माक्र्सवाद सिक्ने सम्बन्धमा केही समस्या

प्रकाशित मिति : २०७३ पुस १६

- कृष्णदास श्रेष्ठ

म्युनिस्ट भन्नाले सामान्यतः त्यस्तो व्यक्तिलाई जनाउँछ, जसले समाजको क्रान्तिकारी रुपान्तरण र श्रमिक जनताको मुक्ति हासिल गर्ने सङ्घर्षमा सहभागी बन्न आफूलाई कम्युनिस्ट पङ्क्तिमा सामेल गराएको हुन्छ । कम्युनिस्ट पार्टीको सदस्यको नाताले उसको एउटा कर्तव्य रहन्छ – आफ्नो सैद्धान्तिक स्तर, माक्र्सवादी समझदारीलाई माथि उठाउनु र आफ्ना व्यावहारिक क्रियाकलापमा सो सिद्धान्तबाट निर्देशित रहन प्रयास गर्नु । सो कर्तव्यप्रति सचेत रहेर त्यसलाई पूरा गर्नु उसको राजनीतिक क्रियाकलापको एउटा अभिन्न हिस्सा रहन्छ र रहनुपर्छ । खास रुपले कम्युनिस्टको लागि यो काम गर्नु जरुरी हुन्छ, किनभने माक्र्सवादले उसलाई उसको चिन्तनशक्ति बढाउने र अनुसन्धान गर्ने एउटा निकै प्रभावकारी तरिका प्रदान गर्छ, यसले गर्दा उसले यथार्थतालाई ठीकसित बुझ्न र व्यावहारिक जीवनमा उत्पन्न हुने समस्याको उचित समाधान निकाल्न सक्नेछ ।

माक्र्सवाद अध्ययन गर्नु र सिक्नुको वास्तविक उद्देश्य उपरोक्त कामको लागि आफूलाई बढी योग्य र सक्षम बनाउनु हो । ज्ञान प्राप्त गर्नुको अर्थ मात्र ज्ञानको लागि होइन र यो कुनै साध्य होइन, बरु कुनै खास उद्देश्यका लागि साधन हो । माक्र्सवादको अध्ययनको वास्तविक उद्देश्य वस्तुगत यथार्थतालाई बुझ्ने र जीवन र व्यवहारमा आइपर्ने समस्यालाई हल गर्नु हो । माक्र्सवाद सिक्ने कुरा सङ्घर्षसित अभिन्न रुपले जोडिएको कुरा हो । साँचो भन्ने हो भने यो सिक्ने कुरा आफै विरुद्ध अर्थात् आफूमा भएका गलत विचार तथा प्रवृत्तिहरूको विरुद्ध र कमीकमजोरीहरूको विरुद्ध जुध्नु हो, क्रान्तिकारी हैसियतले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका लागि सङ्घर्ष गर्नु हो । कुन तथ्यलाई विर्सनु हुन्न भने माक्र्सवादको वास्तविक सारतत्व भनेको त्यसको सिर्जनात्मकता हो र त्यसको सिर्जनात्मक प्रयोगमा नै त्यसको जीवन्तता र सार्थकता रहेको छ । तसर्थ, आफ्नो समझशक्ति, क्रान्तिकारी भावना र सिर्जनात्मक पहलकदमीको वृद्धि गर्नु नै माक्र्सवाद सिक्नुको लक्ष्य हो र हुनुपर्छ ।

हामीलाई माक्र्सवाद चाहिएको कारण त्यसको सिर्जनात्मक प्रयोगको लागि हो । यसबारे स्टालिनले “रूसी कम्युनिस्ट पार्टीका सङ्गठनकर्ता र नेताको रुपमा लेनिन” शीर्षकको आफ्नो लेखमा भनेका छन् ः सिर्जनात्मक माक्र्सवादले “परिस्थितिसित राम्ररी मिल्दोगरी माक्र्सवादलाई सिद्ध गर्ने तरिका र उपायहरू निर्धारित गर्नमा र सो परिस्थिति फेरिंदा उक्त तरिका र उपायलाई फेर्नमा आफ्नो ध्यान केन्द्रित गर्छ । त्यसले ऐतिहासिक एकरुपता (Analogies) र समानान्तरहरूबाट होइन, बरु वरिपरिका अवस्थाहरूको अध्ययनबाट आफ्ना दिशा र निर्देश प्राप्त गर्छ । त्यसले उद्वत उक्ति र सूत्रहरूमाथि होइन, बरु व्यावहारिक अनुभवहरूमाथि आफ्ना क्रियाकलापहरूलाई निर्धारित गर्दछ र अनुभवद्वारा प्रत्येक पाइलाको परीक्षण गर्छ, आफ्ना गल्तीहरूबाट सिक्छ र अरुलाई नयाँ जीवनको निर्माण गर्न सिकाउँछ ।”

उपरोक्त भनाइमा माक्र्सवाद सिक्नाको आवश्यकता र उद्देश्यलाई स्पष्टसित दर्शाइएको छ । माक्र्सवाद सिक्नु भनेको त्यसका सूत्रहरूलाई कण्ठस्थ पार्ने र त्यसलाई मन्त्र जपेजस्तो जप्नु होइन, बरु त्यसको आधारभूत दृष्टिकोण र भावनालाई ग्रहण गर्नु हो । माक्र्सवादको अध्ययन गर्नेले उक्त ग्रहण गर्ने काम कुन हदसम्म र कति मात्रामा गरेको छ भन्ने कुरा सामाजिक–राजनीतिक परिघटनाहरूलाई हेर्ने, बुझ्ने र व्यवहारमा उत्पन्न समस्याको समाधानको उपाय निकाल्ने सम्बन्धमा उसले त्यसको प्रयोग कसरी गर्छ भन्नेमा निर्भर गर्दछ । उसले कतिसम्म माक्र्सवादी ज्ञान हासिल गरेको छ भन्ने कुरा उसले गर्ने प्रयोगको परिणाममा गएर अभिव्यक्त हुन्छ । माक्र्सवाद सिक्नाको एउटा प्रमुख उद्देश्य आफ्ना गलत गैरसर्वहारा चिन्तनमा क्रान्तिकारी परिवर्तन हो, वैचारिक रुपान्तरण हो र सो रुपान्तरणले प्रयोगको परिणाममा गएर आफूलाई अभिव्यक्त गर्छ । सच्चा कम्युनिस्टका लागि वैचारिक रुपान्तरण एउटा आवश्यकता हो र अहिले कम्युनिस्ट पङ्क्तिमा पाइएको माक्र्सवादी समझदारीको जुन कमी छ, त्यो संशोधनवादी तथा अवसरवादी विचारहरूको तागतको स्रोत र आधार हो ।

कम्युनिस्ट पङ्क्तिमा सामेल भएकाहरूका बीच माक्र्सवाद सिक्नुपर्छ, त्यसको अध्ययन गर्नुपर्छ भन्नेमा दुइमत सायदै पाइएला । सबैजसोले भन्ने गरेको हामी सुन्छौं – विचारप्रधान हो, मुख्य कुरा हो । तर सामान्य रुपमा एउटा कुन तथ्य देख्छौं भने सिद्धान्त जान्नुपर्छ भन्ने कुरा एउटा अर्थहीन वाक्य वा लोकाचारी थेगो मात्र बनिरहेको छ र धेरैजसोले यो सिक्ने कुरालाई आफ्नो राजनीतिक जीवनको एक अभिन्न हिस्साको रुपमा लिएको पाईँदैन । हाम्रो कम्युनिष्ट पङ्क्तिमा सिद्धान्तप्रति उदासीनता र व्यवहारवादी दृष्टिकोणको प्रभाव व्यापक रहेको सत्य हो ।

सिद्धान्त सिक्ने सर्वोत्तम तरिका स्वअध्ययन (Self-Study) हो, आफैले माक्र्सवादी पुस्तकहरूको अध्ययन गर्नु हो । सिद्धान्तबारे कसैले भनेको–सुनेको आधारमा त्यसबारे व्यवस्थित ज्ञान हासिल गर्न सकिंदैन । त्यसबाट केही टुक्राटुक्री ज्ञान पाउन सकिएला वा सकारात्मक रुपमा लिंदा त्यसबाट अध्ययनको लागि केही प्रेरणा प्राप्त हुनसक्ला । कुन तथ्यलाई ध्यानमा राख्नुपर्छ भने माक्र्सवादको आधारमा वैचारिक रुपान्तरण भनेको एउटा निकै गम्भीर कार्य हो तर त्यो एक धेरथोर लामो प्रक्रिया पनि हो र त्यसैले त्यसमा धैर्य र लगनका साथ समय र प्रयत्न खर्चनु जरुरी हुन्छ । त्यसरी प्रयत्न नगरेर वा प्रयत्न गर्दा अल्छी मानेर मात्र टुक्राटुक्री जानकारी वा सतही ज्ञानमा सन्तुष्ट रहनु वा त्यसलाई नै पर्याप्त ठान्नु अनुचित मात्र होइन, बेफाइदाजनक पनि हुनसक्छ । जस्तो कि एउटा सामान्य भनाइ छ – “अल्पज्ञान एउटा खतरनाक कुरा हो ।” फेरि “सैद्धान्तिक प्रशिक्षण कक्षमा सहभागिताबाट पनि शिक्षार्थीले पोख्त ज्ञान प्राप्त गर्न सक्छ भन्ने पनि होइन, त्यसबाट अध्यननका लागि केही प्रेरणा वा निर्देश र चिन्तनमा केही फराकिलोपन भने प्राप्त हुनसक्छ । सिद्धान्तमा पोख्तताको लागि स्वअध्ययनमा मुख्य जोड र प्रयत्न लगाउनु सर्वोत्तम उपाय हो ।

वर्तमान समयमा माक्र्सवादी सिद्धान्तको अध्ययन गर्न खोज्ने जोसुकैले एउटा ठूलो समस्याको सामना गर्नुपर्ने स्थिति छ । बजारमा पाइने माक्र्सवादको नाउँमा विदेशी र नेपाली भाषामा लेखिएका धेरैजसो पुस्तकहरूमा माक्र्सवादी सिद्धान्तका प्रस्थापना र अवधारणाहरूको गलत व्याख्या तथा तोडमरोड प्रचुर मात्रामा भएको छ । एकातिर कम्युनिस्ट आन्दोलनभित्रका नानाथरीका संशोधनवादी र अवसरवादीहरूको तर्फबाट माक्र्सवादबाट क्रान्तिकारी तत्वहरूलाई मेटाउन र त्यसको प्रभावकारी धारलाई भुत्ते पार्ने निरन्तर रुपबाट प्रयत्न भएर आएको छ भने अर्कोतिर माक्र्सवादको सतही ज्ञान वा अल्पज्ञान भएका स्वघोषित विद्वान, दार्शनिक वा सामाजिक वैज्ञानिकहरूद्वारा माक्र्स, लेनिन आदि र माक्र्सवाद–लेनिनवाद–माओवादको हवाला दिएर लेखिएका लेख तथा पुस्तकहरू अधिकाधिक सङ्ख्यामा बजारमा देखा परिरहेका छन् । माक्र्सवादी सिद्धान्तको सम्बन्धमा पहिलेदेखि नै चलिआएका यस्ता गलत तथा मिथ्या व्याख्या र तोडमरोडहरू अहिले यता आएर निकै सङ्ख्यामा देखिएका छन् । क्रान्तिविरोधी लेखक तथा राजनीतिक नेताहरूबाट यसप्रकारको कार्य अरु व्यवस्थित रुपबाट भइरहेको छ । यसरी यस्ता कुराहरू अहिले सामान्य भएका छन् ।

माक्र्सवादको अध्ययनमा लाग्नेले सामना गर्नुपर्ने उपरोक्त एउटा ठूलो समस्या हो । स्वाभाविक छ, त्यस्ता लेख तथा पुस्तकहरूको अध्ययनबाट माक्र्सवादसम्बन्धी सही समझदारी हासिल गर्न सकिंदैन । यस्तो गलत व्याख्या र तोडमरोडको स्थितिमा पाठकहरूको लागि सुझाउने गरिएको एउटा उपाय अग्रगन्य स्रोतहरू (First Hand Sources) बाट ज्ञान प्राप्ति हो, अर्थात माक्र्स र एङ्गेल्सका उत्कृष्ट कृतिहरूको अध्ययन गर्नु । निश्चय पनि यो सर्वोत्तम उपाय हो, तर यहाँ पनि एउटा समस्या छ । त्यो समस्या के भने उनीहरूको विश्लेषण निकै स्तरीय र जटिल खालका छन् र तिनलाई बुझ्न त्यति सजिलो छैन । यहाँ लेनिन, स्टालिन र माओ त्से तुङका र अन्य महान् चिन्तकहरूका कृतिहरूले ठूलो मद्दत गर्छन् । नेपाली पाठकहरूले नेपाली र अन्य भाषामा लेखिएका किताबहरू पढ्न हुँदैन भन्ने कुरा होइन तर जुन किताब पढे पनि तिनीहरूमा विश्लेषणात्मक र आलोचनात्मक दृष्टिकोण हुनु आवश्यक छ ।

माक्र्सवादसम्बन्धी ज्ञान हासिल गर्न चाहने जो कोहीले आफूलाई पूर्वाग्रहबाट मुक्त राख्नुपर्छ । जो व्यक्ति पूर्वाग्रहबाट ग्रसित वा निर्देशित रहन्छ, उसमा चिन्तन गर्ने क्षमताको अभाव रहन्छ, उसले वास्तविक तथ्यप्रति आवश्यक चासो लिने गर्दैन र छलफलमा उठ्ने तर्कहरूलाई वास्तविक अर्थमा बुझ्न खोज्दैन । पूर्वाग्रहमा टाँसिरहने व्यक्ति स्वतन्त्र रुपले सोच्ने क्षमताबाट वञ्चित रहेको हुन्छ । स्वतन्त्र चिन्तनको अर्थ के हो ? त्यसको वास्तविक अर्थ हो – तथ्यहरू जे जस्ता छन्, त्यसलाई त्यही रुपमा बुझ्नु, हर कुरालाई विश्लेषणात्मक र आलोचनात्मक दृष्टिले हेर्नु, तथ्यको आधारमा सत्यको खोज गर्ने प्रयत्न गर्नु र जुन ठीक छ, साँचो छ, त्यसलाई साहसका साथ आत्मसात् गर्नु । पूर्वाग्रहयुक्त सोच र व्यवहार उपरोक्त कार्यमा एउटा ठूलो अवरोध हो ।

जो व्यक्ति विज्ञान साँच्चिकै सिक्न चाहन्छ, त्यसमा एउटा गुण हुन जरुरी छ । त्यो गुण हो – सत्यप्रति इमानदारी र निष्ठा । सत्यप्रति उसले अपनाउने दृष्टिकोणले ज्ञान हासिल गर्ने सम्बन्धमा ठूलो भूमिका खेल्छ । यससम्बन्धमा एउटा प्रश्न आउँछ ः सत्यलाई आफ्नो विचारसित मिल्दो बनाउने कि आफ्नो विचारलाई सत्यसित मिल्दो बनाउने ? यस प्रश्नमा दिइने जवाफले सत्यप्रति इमानदारी वा बेइमानीले आफूलाई व्यक्त गर्छ । कसै कसैमा हामी कस्तो प्रवृत्ति पाउँछौं भने पुस्तकमा भएका कुनै धारणा वा छलफलमा व्यक्त भएका कुनै सत्य आफ्नो विचारसित (जुन वास्तवमा गलत छ) नमिल्दो भएको त्यसलाई सकार्न र ग्रहण गर्न साहस गर्दैनन् र त्यसलाई नकार्छन् । त्यो प्रवृत्ति सत्यप्रतिको इमानदारीको अभावको अभिव्यक्ति हो । एउटा बडो सारगर्भित भनाइ छ – इमानदार मानिसले सत्यसित मिल्दो बनाउन आफ्नो विचारलाई फेर्छ भने बेइमान मानिसले आफ्नो विचारसित मिल्दो बनाउन सत्यलाई फेर्छ । व्यावहारिक जीवनमा हामी कस्तो घटना देख्छौं भने सत्यप्रति इमानदार नरहेका वा सत्यलाई आत्मसात् गर्ने साहस नभएका मानिसहरू सत्यलाई आफ्नो धारणासित मिल्दो बनाउन त्यसको तोडमरोड वा गलत व्याख्या (मिथ्याकरण) गर्छन् । कम्युनिस्ट आन्दोलनभित्रका संशोधनवादी र अवसरवादीहरूको तर्फबाट त्यसप्रकारको प्रयास भइआएको हामीले देखेका छौं । तसर्थ विज्ञान (सिद्धान्त) सिक्न चाहने जोसुकैका लागि एउटा निर्देश छ ः सत्यप्रति इमानदार बन, सत्यलाई आत्मसात् गर्न साहसिलो होऊ ।

हाम्रा कम्युनिस्ट पङ्क्तिमा सामेल भएका केही कार्यकर्ताहरूमा एउटा प्रवृत्ति देखिन आएको छ । त्यो प्रवृत्ति हो आफ्ना नेताले प्रयोग गरेको कुनै वाक्यांश वा व्यक्त गरेको कुनै धारणा वा बोलेको कुरालाई थेगोको रुपमा प्रयोग गर्दै हिंड्ने प्रवृत्ति । तिनीहरूलाई त्यस्ता वाक्यांश वा धारणाको वास्तविक अर्थ थाहा भएको हुँदैन, तिनीहरू कस्तो चाहना वा आशा गर्छन् भने आफूले अर्थ न बर्थ कण्ठ पारेका त्यस्ता वाक्यांशहरू अरु सबैले दोहो¥याइदिउन्, कुरा गर्दा जसले त्यसलाई दोहो¥याउँदैन वा प्रशंसा गर्दैन, तिनलाई क्रान्तिविरोधी वा पार्टीविरोधी ठान्छन् । त्यस्ता वाक्यांश वा धारणा माक्र्सवादसम्मत छ कि छैन, कतिसम्म माक्र्सवादसम्मत छन् भन्नेतर्फ तिनीहरू सोच्दै सोच्दैनन् । बरु त्यसलाई मन्त्र जपेझैं जप्ने गर्छन् । स्पष्ट छ, त्यस्तो प्रवृत्तिले जो कोहीलाई माक्र्सवादी समझ्दारी प्राप्त गर्ने दिशामा होइन, बरु उसको चिन्तनशक्तिलाई भुत्ते पार्ने वा मुर्ख अन्धभक्त बनाउने दिशामा लैजान्छ ।

नेपाली कम्युनिस्ट पङ्क्तिहरूमाझ एउटा अर्को गलत प्रवृत्ति सामान्य रुपमा देखिन आएको छ र त्यो प्रवृत्ति हो, माक्र्सवादी सिद्धान्तबारे आफूलाई भएको सतही जानकारीमा वा नेताले भनेको दोहो¥याउनेमा सन्तुष्ट रही र त्यसलाई नै पर्याप्त ज्ञान ठानी आफूलाई सबै थाहा छ भन्ने अहङ्कार (घमण्ड) गर्ने प्रवृत्ति । यसप्रकारको आत्मसन्तुष्टि र अहङ्कार माक्र्सवाद सिक्ने सम्बन्धमा एउटा ठूलो बाधक हो । किनभने, जब कसैले आफूलाई सर्वज्ञाता ठान्छ, उसको लागि सिक्नुपर्ने जरुरत नै पर्दैन । त्यसको अर्थ के भने उसको चिन्तनको स्तर अहिले जुन ठाउँमा छ त्यसैमा सिमित रहन्छ । त्यस्तो प्रवृृत्ति माक्र्सवादी सिद्धान्तको भण्डार कति विशाल छ भन्ने तथ्यप्रति अज्ञानताको अभिव्यक्ति हो । सिद्धान्त (ज्ञान) सिक्न चाहने जोसुकैमा हुनुपर्ने एउटा गुण हो विनम्रता । आफूलाई केही थाहा नभएपनि मलाई सबै कुरा थाहा छ भनी घमण्ड गरेर हिंड्नेको उपहास गर्दै प्राचीन ग्रीसका महान् दार्शनिक शुकरातले भनेका थिए – “मलाई एउटा मात्र कुरा थाहा छ, र त्यो के भने मलाई केही पनि थाहा छैन ।” यो महान् विनम्रताको अभिव्यक्ति हो, जुन सच्चा महान् दार्शनिक तथा चिन्तकहरूमा सामान्यतः हामी देख्छौं । जस्तो कि एउटा भनाइ छ – फल दिने रुख झुक्छ । ज्ञान सिक्नेसम्बन्धमा विनम्र व्यक्ति र घमण्डीबीच ठूलो भिन्नता रहेको तथ्यलाई अझ स्पष्ट पार्ने अर्को एउटा भनाई यस्तो छ – विनम्र व्यक्तिले दशलाई एउटा बराबर बनाउँछ भने घमण्डीले एउटालाई दश बराबर बनाउँछ । भनाइको अर्थ हो, विनम्र व्यक्तिले दशओटा किताब पढेपनि एउटा पढेको बताउँछ भने घमण्डीले एउटा पढेको हुन्छ उसले दशओटा पढेको भनी धक्कु लगाउँछ । विनम्रता र घमण्ड मानिसको ज्ञानको स्तर नाप्ने एउटा मापदण्ड पनि हो । यस तथ्यलाई प्लेखानोभले निम्न रुपमा दर्शाएका छन् – “चिन्तनको इतिहासले के देखाउँछ भने शिष्यको विनम्रता प्रायः उसको प्रतिभाको अनुपातमा रहन्छ भने घमण्ड त्यसको उल्टो अनुपातमा रहन्छ ।”

जो व्यक्ति सिक्न चाहन्छ, उसले आफूमा सिक्ने योग्यताको विकास गर्नु आवश्यक छ । उसमा उक्त योग्यता कतिसम्म रहेको छ भन्ने कुरा आफूलाई ज्ञान प्रदान गर्नेप्रति उसको दृष्टिकोण र निरन्तर रुपमा र हर उपायबाट सिक्ने उसको क्षमतामा अभिव्यक्त हुन्छ । सिक्ने योग्यताको वास्तविक अर्थ के भने उसले आफ्नो जिन्दगीभर सिक्न आफूलाई सक्रिय राख्नुपर्छ, किनभने जीवनमा सिक्ने कुरा कहिल्यै सिद्धिदैन र उसले जानेको या सोचेको सँधैभरि ठीक हुन्छ भन्ने छैन । उसले विभिन्न उपायबाट सिक्नुपर्छ– शिक्षकबाट, किताबहरूबाट, जीवनबाट, आफ्ना साथीहरूबाट र साथै आफ्ना गल्तीहरूबाट पनि ।

कुनै व्यक्तिले ज्ञान प्राप्त गर्नुको उद्देश्य ज्ञानको लागि ज्ञान कदापि होइन । आफूले प्राप्त गरेको ज्ञानलाई मानिसले कुनै न कुनै रुपमा प्रयोग गर्छ । ज्ञानको उपयोग विभिन्न रुपमा र विभिन्न उद्देश्यमा हुनसक्छ र गरिएको पनि छ । माक्र्सवादसम्बन्धी ज्ञानलाई आफूलाई माक्र्सवादी ठान्ने वा घोषणा गर्नेहरूले विभिन्न रुपमा प्रयोग गरेको र गरिरहेको हामी देखिरहेका छौं । राम्रो उद्देश्यको लागि माक्र्सवादी ज्ञानको प्रयोग गर्नु भनेको त्यसको दिशानिर्देशमा लाग्नु हो । तर हाम्रो यहाँ त्यसको उपयोग गलत रुपमा सङ्कीर्ण व्यक्तिगत वा गुटगत स्वार्थमा, जनता र क्रान्तिको विपक्षमा भइरहेको तथ्य सुविदित छ । यस सम्बन्धमा शिष्यको इरादा र भावनाले प्रमुख भूमिका खेल्छ । जस्तो कि दोस्तोवस्की भन्छन् – “सबभन्दा मुख्य कुरा दिमाग होइन, बरु मुख्य कुरा त्यो हो जसले दिमागलाई निर्देशित गर्छ – नियत, दिल, सहृदयी गुणहरूको विकास ।” (फ्योदोर दोस्तोवस्की, “The Insultied and Humitiated”) एक सच्चा कम्युनिस्टले प्राप्त ज्ञानलाई निःस्वार्थ भावनाले जनता र क्रान्तिको हितमा उपयोग गर्नुपर्छ । भन्ने कुरा बताइरहनु पर्दैन । यहाँ मुख्य निर्देशक कुरा निःस्वार्थ भावना रहन्छ । आफ्नो “नर्मन बेथुनको सम्झनामा” भन्ने लेख मा माओ त्से तुङले उक्त भावनाबारे निम्न विचार व्यक्त गरेका छन् ः

“हामीले उनीबाट (नर्मन बेथुनबाट) निरपेक्ष निःस्वार्थपनको भावना सिक्नुपर्छ यो भावना भएमा जो कोही पनि जनताको निम्ति निकै उपयोगी हुनसक्छ । मानिसको क्षमता ठूलो या सानो हुनसक्छ तर यदि उनमा यो भावना छ भने उनी अघिबाटै उच्च मनधारी र शुद्ध, नैतिक सच्चरित्रवान र नीच स्वार्थभन्दा माथिको र जनताको निम्ति मूल्यवान् रहेको भन्ने हुन्छ ।”

यहाँ सिक्न चाहनेले के गर्नुपर्छ भन्ने एउटा गम्भीर प्रश्न छ । कार्यकर्ताहरूलाई सैद्धान्तिक रुपले शिक्षित बनाउन सम्बन्धित पार्टीको तर्फबाट समयसमयमा चलाउँदै आएका कार्यक्रमहरूले यसमा केही सहयोग पु¥याएका होलान् । त्यस्तै बजारमा आएका माक्र्सवादसम्बन्धी पुस्तकहरू र पत्रपत्रिकामा छापिएका लेखहरूले पाठकहरूलाई केही ज्ञान दिलाएका होलान् तर प्रश्न यस्तो रहन्छ ः माक्र्सवादी ज्ञान र समझदारी हासिल गर्न हामीले आफ्नो तर्फबाट के गर्नुपर्छ ? त्यसको जवाफ यस्तो रहन्छ ः सिद्धान्तको उचाईमाथि पुग्न प्रत्येक कमरेड आफै उकालो चढ्नुपर्छ, उसले आफैले समय र प्रयत्न लगाउनुपर्छ । यहाँ यसले गर्नुपर्ने एउटा प्रमुख काम के हो भने उसले संसारबारे, सामाजिक परिघटनाहरूबारे, वर्तमान समयका अभिभाराहरूबारे, क्रान्तिका समस्याहरूबारे आफ्ना विचार र धारणाहरूको पुनर्विचार र रुजु गर्नुपर्छ । ती कतिसम्म माक्र्सवादसम्मत् छन् ? ती सही छन् कि छैनन् ? तिनको जाँचबुझ गर्नुपर्छ र त्यसो गर्दा आफ्नो सोचमा गल्ती र कमी–कमजोरीहरू छन् भने तिनलाई हटाउन साहसका साथ अघि बढ्नुपर्छ । ज्ञानको उचाईमा पुग्ने बाटो यही हो ।