jjjjjjfकाठमाडौं । साउदीको रियादस्थित नेपाली दूताबासले जनाए अनुसार रोजगारीका लागि साउदी अरबका विभिन्न सप्लाई कम्पनीमा पुगेका करिब चार सय नेपाली युवाहरु खानासमेत नपाएर भोकभोकै बस्न बाध्य छन् ।

साउदीको रियाद, जेद्दा, दमामका विभिन्न सप्लाई कम्पनीमा आएकै दिनदेखि कम्पनीले खानासमेत नदिई पीडित बनाएर राखेको दूतावासले जनाएको छ । दूताबासका श्रम काउन्सीलर अम्बिकाप्रसाद अधिकारीका अनुसार साउदी पुगेकै दिनदेखि खाना नपाएको भन्दै दूतावासमा उजुरी आउने क्रम अत्यधिक बढेको छ । अधिकारीले भने, ‘यो ज्यादै संवेदनशील विषय हो ।’

दूतावासका अनुसार खाना नपाएर आएका ५४ जनाको समूहलाई दूतावासले आफ्नै परिसरभित्रै राखेर आश्रय दिइरहेको छ । धेरैजसो पीडित कामदार दूतावासको सम्पर्कमा समेत पुग्न सकेको छैनन् । सम्पर्कमा आएका कतिपय पीडित नेपालीलाई स्थानीय नेपाली संघसंस्थाले खाद्यान्य तथा कम्बल जुटाउने प्रयास गरेका छन् । केही कामदारले अरू कम्पनीको मेसमा गएर खाना खाइरहेका छन् । रियादस्थित फुब्र्र अरेबियामा अलपत्र एक सय १३ नेपाली कामदारले अर्का कम्पनीको मेसमा खाना खाइरहेका छन् ।

सुलेमान हमद अल धोवन कम्पनीमा गएका ४९ कामदारले खानाकै लागि करार सम्झौताविपरीत काम गर्नुपरेको छ ।
म्यान पावर र दलालहरुले अधिकांश वैदेशिक रोजगारीमा जाने युवाहरुलाई अनेकन प्रलोभन देखाएर सप्लाई कम्पनीमा पठाउने गरेका छन् । यस्ता घटनाहरु पटक पटक घटे पनि सरकार तथा सम्बद्ध पक्ष संवेदनशिल हुन सकेको छैन । जग्गा जमिन बेचेर, मंहगो ब्याजमा ऋण लिएर घर परिवारको सुखद् भविष्य बनाउने सपना बोकेर अरबको भूमिमा पसिना बगाउन गएका युवाहरुको यस्तो कन्तबिजोग स्थितिप्रति सरकार जिम्मेबार बन्न सकेको छैन ।

काम नपाएर अलपत्र अवस्थामा रहेका नेपाली युवाहरुलाई उद्दार गरी गएका म्यानपावर र दलालहरुबाट क्षतिपूर्ती दिलाउन वैदेशिक श्रमसम्बद्ध निकायहरुले बेलैमा जिम्मेवार पहल गर्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर