‘जंक–साहित्य’ र यसका प्रवृत्ति

प्रकाशित मिति : २०७३ पुष १६

- प्रा.डा. जगदीश चन्द्र भण्डारी

त्रकारिताका क्षेत्रमा जस्तै साहित्यका क्षेत्रमा पनि ‘जंक (Junk) साहित्य’ले दरिलो प्रभाव पार्न थालेको छ । खासगरी नेपाली समाजको वास्तविकतालाई भन्दा वास्तविकताको विरुपीकरणमा आफ्नो स्वार्थ पुरा भएको देख्ने समूह÷जमात÷जत्थाले साहित्यलाई आफ्नो कब्जामा राख्ने र परिवर्तनका निम्ति गरिने मानवीय संघर्ष, प्रयत्न र कोसिसलाई निस्तेज गर्नमा उत्साहित बनेको छ ।

यसले मानिसभित्रको कलाचेतना, कलाबोध र कलारुचिलाई मार्नका निम्ति बासी खुराक (Junk Food) झै अर्थात् पुँजीवादी–उपभोक्तावादी बजारमुखी आवरणबाट अन्तर्य ढाकी जनतालाई मूर्ख बनाउने सामग्री पस्कने काम गर्दछ । जीवनको सत्य र यथार्थभन्दा पर अवास्तविक र अतिकाल्पनिक तत्वको योगद्वारा साहित्य निर्माण गरी साहित्यको सौन्दर्यात्मक तथा विचारात्मक मूल्यलाई समाप्त पार्ने कुटिल चाल चलेको पाइन्छ । उत्पीडित मानिसहरुप्रति प्रेम, उनीहरुको महानतम संघर्ष, बलिदान र त्यागलाई न्यूनीकरण गर्ने र मानवविरोधी चिन्तन र सम्बन्धलाई प्रोत्साहित गर्ने जस्ता अभिलक्षण जंक साहित्यमा पाइन्छ ।

आफू बाँचेको समयलाई बुझ्ने कुरामा भन्दा त्यसबाट परतिर लग्ने र यथार्थबोधबाट हटाउने त्यस किसिमको बासी÷फोहर साहित्यलाई खासगरी ठुला संचार माध्यमले प्रोत्साहन गर्दै आएका छन् । ती भाषिक र विद्युतीय संचार माध्यम साम्राज्यवाद र विस्तारवादकै महत्वपूर्ण साधन हुन् र तिनीहरु जंक साहित्य र साहित्यकार दुवैको मुख्य आधार बनेका छन् ।

वास्तवमा आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका समग्र महान् प्रयत्न र उदात्त आदर्शका विरोधीहरु नै आजका जंक साहित्यकार हुन् । र, तिनले लेख्ने साहित्य नै जंक साहित्य (Junk Literature) हो । परिवर्तन र अग्रगमनका मानवीय तथा ऐतिहासिक संघर्षको निरन्तरता र सर्वहारा वर्गीय प्रेम र उदात्ततालाई नकारी मानिसलाई दयनीय तथा पराश्रयी बनाउने तर्फ नै जंक साहित्यकारहरु लागेका छन् । मानिसलाई सौन्दर्यात्मक तथा विचारधारात्मक मूल्यबाट तिरस्कृत गरी खोक्रो सामग्री वा वस्तुमा रुपान्तर गर्ने दुराशयका साथ जंक साहित्यकार अगाडि बढेका छन् । मानवीय क्षमतालाई ह्रास गर्ने मात्र होइन, त्यसको निषेध गरी मानिसलाई इतिहासको गतिमा अप्रासाङ्गिक बनाई कर्ताको स्तरबाट समाप्त पार्ने कुनियत तिनमा भरिएको छ । तिनीहरुबाट मानिसको व्यक्तित्वलाई समाप्त पार्ने काम सूक्ष्म एवम् निम्नस्तरमा भएका छन् । मानवीय विशिष्टतालाई समाप्त पारी निर्जीव बनाउने अभिष्ट लिई जंक साहित्यकारहरु साहित्यका मैदानमा ओर्लिएका छन् । आजभोलि सर्वहारा र उत्पीडित वर्गका संघर्षात्मक भूमिकाका कुरा भन्दा आभिजात्य र उदारवर्गका पक्षमा बढी लेखिन थालेका छन् । सर्वहारा वर्गीय मानवतालाई अकिंचन र क्षुद्रताका रुपमा परिभाषित गर्ने साहित्य नै ‘जंक साहित्य’ बनेको छ । यसमा रहेका यथार्थताको अभाव, मानवीय पतनको प्रचूरता, सामूहिक जीवनको न्यूनता, आदर्श भावको निषेधजस्ता वैशिष्ट्य नै तिनका सबल पक्ष बनेका छन् । साम्राज्यवादी र प्रभुत्ववादी नृशंसता र बर्बरतालाई नदेख्ने साहित्यकारको समूहसँग साम्राज्यवादी एवम् विस्तारवादी परस्त पत्रकार र पत्रकारिता जगतको घनिष्ठतम सम्बन्ध गाँसिएको छ ।

आर्थिक, सामाजिक अवस्थाजन्य भीषण पीडा र त्रासदीलाई आफ्ना रचनाको कथ्य नबनाउने त्यस्ता साहित्यकारका ती रचना प्रकाशित, प्रशंसित र पुरस्कृत गर्नका लागि एउटा जत्था लागिपरेको छ । त्यो जत्था त्यसै वर्गसँग सम्बन्धित छ । युगको ऐतिहासिक विशिष्टतालाई नकारी मानवीय सम्बन्धका बारेमा पर्यवेक्षण नगरी आत्मगत रुपमा रचनात्मक तत्व कल्पित गर्नेहरुबाट वास्तविक साहित्यको सिर्जना नहुने निश्चितै छ ।

साहित्यको सोद्देश्यतालाई नमानेजस्तो गर्ने र तटस्थता देखाउने जस्तो पाखण्डीपूर्ण कथन र व्यवहारमा तिनका प्रवृत्ति बढी मुखरित हुन्छन् । वास्तविक वर्ग–समाजको संवेदना, सौन्दर्यात्मक मूल्य र अर्थवक्ताको जीवन्त सम्बन्धमा भ्रम छर्ने र अन्ततः कला निषेध गर्ने साम्राज्यवाद र विस्तारवादका चाकर परजीविहरु नै साहित्यका शत्रु हुन् । जीवनको उदात्तताको पक्षलाई विस्मृत गराउन खोज्ने पुँजीवादी तथा नवसंशोधनवादी तत्व दुवै थरी साहित्य र कलाका विरोधी हुन् । यी दुवैको स्पष्ट लक्ष्य भनेको सर्वहारावादी विचारधारा, जीवन मूल्य र सौन्दर्यलाई नष्ट गर्नु हो । साहित्यको मूल्यवक्तालाई र मानवीय संघर्षलाई समाप्त नपार्दासम्म तिनको लक्ष्य पुरा नहुने हुँदा वास्तविक साहित्य नामेट गर्न संलग्न भएका छन् ।

साहित्य वा कलाको संघर्षधर्मी एवम् परिवर्तनकामी सौन्दर्यात्मक उद्देश्यलाई क्षति पु¥याउन जंक साहित्यकार तथा तिनीहरुलाई स्थापित गर्ने तत्व नेपाली सर्वहारावर्गका दुश्मन हुन् । ती याथार्थको गतिशिलता, संघर्षपूर्ण रुपात्मकता र अन्तरविरोधपूर्ण प्रवृत्तिलाई बुझ्न चाहँदैनन् । यथार्थमा सैद्धान्तिक, विचारधारात्मक र सौन्दर्यात्मक मूल्यलाई हटाएर यथास्थितियुक्त, पतनशील, विरुप–घृणास्पद स्वरुपमा उभ्याई यथार्थको विरोध गर्छन् । वास्तविक जीवन र त्यसबाट मुक्तिका निम्ति गरिने महान् संघर्षका विरोधी रहेकाहरुले जंक साहित्य लेखेका छन् र तिनीहरु मूलतः साहित्य कलाका विरोधी त हुँदै हुन्, सँगसँगै साम्राज्यवाद, विस्तारवादका साथै पुँजीवादी–संशोधनवादी परस्त तत्वका भृत्य पनि हुन् ।

यसका मूल अभिलक्षण, विशेषता र प्रवृत्ति निम्न रहेका छन् :
१. यथास्थितिवादलाई आफ्ना रचनामा भित्र्याउने साहित्यिक प्रवृत्ति हो ।
२. यसले कला साहित्यको उद्देश्यविहीनतामा जोड दिन्छ ।
३. यो सौन्दर्यात्मक आवश्यकताको पूर्तिको विरोधी छ ।
४. यो मानिसको सिर्जनात्मक क्षमताको विरोधी हुनुका साथै रचनात्मक प्रयोजनविरुद्ध रहेको छ ।
५. यसले मानवीय संघर्षको निरन्तरतालाई नकार्छ ।
६. यसले साम्राज्यवाद र विस्तारवादको पक्षपोषण गर्दछ ।
७. यो मानिसको सिर्जनशिल क्षमताका विरुद्ध उभिन्छ ।
८. यो सर्वहारा तथा उत्पीडित वर्गका ऐतिहासिक संघर्ष, त्याग र बलिदानका विपरीत ध्रुवमा रहेको छ ।
९. यसले जनयुद्ध तथा वर्गसंघर्षका प्राप्ति र मूल्यलाई नकार्छ ।
१०. साहित्यको विशिष्ट क्षमता र प्रकृतिका विरुद्धमा उभिई वास्तविक साहित्यको निषेध गर्दछ ।
११. मानिसका आकांक्षा र संघर्षका प्रतिबिम्बका रुपमा साहित्यलाई नहेरी वस्तुका रुपमा हेर्दछ ।
१२. यो साहित्यमा रहेको कलात्मक, विचारधारात्मक तथा संज्ञानात्मक मूल्यको विरोधी हो ।
१३. यो साम्राज्यवाद तथा विस्तारवादपरस्त तत्वद्वारा पालित पोषित छ ।
१४. यसले नयाँ, मुक्त र सुखी समाज निर्माणमा जोड दिनुभन्दा भ्रष्ट, पतनशिल, अराजक एवम् मानव मूल्यहीन समाज निर्माणमा जोड दिन्छ ।
१५. यसका आत्मा तत्व अर्थात् वैचारिक आधार भनेका साम्राज्यवाद, विस्तारवाद तथा दलाल पुँजीवाद, संशोधनवाद, नवसंशोधनवाद र संसदवाद हुन् ।
१६. दलाल वर्गको व्यापारिक उत्पादनका रुपमा जंक साहित्यको विकास र विस्तार हुँदै आएको छ ।
१७. मानिसभित्र विकसित हुँदै आएका कलाचेत, कलाबोध, र कलारुचि मार्न जोडतोडसँग लागेको छ ।
१८. यो सौन्दर्य मूल्यविरोधी छ । र, मानवविरोधी एवम् इतिहासविरोधी पनि रहेको छ ।
१९. कथित ठूला सञ्चारमाध्यम जंक साहित्य र तिनका प्राविधिक स्रष्टाका पक्षमा उभिएका छन् ।
२०. यो मूलतः उत्तर–आधुनिक, उत्तर–माक्र्सवाद र नवमाक्र्सवादसँग सम्बन्धित छ ।