नेपालमा बन्यो एशियाकै लामो र अग्लो झोलुङ्गे पुल

प्रकाशित मिति : २०७३ मंसिर १४

hhhकाठमाडौं । पर्वत जिल्लाको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनेको तीनसय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको झोलुङ्गे पुललाई एशियाकै लामो र अग्लो भएको दावी गरिएको छ । मोदीखोलाको खोँचमा निर्माण भएको सो झोलुङ्गे पुल सिङ्गल स्पानबाट निर्माण गरिएको हो ।

निर्माण कम्पनी ‘मुक्तिनाथ एण्ड ओम गिता जेभि’ले स्थानीयको सहयोग र निर्माण सामाग्रीको सहजताका कारण निर्धारित समयभन्दा चार महिना अगाडि नै पुलको निर्माण सम्पन्न भएको छ । स्थानीय पुर्वाधार विकास तथा कृषि सडक बिभाग (डोलिडार) अन्तर्गत झोलुङ्गे पुल महाशाखाको लगानीमा निर्मित पुलको लागत एक करोड ७६ लाख ९९ हजार छ ।

मुडिकुवाका सामाजिक कार्यकर्ता ऋषिकेश तिवारीको अगुवाईमा चार वर्षअघि सर्भे गरिएको पुल स्थानीय विकास मन्त्रालयको लगानीमा निर्माण भएको हो । पुल बनेपछि मुडिकुवा, शंकरपोखरी, थापाठाना, देबिस्थान, खानीगाउँ सहित दक्षिण पर्वतका दुई दर्जनबढी गाविसका साथै बाग्लुङ र गुल्मीसमेतका केही गाविसबासीलाई पैदल हिड्दा करिब दुई घण्टा लाग्ने बाटो पुलले केही मिनेटमै छोट्याएपछि सर्वसाधारणहरु प्रसन्न छन् ।

२०६६ सालमा निर्मित कुश्मा–ज्ञादी तीन सय ४४ र गत ७२ असोजमा निर्मित कुश्मा–कैया पुल तीन सय ४७ मिटर लम्बाई र एक सय ४६ मिटर उचाईका छन् । कुश्माका तिनवटै पुल मुलुककै अग्लामध्येका पहिलो, दोस्रो र तेस्रो हुन् ।