सन्तानका लागि अस्पताल पुगेकामाथि आयो अर्कै बित्यास

प्रकाशित मिति : २०७३ पुष १८

आम्सटर्डम । नेदरल्याण्डमा एक आईभीएफ सेन्टरले उपचारका लागि आएका २६ जना महिला अर्कै पुरुषको शुक्राणुले गर्भवती भएको हुनसक्ने जनाएको छ ।

युट्रेच युनिभर्सिटी मेडिकल सेन्टरले सन् २०१५ देखि नोभेम्बर २०१६ को बीचमा भएको प्रक्रियात्मक गडबढीका कारण यस्तो भएको जनाएको छ ।

सेन्टरमा आएका २६ दम्तत्तिले उपचार गराएकोमा आधाभन्दा बढी जोडीमा गर्भधारण भएको र कतिपयको बच्चा समेत भइसकेका छन् ।

सेन्टरले उपचारमा आएकाहरुलाई यसको जानकारी गराइसकिएको बताएको छ । सेन्टरले जारी गरेको विज्ञप्तिमा भनएको छ, ‘यूएमसीको बोर्ड ती दम्पत्तिसँग माफी माग्दछ कि हामीले उनीहरुलाई यस्तो खबर दिनुपरेको छ ।’

‘गर्भधारणका क्रममा २६ अन्य जोडीको अण्डको मिलन, उपचार गरिएका अर्को दम्पतिको शुक्राणुबाट भयो । यसकारण बाबु बन्न चाहेको पुरुषको शुक्राणुबाट श्रीमती गर्भवती नभएर अन्य कुनै पुरुषको शुक्राणबाट गर्भधारण भएको हुनसक्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यद्यपि मेडिकल सेन्टरले यो गल्तीको सम्भावना कम भएपनि यसलाई अस्वीकार गर्न नसकिने उल्लेख गरेको छ । सन् २०१२ मा सिंगापुरमा एक महिलाले एक क्लिनिकमा उनका पतिको शुक्राणुमा अपरिचित व्यत्तिको शुक्राणु मिसाइदिएको भन्दै मुद्दा दर्ता गराएकी थिइन् ।

चिनियाँ मूलकी ती महिला आफ्नो बच्चाको छाला र कपालको रंग आफ्ना कोकेशियन मूलका पतिको भन्दा फरक भएपछि अचम्ममा परेकी थिइन् ।