पाँच वित्तीय संस्था मर्जरको अन्तिम चरणमा

प्रकाशित मिति : २०७३ मंसिर २१

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक, इन्फ्रास्ट्रचर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकबीचको मर्जर प्रक्रिया पूरा भएको छ । हालै राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ती वित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । प्रक्रिया सुरु भएको करिब २ वर्षपछि मात्र ती संस्थाले अन्तिम स्वीकृति पाएका हुन् ।

सञ्चालक समितिमा विवाद भएपछि हाल एनसीसी बैंकको व्यवस्थापन राष्ट्र बैंकले सम्हालेको छ । बैंक सुधारकै क्रममा राष्ट्र बैंकबाट गएको टोलीले अन्य वित्तीय संस्थासँग मर्जर प्रक्रिया सुरु गरेको थियो । सोहीअनुरूप मर्जरसम्बन्धी आवश्यक प्रक्रिया पूरा भएका थिए । तर, अन्तिम समयमा बैंकमा मुख्य लगानी रहेको एनबी समूहका जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठले मर्जर रोक्नका लागि काठमाडौं अदालतमा मुद्दा दर्ता गराएका थिए ।