमा, छुटेका केही विषयवस्तु छन् भने राखिदिनुस् न ।

अधिकांश विषयवस्तुहरु यस अगाडि तपाईंले सोधेका प्रश्नहरुमा नै समेटिएका छन् । तथापि एउटा कुरा के भन्न चाहन्छु भने अहिले राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि गम्भीर खतरा आइलागेको छ । त्यसैगरी भ्रष्टाचार संस्थागत नै भएको छ । यस अवस्थामा सम्पूर्ण सच्चा देशभक्त, जनतान्त्रिक, प्रगतिशिल, अग्रगामी र क्रान्तिकारी शक्तिहरु र जनसमुदायहरु एकजुट भएर राष्ट्रघाती, जनघाती र भ्रष्टाचारी तत्वहरुका विरुद्ध संघर्षमा जुट्न आव्हान गर्न चाहन्छु ।