झर्रोटर्रो : ‘हैसियत’

प्रकाशित मिति : २०७३ पुष १६

- कैलुब्राह

‘पैला युद्ध कमाण्डरको हैसियतले, पछि युद्ध सेलाउन हस्ताक्षरकर्ता खलनायकको हैसियतले, जनविरोधी संविधानमा ल्याप्चे लाउनेको हैसियतले र अहिले नवदलालको पदमा आसिनको हैसियतले मैले मेरो कुर्ची ढल्ने र हामी सबैलाई अपराधी घोषित गरेर ठेँडुकोमा कोच्ने अवस्था आउने खतरा देखिरहेको छु ।’

नेपाल मण्डलका प्रधानमन्त्री एवम् माकेका सुप्रिमो आफ्नो हैसियत प्रयोग गर्न अत्यन्तै सिपालु छन् । सिपालु मात्र होइन, उनी आफ्नो हैसियत प्रयोग गर्दा अत्यन्तै गौरवान्वित पनि हुन्छन् । हैसियत प्रयोग गर्ने मामिलामा उनको नाउँ गिनिज बुकको रेकर्डमा चढाउन ढिला भएको कैलुब्राहको ठहर छ । अब उनको नाम पनि बदलेर कम रेड हैसियत राख्नु पर्छ भन्ने पनि दाबी छ । सबैभन्दा बढि हैसियतको प्रयोग उनले सार्वजनिक भाषणमा गर्छन् । त्यसपछि दुईपक्षीय, त्रीपक्षय बात मार्दा होस् अथवा बैठकमा बोल्दा होस् हैसियत प्रयोग गर्न किञ्चित चुक्दैनन् । त्यसैगरी बस्दा–उठ्दा, खाँदा–पिउँदा, सुत्दा–उठ्दा, हिँड्दा–डुल्दा, भोज–भतेर, राम–रमाइलोमा पनि उनले आफ्नो हैसियत प्रयोग गर्न भुल्दैनन् । विदेश भ्रमणमा जाँदा–आउँदा एयरपोर्टमा होस् अथवा विदेशमा महामहिमहरूसँगको भेटवार्तामा होस् आफ्नो हैसियत प्रयोग गरिहाल्छन् । जनयुद्धकालमा त उनी पाइखाना जाँदा पनि हेडक्वार्टरको हैसियतमा जान्थे । त्यतिखेर एचक्युलाई भेट्न आएका नेता कार्यकर्तालाई उनका आगेपिछे लाग्ने जमुसेहरूले एचक्यु ऐले ट्वाइलेट जानुभा’छ भन्थे । हैसियत प्रयोग गर्नु उनको कुलधर्म, दैनिक कर्म र अन्तरमनको मर्म हो । हैसियत उनको खानदानी हो ।

हैसियत बिना उनी जिउन पनि सक्दैनन् । स्वास फेर्दा पनि देश र जनताका निम्ति बाँच्नुको हैसियतले स्वास फेर्छन् । भर्खरै मात्र उनले आफ्नो आधा दर्जन हैसियत प्रयोग गरेर भाषण ठोके । ट्रक डाइभरको पेशा छाडी माउवादी बनेर जनयुद्धमा सहयोग गरेका, दोस्रो लटमा समानुपातिकमा परेका र भर्खरै ‘यमराज’को घरतिर डेरा सरेका, कम रेड चाचाको किताब आफ्ना कार्यकर्ताहरूलाई सिरानी हाल्नका लागि गणेशापर्ण गर्ने कार्यक्रममा आफ्ना बहुरङ्गी हैसियत प्रयोग गर्दै भाषण ठोके । आपूmले सुप्रिमोको पद अँठ्याएको अँठ्याई गरेकाले ठुस्किएर हिँडेका जेएनयुका डाक्टरलाई फकाउन भाषण ठोके । भाषण यस्तो थियो ‘पैला युद्ध कमाण्डरको हैसियतले, पछि युद्ध सेलाउन हस्ताक्षरकर्ता खलनायकको हैसियतले, जनविरोधी संविधानमा ल्याप्चे लाउनेको हैसियतले र अहिले नवदलालको पदमा आसिनको हैसियतले मैले मेरो कुर्ची ढल्ने र हामी सबैलाई अपराधी घोषित गरेर ठेँडुकोमा कोच्ने अवस्था आउने खतरा देखिरहेको छु । यस्तो बेला मलाई यो बाटो देखाउने र ऐले मैले पकडेको विचारको गाइड गर्ने डाक्साबलाई ठण्डा दिमागले सोचेर पुरानो घर फर्किन विशेष आग्रह गर्चु ।’

हैसियत प्रयोग गर्ने उनको गजबको विशेषता छ । जस्तो परिवेश छ त्यस्तै अवस्थामा, जस्तो ठाउँ छ त्यस्तै परिस्थितिमा, जस्तो सन्दर्भ छ त्यस्तै रूपमा, जस्तो भाका छ त्यस्तै गीतमा, जस्तो बाजा छ त्यस्तै तालमा र जस्तो मौसम छ त्यस्तै बान्कीमा उनले हैसियत प्रयोग गर्छन् । गाउँघरमा बुढापाका भन्थे ‘देश अनुसारको भेष, कपाल अनुसारको केश ।’ यो उखानलाई उनले दृढतापूर्वक कृयान्वयन गर्छन् । हैसियत प्रयोग गर्ने मामिलामा उनी निकै सचेत र कुसाग्र छन् । कुनै पनि औपचारिक या अनौपचारिक सभासमारोह वा भेटघाटमा हैसियत प्रयोग गरेनन् भने नुन नभएको तरकारी जस्तो ठान्छन् उनी ।

गएको हप्ता उनी जनयुद्धको उद्गम थलोमा पुगे । जनयुद्धको साङ्ग्यता गर्न महापुराण लगाएको चुनवाङको घरमा पुगेर भाषण ठोके । त्यतिबेला आपूmले हेडक्वार्टरको हैसियतले प्रयोग गरेको घरमा राखिएको पार्टीसभामा चुनवाङी बबुरा मनुवाहरूलाई सम्वोधन गर्दै उनले भने ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको, जनताले चुनेको, पहिलो प्रधानमन्त्रीको हैसियतले र अहिले संविधान लेखिसकेपछि दोस्रो पटक फेरि ‘प्रभु’को आशिर्वादले बनेकोे प्रधानमन्त्रीको हैसियतले तपाइँहरूका अगाडि उभिएको छु । मलाई यो पद र हैसियतमा पु¥याउने तपाइँ सबै मनुवाहरू, म बसेको यो घर र महापुराण लाएको यो घर जहाँको तहीँ र जस्ताको त्यस्तै रच । म कहाँबाट कहाँ पुगिसकें । मेरो वर्ग यो जीर्ण घरबाट बालुवाटार र सिंहदरबारमा पुगिसक्यो तर यो ठाउँ, यहाँका घर र मनुवाहरू जस्ताको त्यस्तै अवस्थामा रहनुले मलाई …. (हिँहिँहिँहिँ सुँक्क सुँक्क स्व¥याक्क ख्याक्क) म अलि भावुक भएको हैसियतले यो सबै ऐतिहासिक र विशेष महत्वको छ भन्ने म ठान्चु ।’

बोल्दाबोल्दै उनी निकै भावुक भए । भावुक हुने पनि उनको पुरानो र स्थापित विशेषता हो । यो उनको खानदानी हैसियत पनि हो । गरीव र बबुरा मनुवा देख्यो कि उनी भावुक भैहाल्छन् । बैठकमा कसैले भावुक कुरा ग¥यो कि भावुक भएर डाँको छोडिहाल्छन् । चुनवाङी बैठकका बेलामा भावुक भएर हलमै रुवावासी गरेको घटना सम्झँदै अगाडि भने ‘त्यो बैठकमा सहभागी भएका टीमका महत्वपूर्ण….(हिँहिँहिँहिँ) फेरि भावुक भएँ म, साथीहरू ऐले यहीँ छौँ । त्यो बेलाका लिनप्याओवादी पनि यहिँ हुनुहुन्च । भारत परस्त डाक्साब मलाई छोडेर हिँडे पनि त्यो बेला हाम्रो पार्टीमा नभएका तर हामीले नै खर्चपर्च दिएर पालेका र ऐले हाम्रै पार्टीका हेडक्वार्टर टीमका कम रेड काजीसाप पनि यहीँ हुनुहुन्च । यो क्षण ऐतिहासिक पुनर्मिलन जस्तो भएको छ ।’

उक्त कार्यकर्ता सभाका अवसरमा प्रधानमन्त्रीको हैसियतले गुरिल्ला ट्रेल र युद्ध सङ्ग्राहलयको उद्घाटन पनि गरे । उद्घाटन मन्तव्य दिँदै भने ‘यहाँका घरहरू र बाटाघाटा जस्ताको त्यस्तै रहनु पनि गौरवको कुरा हो । यसले हामीलाई युगयुगसम्म जनयुद्धको महत्व झल्काइरहन्च । यसलाई यस्तै राख्नु पर्च । जनताको जीवनस्तर पनि यथावतै राख्नु पर्च । त्यसले विदेशी पर्यटकहरूलाई जनयुद्धमा लड्ने र सहयोग गर्ने मनुवा कस्ता रचन भनेर देखाउन हुन्च । त्यसैले पहिला यहिँबाट चुनाव जितेर गणतन्त्रको पहिलो प्रधानमन्त्रीको हैसियतमा र अहिले दोस्रोपटक प्रधानमन्त्रीको हैसियतमा पुग्दा पनि मैले यहाँका लागि कुनै बजेट सजेटको व्यवस्था नगरेको हुँ । यहीँबाट अनन्त अर्थमन्त्री हुँदा र ऐले महरा अर्थमन्त्री हुँदा पनि विकासका बारेमा खासै चासो नदिनुको अर्थ युद्ध पर्यटनका लागि जेजस्तो अवस्था छ त्यस्तै अवस्थामा राख्नु पर्च भन्ने हाम्रो पार्टी र सरकार प्रमुखको हैसियतले भन्न चाहन्चु । हामीसँग सङ्ग्राहलयमा राख्नका लागि युद्धका कुनै पनि सामग्री त छैनन् । हतियार पनि पुरानो सत्तालाई बुझाएर जमुसे विघटन भएको पनि बर्सै वित्यो । युद्धकालीन उद्योगधन्दाका सामग्रीहरू पनि कता हराए, सेलाए र नष्ट भैसके । जनयुद्धका बेलाका जनसत्ता, जनअदालत आदि इत्यादिका सबै अवशेष नष्ट भैसकेका छन् । तिनलाई जिवितै राखेको भए ऐले हामीले प्राप्त गरेको यो हैसियत प्राप्त हुने नै थिएन । तसर्थ सङ्ग्राहलयमा राख्नका लागि यहाँको जनजिवन र घरगोठ यथावतै राख्नु पर्च भन्ने युद्धको नेतृत्व गरेको हैसियतले मेरो निर्देशन छ । यहाँका नेताहरूले उपराष्ट्रपति, सभामुख, उपप्रधानमन्त्री जस्ता पद पाइसकेका छन् । मन्त्री त कैल्यै खाली हुँदैनन् । यहाँका मनुवाहरूका लागि यो भन्दा अवसर अरू के चाहियो ? यति भन्दै आजको प्रमुख अतिथिको हैसियतले मन्तव्य यहीँ टुङ्ग्याउँचु ।’

१२ पुस २०७३

[email protected]