९९ वर्षमा ९ पटक विवाह गर्ने यी नायिका…

प्रकाशित मिति : २०७३ पुष ५

एजेन्सी । ५० को दशकमा चर्चित हलिउड अभिनेत्री सासा गाबोरको हृदयघातका कारण ९९ वर्षको उमेरमा निधन भयो । उनको निधनको जानकारी उनका पति फ्रेडरिक वान अनहाल्टले दिए ।

उनले करिब ७० फिल्ममा काम गरिन् । गाबोर आफ्नो अभिनय, विवाह र जीवनशैलीका कारण चर्चित भइन् । उनको जन्म हंगेरीको बुडापेस्टमा सन् १९१७ मा भएको थियो र उनी १९३६ मा मिस हंगेरीको उपाधी हासिल गर्न सफल भइन् ।

एक सैनिककी दोस्री छोरीका रुपमा जन्मिएकी गाबोर आफै चाही डाक्टर बन्न चाहन्थिन तर उनकी आमाको जिद्दीका कारण बाध्य भएर फिल्मी क्षेत्रमा आउनुपरेको थियो ।

उनले सन् १९३७ मा टर्कीका एक बुद्धिजीवी बुरहान असफसँग विवाह गरिन् । सन् १९४१ सम्म रहेको उनको यो पहिलो विवाह थियो ।

त्यसैबेला उनका आमाबुवा अलग भए र उनी आफ्नी बहिनी ईभासँग अमेरिका गइन् । उनको पहिलो विवाह २० वर्षमा र अन्तिम विवाह ७० वर्षमा भएको थियो । सन् १९५२ मा आफ्नो पहिलो फिल्म आउँदा सम्म उनले तीन विवाह गरिसकेकी थिइन्, तेस्रो पति थिए, अभिनेता जोस स्यान्डर्स ।

दोस्रो विवाह उनले होटल व्यवसायी कोनरेड हिल्टनसँग गरेकी थिइन् । सन् १९९३ मा आफ्नो आत्मकथा ‘वान लाईफ इज नट इनफ’ लेखेकी उनले ९ पटक विवाह गरिन् । आत्मकथामा उनले आफ्नो जीवनका केही महत्वपूर्ण गोप्यता पनि खोलेकी छन् । उनले १५ वर्षको उमेरमा आफ्नो कुमारित्व भंग गरेकी थिइन् ।