‘क्रान्तिकारी माओवादीमा ध्रुवीकरणको लहर बढेको छ’

प्रवक्ता, नेकपा (क्रान्तिकारी माओवादी)

प्रकाशित मिति : २०७३ पुस ४

- हरिभक्त कँडेल‘प्रतीक’

ठीक १५ महिनाअघि मात्रै आन्दोलनकारीका मागलाई बेवास्ता गर्दै जारी गरिएको संविधानले देशलाई अर्को अस्थिरताको खाल्डोमा पुर्याएको छ । तीन दलले तानाशाही रुपमा अन्य राजनीतिक दलका आवाजहरुलाई सुन्दै नसुनी जारी गरेको संविधान दोस्रो पटक संशोधन गर्न लाग्दा संविधान जारी गर्ने दलहरु नै विरुद्धमा उभिने अवस्थानको सिर्जना भएको छ । यसले संविधानको सर्वस्वीकार्यतामाथि थप प्रश्न उब्जाएको छ । यसले झण्डै ३ वर्षदेखि क्रान्तिकारी माओवादीले उठाउँदै आएको जनसंविधानको आवश्यकता झनै टड्कारो बनेको छ । यसै सेरोफेरोमा रहेर क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतिक’ सँग गरिएको कुराकानीको सारसंक्षेप :

संविधान संशोधन प्रस्तावविरुद्ध उर्लदो जनआक्रोश, सरकारको पुरानै संरचनामा चुनावको तयारी, राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरुमाथि गहिरिदो संकटलगायत राष्ट्रिय राजनीतिका पछिल्ला घटनाक्रमलाई कसरी हेरिरहनु भएको छ ? 

–संविधान संशोधन प्रस्तावमा ल्याइएका विषयहरु राष्ट्रिय आवश्यकता तथा जनचाहना विपरीत छन् । यो भारतीय विस्तारवादी शासक वर्गलाई विश्वस्त पार्दै दलाली–चाकडी गरी सत्तामा टिकीरहने कोणबाट आएको वर्तमान सत्ता गठबन्धनको प्रस्ताव हो । विस्तारवादको अझै अनुकूल बनाउने कोणबाट पनि चलखेल भइरहेका छन् । यो संविधान सारमा प्रतिक्रियावादी चरित्रको भएकोले संशोधन होइन कि यसको खारेजी गरी उत्पीडित वर्ग र समुदायको हकहितको संरक्षण गर्ने राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने अवस्थाको नयाँ ढङ्गले संविधान नलेख्दासम्म जनआक्रोश बढिरहन्छ । 

प्रायः भारतीय शासक वर्गको चाहना अनुरुप सत्ता समीकरण बन्ने, भत्कने र फेरि बन्ने हुँदै आएकोले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरु हमेशा ओझेलमा पर्ने मात्र होइन कि झन् पछि झन् सङ्कट थपिंदै आएको यथार्थता हो । यसै चपेटामा राष्ट्र र जनता घुन झैं पिसिइरहेका छन् । पुरानै संरचना वा अहिले भनिदै आएको नयाँ संरचनापछिको चुनाव भन्ने विषय सरकारमा को कसरी पुग्ने र हावी हुने होडबाजीकै खेलमा मात्र हो । त्यसमा कुनै तात्विक अन्तर छैन ।

यो केवल असफल संसदीय व्यवस्थालाई सुदृढ पार्ने र प्रतिक्रियावादी व्यवस्था टिकाउने उद्देश्यले परिचालित भएकोले यो कुनैपनि खेलले अस्थिरता र प्रतिगमनलाई नै सहयोग पु¥याइरहेको अवस्था हो । यस परिस्थितिलाई सच्चा कम्युनिस्टहरुले आत्मसात गरी क्रान्तिका मित्रशक्तिहरुलाई गोलबन्द गरी नेतृत्व गर्ने र नयाँ ढंगबाट भरपर्दो आन्दोलन उठाउन चौतर्फी पहलकदमी लिनुपर्छ । 

२५ बुँदे राष्ट्रघाती वक्तव्यपछिका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिहरुलाई चाहिं कसरी नियालीरहनु भएको छ ?

नेपाल र भारत सरकारका प्रमुखहरुको २५ बुँदे संयुक्त वक्तव्यले सन् १८१६ को सुगौली सन्धी १९५० को असमान सन्धि सम्झौता र त्यसपछि भारतसँग भएका सम्पूर्ण राष्ट्रघाती जनघाती सहमती र सम्झौताहरुलाई नवीकरण गरी नेपाल अब भारतको संरक्षित राष्ट्र बनाउने दिशामा धकेलेको छ ।

भारत यिनै राष्ट्रघाती सन्धिसम्झौतासहित २५ बुँदेलाई अधिकतम आफ्नो अनुकूलतामा प्रयोग गर्न नेपाल विरुद्ध राष्ट्रिय स्वाधीनता विरोधी गतिविधिहरु आफ्ना दलाल मार्फत् थोपर्न चाहन्छ । यसले नेपाल नवउदारवाद र नवऔपनिवेशिक अवस्थाको उत्पीडनमा धकेलिन पुगेछ । यसका विरुद्ध सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट भई सङ्घर्षलाई बुलन्द गर्नुपर्दछ । आवश्यकता परे देश जोगाउन राष्ट्रिय युद्धको सामना गर्ने सोचका साथ लाग्नुपर्दछ । 

राष्ट्रियता, जनतन्त्र र जनतन्त्रको मुद्दामा राष्ट्रिय तथा क्षेत्रीय पार्टीहरुसँग सहकार्य गर्न सकिने सम्भावना चाहिं कस्तो देख्नुहुन्छ ?

यस खालका मुद्दामा अब कम्युनिस्ट क्रान्तिकारी मात्र नभएर सबै देशभक्त र राष्ट्रवादी शक्तिहरु मिल्नसक्ने बुँदाहरुमा कार्यगत एकता गरी प्रभावकारी सङ्घर्ष उठाउन सकिन्छ । त्यसप्रकारका प्रयत्नहरुमा हाम्रो पार्टी लगातार लागिरहेको छ र अस्तिमात्र हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) नेकपा (माआवादी) र नेकपा (मसाल)ले राष्ट्रियताको मामलामा कार्यगत एकता गरी संघर्षलाई व्यवस्थित र निरन्तर रुपमा अघि बढाउने निर्णय लिइएको छ । यसका अतिरिक्त जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा अझ ठूलो घेरा बनाएर संघर्ष उठाउने छलफल पनि भएको छ । यसको प्रवल सम्भावना छ । यसबारे गम्भीर भएर लाग्न नितान्त जरुरी छ । 

पुष ७ बाट पार्टीको केन्द्रीय समितिको बैठक बस्दै हुनुहुन्छ, बैठकमा कुन कुन विषयमा छलफल हुन्छ ?

पार्टीको राष्ट्रिय सम्मेलन, अहिलेको राष्ट्रिय राजनीतिमा उठेका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु, संघर्षका कार्यक्रमहरुका साथै पार्टीका आन्तरिक कामलाई व्यवस्थित गर्ने विषयमा नै हुनेछन् । यसबारे पार्टीले निर्णय लिइसकेपछि सम्बन्धित विषयहरु सार्वजनिक गरिनेछन् ।

यो बैठकले राष्ट्रिय राजनीतिको चक्रव्यूह तोडेर अघि बढ्ने योजना ल्याउँछ ?

संसदीय आहालमा डुबेका पार्टीहरु सरकारमा कसरी पुग्ने र त्यसैमा लट्पटिएर लुट र सुविधानको निरन्तरता दिने लडाईंमै व्यस्त छन् । यसैको लागि पार्टी÷पार्टीका संघर्ष र पार्टीभित्र गुटगत संघर्ष छ्याङछयाङ्ती देखिएकै छ । यो राष्ट्रिय राजनीतिमा हावी भएको विषय हो । यसले चौतर्फी प्रदुषण छरिरहेको छ । सच्चा कम्युनिष्टहरु खस खालका प्रदुषण, क्रियाकलाप र व्यवस्थाका विरुद्ध सिद्धान्तनिष्ठ एकता गरी ध्रुवीकृत भएर जाने र अन्यले इस्युवाइज मिल्न सक्ने कुरालाई लिएर मोर्चावन्दी गर्दै निरन्तर एकल वा संयुक्त संघर्ष गर्न हामीले पहल गरिरहेका छौं । यसले अवश्य सार्थकता पाउनेछ ।

आजको धरातीय यथार्थमा उभिएर हेर्दा नेपालमा नयाँ जनवादी क्रान्ति कत्ति सन्निकट देख्नुहुन्छ ?

राष्ट्रिय राजनीतिमा जुन खालको तरलता र संकट चुलिदैछ, त्यसले अन्तरविरोधलाई चर्काएकै छ । प्रतिक्रियावादी व्यवस्था पुरानै तरिकाले चल्न नसक्ने भएका छन् । संसदवादी पार्टीहरु तीव्र अन्तरविरोध र संकटग्रस्त बन्दै गएका छन् । यो क्रान्तिका लागि अनुकूल वस्तुगत स्थिति मान्नुपर्दछ । घरेलु प्रतिक्रियावाद मात्र नभएर साम्राज्यवादीहरुका बीचका पनि वैचारिक संकटले आफ्नो वर्चस्व लिन अन्तरविरोधहरु चर्किएका छन् । 

कम्युनिष्टहरु अहिले रक्षात्मक अवस्थामा रहेको र आत्मगत अवस्था कमजोर छ । यसको समाधान गर्न आत्मगत अवस्थाको पनि त्यत्तिकै अनुकूलता र भरपर्दो शक्तिका रुपमा विकास गर्न तयारीका साथ जे जति छिटो गरेर लैजान सकिन्छ, नयाँ जनवादी क्रान्तिको त्यत्तिकै संन्निकट हुन्छ । 

विश्व साम्राज्यवादको बदलिंदो अवस्था र त्यसले पैदा गरेका चुनौतीहरुका विरुद्ध कार्यदिशा समृद्ध गर्ने, त्यसको कार्यान्वयन गर्ने पार्टी, संगठन र संघर्षको आवश्यकता आजको माग हो । अहिले प्रभावकारी संघर्ष हुन नसकेको र संगठन कमजोर भएको रक्षात्मक अवस्था हो । परन्तु, यो अस्थायी अवस्था हो । विद्रोहको वातावरण बन्दै गएकोले पार्टी र त्यसको नेतृत्वदायी टीमबद्ध प्रयास अझै बढाउनु पर्दछ । 

क्रान्तिका निम्ति आत्मगत र वस्तुगत चुनौतीहरु चाहिं के कस्तो देख्नुहुन्छ ?

यसबारे केही कुराहरु उल्लेख भइसके । जनयुद्ध र जनआन्दोलनमा उठाएका एजेण्डाहरु अहिले पनि यथतावतै छन् । कतिपय विषयहरु त झन् जटिल र संकटग्रस्त बनेका छन् । प्रतिक्रियावादी र यथास्थितिवादी शक्तिहरु क्रमशः हावी हुँदै गएर असफल संसदवादी व्यवस्था सुदृढ गर्न अनेक प्रकारका जालझेल, षड्यन्त्र भइरहेको छ । यसले उत्पीडक र उत्पीडित वर्ग र समुदाय बीचको अन्तरविरोध झनै चर्काएको छ । उत्पीडित वर्ग र समुदायबीचको सत्तालिप्साको अन्तर्विरोध सतहमा आएकोले क्रान्तिको लागि अनुकूलता बन्दै गएको छ । 

यो अवस्थाको साम्राज्यवाद खास गरेर भारतीय विस्तारवादले फाइदा उठाउँदै नवउपनिवेशलाई अरु सुदृढ गर्न चाहन्छ । यस अवस्थाको भरपूर उपयोग गर्न सच्चा कम्युनिष्टहरु र साम्राज्यवाद विस्तारवाद विरोधीहरु एकताबद्ध भई आन्दोलन उठिनसकेको अवस्था हो । यसमा पनि सच्चा कम्युनिष्टहरुको आत्मगत अवस्थाकमजोर भएकोले प्रतिगमनलाई रोक्न कठोर मेहनत र साहसको आवश्यकता छ । 

पार्टीको पछिल्लो विभाजनदेखि अहिलेसम्म देशैभर पार्टीको सांगठनिक तथा राजनीतिक स्थिति चाहिं कस्तो पाउनु भएको छ ?

विचारधारात्मक क्षेत्रमा हामीले जुन स्पष्टताका साथ लड्यौं र दक्षिणपन्थी नवसंशोधनवादीमा आत्मसमर्पण गर्नेहरुलाई परास्त ग¥यौं– त्यो अनुपातमा सांगठानिक क्षेत्र कमजोर नै देखापरेको छ । तथापि पछिल्लो चरणमा सबैखाले अवसरवादीहरुको भण्डाफोरको निरन्तरताले अवसरवादी कित्तामा रहेका कतिपय क्रान्तिकारीहरु र निष्क्रिय बसेका व्यक्तिहरुलाई क्रमशः फेरि नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध भै ध्रुवीकरणले लहरको सुरुवात भएको छ । यसमा हाम्रो प्रयत्न अझै पुगेको छैन । यस दिशामा हाम्रो कडा मिहनत र समयको अन्तरालमा हुने थप स्पष्टताले हाम्रो पार्टी थप मजबुत बन्दै जाने राम्रा संकेतहरु देखापरेका छन् । 

क्षेत्रीय र विश्व राजनीतिमा पनि बढ्दो अमेरिका, चीन र भारतबीचको अन्तरविरोधले नेपालको नयाँ जनवादी क्रान्तिमा कस्तो असर पार्न सक्ने देख्नुहुन्छ ?
दक्षिण एशियाका भारतीय विस्तारवादको दादागिरी क्रमशः नाङ्गिदै गएको छ । यसले अमेरिकी साम्राज्यवादको सहयात्रामा यस क्षेत्रमा आफ्नो प्रभुत्वलाई थप सुदृढ गर्न चाहन्छ । तथापि यी शक्तिहरुका आ–आफ्नै स्वार्थ पनि टकराइरहेका छन् । विश्वमा एकछत्र नेतृत्व गरिरहेको अमेरिकी साम्राज्यवाद चीनको अर्थतन्त्र र सामरिक क्षेत्रमा गरेको विकासले झस्किएको छ ।

उसले चीनलाई अप्ठेरोमा पार्ने रणनीति अपनाइरहेको छ । एक चीननीतिविरुद्ध अमेरिका अहिले भारत र अन्य साम्राज्यवादी मुलुकको सहयोग लिई चीनलाई घेराकस्ने प्रयत्न गरिरहेको छ । यस्तै प्रशान्त महासागर र सीमा विवाद पनि एक हो । ब्रिक्सको जन्म पनि यसै अन्तरविरोधको एउटा कडी बनेको छ । अहिले यस प्रकारका अन्तरविरोधहरुको अन्तर साम्राज्यवादी अन्तरविरोध र शक्तिकेन्द्रहरुको बढ्दो हानथापको रुपमा चर्कदै गएको छ । यसैबीचबाट सर्वहारावर्गले फाइदा उठाउन आफ्नो कार्यदिशा र सांगठानिक अवस्थाको विकास गरी मुख्य दुश्मन साम्राज्यवाद र घरेलु प्रतिक्रियावादविरुद्ध क्रान्ति अगाडि बढाउनु पर्दछ । यो सम्भावना अहिले बढेर गएको छ ।

भारतमा जनयुद्धरत भारतीय माओवादीलाई हेर्ने पार्टीको दृष्टिकोणबारे बताइदिनु हुन्छ कि ?

लामो समयदेखि प्रतिक्रियावादी भारतीय शासकवर्ग र त्यसको सत्ता विरुद्ध भाकपा (माओवादी)ले सशस्त्र संघर्ष गर्दै नयाँ जनवादी क्रान्तिलाई अघि बढाउने कोशिस गर्दै आएको छ । भारतीय मुक्तिकामी जनता उत्पीडित वर्ग समुदायको मुक्तिको लागि गरेको भाकपा (माओवादी)को सशस्त्र संघर्षलाई समर्थन गर्दै आएको छ । सर्वहारा वर्गको एउटा टुकुडीको रुपमा भाकपा (माओवादी)ले गरेको संघर्षका गतिविधिप्रति हामी ऐक्यवद्धता प्रकट गर्न चाहन्छौं ।

पार्टीले राष्ट्रिय सम्मेलनको तयारी चाहिं कसरी गरिरहेको छ ?

राष्ट्रिय सम्मेलनको तयारीलाई केन्द्रमा राखेर हामीले विचारधारात्मक सांगठनिक, आर्थिक र संघर्षका कार्यक्रम व्यवस्थित गरेर लैजाने प्रयत्न भएको छ । यसलाई निश्चित उद्देश्यसहित अभियानात्मक ढंगले लैजाने हाम्रो कार्यक्रमलाई केन्द्रीय समितिको बैठकले मूर्त गर्नेछ ।

अन्तमा, छुटेका केही विषय छन् भने राखिदिनुस् न ।

उपयोगितावाद र उपभोक्तावादले गाँजेको अहिलेको धरातलले क्रान्तिप्रतिको निष्ठा र समर्पणलाई कमजोर बनाएको छ । आर्थिक स्वार्थप्रति तल्लीन समाज र विचारविहीन जस्तो भएर साम्राज्यवादको गोटीजस्तो भएको छ । निम्न पुँजीवादी संकीर्णता र तत्कालीन स्वार्थप्रति लिप्त व्यापारवादको प्रभावमा परेर क्रान्तिबाट विचलित हुँदै क्रान्तिकारी पार्टीमा टुट्फुट र विभाजनहरु भएका छन् ।

यसबाट शिक्षा लिंदै सच्चा कम्युनिस्टहरु निष्ठाका साथ नयाँ जनवादी क्रान्तिका लागि जनविद्रोहको तयारीमा केन्द्रित हुनु अहिलेको आवश्यकता हो । माओले भनेझैं ज्वारभाटाका विरुद्ध खडा हुनेले मात्र क्रान्तिद्वारा सुनौलो भविष्य चुन्न सक्नेछ । यसैको लागि एकीकृत र ध्रुवीकृत भइ योजनावद्ध ढंगले लागौं । तपाईहरुको यो जनप्रिय पत्रिकामार्फत् पार्टीका विषयमा र हाम्रो नीति कार्यक्रम र अवस्थाबारे राख्ने अवसर दिनुभएकोमा पत्रिकाको उत्तरोत्तर प्रगति र विकासको कामना सहित हार्दिक धन्यवाद दिन चाहन्छु ।