यसरी गरिएकाे रहेछ लक्ष्मी परियारको हत्या : दलित नागरिक समाज

प्रकाशित मिति : २०७३ पुस ३

दलित नागरिक समाजद्वारा काभ्रे सानो वाङ्थली ७ की लक्ष्मी परियारको हत्या सम्बन्धमा तयार गरिएको स्थलगत अध्ययन प्रतिवेदनको शारांश

मितिः ३० मङ्सिर २०७३

मिति २०७३ मङ्सिर २० गते काभ्रेपलाञ्चोक सानो वाङथली ७ की वर्ष ३२ की लक्ष्मी परियारको स्थानीय सूर्योदय माध्यमिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक गोदामचौर निवासी हिरा लामा र निजकी आमा काइँलीमायाँ लामालगायतको कुटपिट तथा मलमूत्र खुवाउने कार्यबाट मिति २०७३ मङसिर २४ गते मृत्यु भएको थियो । घटनापछि दलित नागरिक समाजको बैठक बसी घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा भन्दा कडा कानुनी कारवाही गर्नुपर्ने निर्णय भएको थियो । सो निर्णयअनुसार समता फाउण्डेशनको संयोजकत्वमा दलित गैरसरकारी संस्था महासंघ, जागरण मिडिया सेन्टर, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ (एनएनडिएसडब्लूओ), दलित महिला केन्द्र नेपाललगायतका सङघसंसथाहरूको सक्रियतामा पाँच सदस्यीय स्थलगत भ्रमण टोली घटनास्थलमा स्थलगत भ्रमण गरी सरोकारवाला निकाय, पीडित तथा पीडक परिवारका सदस्यहरु, प्रदत्यदर्शी, स्थानीय बासिन्दासँग मिति २०७३ मङ्सिर २८ र २९ गते गरिएकोे छलफल तथा स्थलगत अवलोकनका आधारमा यो प्रतिवेदन तयार पारिएको हो ।

अध्ययनका क्रममा भेटिएका तथ्यहरुः

लक्ष्मी परियार गाउँस्तरीय विभिन्न उपभोक्ता समिति र समूहमा रहेर स्थानीय स्तरका कार्यक्रमहरुमा दलित पक्षमा पैरवी गर्दै आएको देखिन्छ । यसअघि पनि हिरा लामाले लक्ष्मी परियारका माइला जेठाजुलाई दोस्रो संविधानसभाको चुनावमा आफू समर्थित दललाई भोट नदिएको भनी खाना खाँदै गरेको अवस्थामा घरबाहिर निकाली कुटपिट गरेका थिए । हिरा लामाको मनपरीविरुद्ध प्रश्न उठाउँदा लक्ष्मी परियारलाई उनले यसअघि पनि विभिन्न समयमा लखेट्दै कुटपिट गर्ने प्रयास गरेका थिए ।

घटनाको सम्बन्धमा गरिएको स्थलगत अध्ययन, मृतक लक्ष्मी परियारका माइला छोरा सुमन र प्रत्यक्षदर्शीहरुको भनाइका आधारमा घटना भएको दिन मङ्सिर २० गते लक्ष्मी परियार ४ बजेतिर च्याङ्वा तामाङको मेलाबाट फर्किँदै थिइन् । विद्यालय छुट्टी भएपछि मोटरसाइकलमा घर फर्किँदै गरेका लामालाई परियारले “लामा चढेको मोटरसाइकल चोरीको भएको” भनेकी थिइन् । त्यसपछि लामाले परियारलाई “जातीय विभेद हुने खालका गालीगलौज” गरेका थिए । त्यहीँ विषयमा केहीबेर भनाभन भएको थियो । त्यसपछि लामाले घरमा गई आफ्नी आमा काइँलीमायाँ लामालाईसमेत मोटरसाइकलमा राखी विद्यालयसम्म ल्याएका थिए ।
लामाका आमाछोराले परियारलाई हातखुट्टा बाँधी छाति, टाउको र खुट्टामा लात्ति, चिर्पट र लठ्ठी प्रयोग गरी “तँ दमिनी”लगायतका शब्दहरु प्रयोग गर्दै निर्घात कुटपिट गर्नुका साथै काइँलीमायाले चाउचाउको खोलमा दिसा ल्याई मुखमा कोचिदिने प्रयास गरेकी थिइन् । लक्ष्मी परियारले त्यसको प्रतिकार गरेपछि उनीहरुले जबरजस्ती अनुहारभरि दिसा दलिदिएका थिए । उनलाई बाँध्ने कार्यमा विद्यालय नजिकै चियापसल चलाउँदै आएकी निरमाया तामाङ्ले प्रत्यक्ष सहयोग गरेकी थिइन् ।
मङ्सिर २१ गते बुधबार उल्टै लामा परिवारले झुठा आरोप लगाउँदै लक्ष्मी परियार विरुद्ध निरमाया तामाङ्को भैंसी काटिदिएको भन्दै प्रहरी चौकी चौवासमा उजुरी गरेका थिए । यता काठमाडौंमा सिलाइकाम गर्दै आएका लक्ष्मीका श्रीमान मिलन नेपाली घटना बारे थाहा पाइसकेपछि आफ्ना साला लोकबहादुर परियारलाई बुधबार विहान ८ः३० मा फोन नं. ९८१८९२९१६० मा ९८२३६३०५८१ बाट खबर गरी बुधबारै घर पुगेका थिए । तर, बुधबार प्रहरी नआइसकेपछि श्रीमती कुटिएकोबारे छलफल गर्न उनी २३ गते बिहीबार विहानै ससुराली गए ।

मिलन ससुराली गएपछि प्रहरी चौकी चौबासका इन्चार्ज प्रेमपुकार चौधरीको नेतृत्वको टोली घटनास्थल पुग्यो । तर, प्रहरीले लक्ष्मीमाथि भएको कुटपीट र अमानवीय व्यवहारबारे आफ्नो विषयक्षेत्र नभएको भन्दै भैंसी काटेवापत १ हजार रुपैयाँ र २०७२ बैशाख १ गते स्थानीय एक महिलासँग भएको झगडामा लक्ष्मीले ५ हजार रुपैयाँ तीर्नुपर्ने भन्दै ६ हजार रुपैयाँ पीडक पक्षलाई जरिवाना गरी मिलापत्र गराएको थियो ।

मिलापत्रपछि सोही दिन लक्ष्मी छोरी नाता पर्ने आफन्तको विवाहमा गई मादकपदार्थ सेवनगरी फर्किएकी थिइन् । मिलन ससुराली भएकै समयमा जेठान राजकुमार परियारले ९८०३५७८५९१ बाट आफ्नी बहिनी लक्ष्मीलाई ९७४१३०८९९६ मा फोन गर्दा उनी फोनमै रुँदै गहिरो चोट लागेको र सरिरभरी निलडाम भएको बताएकी थिइन् ।

सोही दिन ४ बजे ससुरालीबाट घरजान फर्केका मिलन करिब १० बजेतिर घर फर्किएर आमाको घरमा बसेका थिए । मिलन घर नपुग्दै ९ बजे दाजु राजकुमारले बहिनी लक्ष्मीलाई पुुनः फोन गरी शान्त्वना दिँदै धुलीखेल गएर उपचार गराउन सल्लाह दिएका थिए ।

लक्ष्मीकी देउरानी सरिता परियारले दिएको बयानका आधारमा २४ गते विहान मिलन सानो छोरालाई बिस्कुट किन्न भन्दै पसल तिर लागेका थिए भने लक्ष्मी माइती जानेभन्दै बाटो लागेकी थिइन् । तर घरदेखि करिब ३०० मिटरभन्दा पर रहेको गोठभन्दा उता लक्ष्मी नगएको देखेपछि देउरानी र सासूले छोरा सुमनलाई “आमा कता गइ ?” भन्दै अलिपरसम्म हेर्न जान अह्राएका थिए ।

करिब ७ बजेतिर सुमनले गोठको सुरनेरै ममी ढलेको भन्दै हजुरआमा, बाबु र काकीलाई खबर गरेका थिए । गोठको ढोकाभित्र टाउको र बाहिर शरिर रहेको अवस्थामा लक्ष्मीको लास फेला परेको थियो । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । त्यत्तिबेलासम्म लक्ष्मीको मृत्यु भएपनि शरिर तातै रहेको देउरानीले बताइन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले मिति २०७३ मङ्सिर २६ मा गरेका पत्रकार सम्मेलनमा कुटपिट गरी मलमुत्र खुवाएको होइन लक्ष्मीको झुण्डिएर आत्महत्या भएको भन्ने खबर आएकोले उनका श्रीमान मिलन नेपालीलाई समेत पक्राउ गरिएको भन्ने आशयको जानकारी गराएको थियो । जबकि प्रहरीले २४ गते तयार गरेको लासको मुचुल्कामा झुण्डिएर आत्महत्या गरेको विषयमा केही उल्लेख गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका लक्ष्मीका श्रीमान् मिलन नेपालीले आफूलाई प्रहरीले चरम यातना दिएर श्रीमतीलाई कुटेको हुँ भन्न बाध्य पारेको बताएका छन् ।

हाल प्रहरीले हिरा लामा, काइँलीमाया तामाङ, निरमायातामाङ र मिलन नेपालीलाई अदालत पेश गरी थुनामा राख्ने म्याद दिएर अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका मृतक लक्ष्मी परियारका श्रीमान मिलन नेपाली संग संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजका प्रतिनीधिहरुले कुराकानी गरेका थिए । कुराकानीको संदर्भमा आफुले श्रीमतिलाई कुटपिट नगरे पनि प्रहरीले जर्वजस्ती कुटपीट गरी यातना दिएर हत्या गरेको स्वीकार गर्न वाध्य पारेको बताएका छन् ।

निष्कर्षः

लक्ष्मी परियार हत्या सम्बन्धमा बोक्सीको आरोप लगाइएको भन्ने खालको कुरा बाहिर आएपनि प्रत्यक्षदर्शी, पीडित परिवार तथा स्थानीयको भनाइअनुसार त्यस्तो कुनै तथ्य भेटिएन । लक्ष्मीको हत्या घटनामा बाहिरी रुपमा कुटपिट तथा मलमूत्र खुवाउने कार्य गरेको देखिएपनि घटनाको मुख्य कारणको रुपमा दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक जीवनमा उनीहरुको अस्तित्वलाई अस्वीकार गर्ने प्रवृत्तिले काम गरेको छ ।
प्रहरीले पत्रकारसम्मेलनमा लक्ष्मी परियारको झुण्डिएर आत्महत्या गरेको भन्ने दाबी तथ्यसंगत देखिँदैन । र, आत्महत्या गर्न प्रयोग गरिएको डोरी वा अन्य कुनै साधनहरुको प्रमाण भेटिँदैन । लक्ष्मी परियारको मृत्यु स्थानीय सूर्योदय माध्यमिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक लाहुरेबजार निवासी हिरा लामा र निजकी आमा काइँलीमाया लामालगायतको कुटपिटको असर स्वरुप चारदिनपछि मृत्यु भएको देखिन्छ ।
लामा परिवारले झुठा आरोप लगाउँदै लक्ष्मी परियार विरुद्ध निरमाया तामाङ्को भैंसी काटिदिएको भन्दै प्रहरी चौकी चौवासमा गरेको उजुरीलाई प्रहरीले सत्यतथ्य नबुझि लामा परिवारको प्रभावमा परी उल्टो पीडीतलाई नै जरिवाना तिराउने कार्य गरी राज्यपक्षबाट गम्भीर मानवअधिकार उल्लङ्घन भएको छ । काटिएको भनिएको भैंसी स्थलगत अध्ययनको क्रममा सकुसल पाइएको छ ।

प्रहरीले मिलापत्र गर्ने क्रममा लक्ष्मी परियारमाथि भएको कुटपिट, दुव्र्यवहार र महिला हिंसाको सवाललाई बेवास्ता गरी एकतर्फी रुपमा पीडकलाई नै सहयोग गरेको देखिन्छ । यदि प्रहरीले त्यस्तो गम्भीर अपराधलाई मिलापत्र नगरी कानुनी कारवाहीको दायरामा ल्याएको भए यस्तो अप्रिय घटना नहुने सम्भावना थियो ।
आरोपित मिलन नेपालीको घटनामा भएको संलग्नताको विषयमा तत्काल निश्पक्ष छानविन र सुनुवाई हुनु जरुरी छ । मृतकको पोस्टमार्टम ढिला गरिँदा प्रमाण नष्ट हुने जोखिम समेत देखिन्छ ।

विगतको अनुभवका आधारमा विशेषगरी जातीय भेदभाव तथा छुवाछूत र दलित समुदायसँग सम्बन्धित सवालमा राज्य पक्ष त्यसमा पनि प्रहरीले उनुसन्धान तथा पीडितलाई न्याय दिने कुरामा देखाएको नैराश्यता र पूर्वाग्रहका कारण यस घटनामा पनि पीडितले न्याय दिलाउनका लागि विशेष गरी आमसञ्चार क्षेत्रले निरन्तर दबाब र खबरदारी गर्नु आवश्यक छ ।

नागरिक समाजका तर्फबाट स्थलगत अध्ययन टोलीका सदस्यहरू : गौरा नेपाली दलित महिला केन्द्र, नेपाल सन्तोष विश्वकर्मा, दलित गैरसरकारी संस्था महासंघ

राम चर्मकार, नेपाल राष्ट्रिय दलित समाजकल्याण सङघ गोपाल नेपाली, समता फाउन्डेसन, शिवहरि ज्ञवाली, जागरण मिडिया सेन्टर