शान्ति सम्झौताका दशवर्ष : द्वन्द्वको नयाँ बिजारोपण !

प्रकाशित मिति : २०७३ मंसिर ५

peace

काठमाडौं । तत्कालीन युद्धरत नेकपा (माओवादी) र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज दश वर्ष पूरा भएको छ । शान्ति सम्झौताका यी दश वर्षमा विगत दश वर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल दुईपटक प्रधानमन्त्री भए, अर्का नेता बाबुराम भट्टराई पनि प्रधानमन्त्री भए, तर जनताले परिवर्तनको कुनै महसुस गर्न सकेनन् ।

बरु जनयुद्ध लडेकै (किरण–विप्लव) हिस्सालाई सडकमा धकेलेर (निषेध) गरेर प्रचण्ड–बाबुरामहरुको संसदवादी राजनीतिक यात्राले द्वन्द्वको नयाँ बिजारोपण गर्न पुगेको छ ।

संसदवादी व्यवस्थाका विरुद्ध करिब १५ हजार जनताका छोराछोरीहरुले रगत बगाउने गरी दशवर्ष जनयुद्धको नेतृत्व गरेका प्रचण्ड–बाबुरामहरुले जनयुद्धकालका सबै मुद्दाहरुलाई सडकमै मिल्क्याएर संसदवादी राजनीतिको फोहरी आहालमा डुबुल्की मार्न पुगे । दशवर्षे जनयुद्धको क्रममा निर्मित आधार इलाका, स्थानीय जनसत्ता, जनमुक्ति सेना र जनकम्युनहरुलाई कौडीको मूल्यमा बेचेर लाजै पचाई त्यसको ब्याज अहिले पनि खानपाउनुपर्ने उनीहरु हकदावी गर्छन् ।

peace-f

जनयुद्ध लडेका जनयोद्धाहरु जो एक पेट पाल्न विदेशी भूमिमा रगतलाई पानी बनाएर श्रम बेच्न बाध्य छन्, घाइते अपाङ्गहरु उपचार नपाएर अहिले पनि छट्पटाइरहेका छन्, वेपत्ता योद्धाहरु अझै वेपत्तै छन्, सहिद परिवारहरुको स्थिति अत्यन्तै दयनीय छ । तर जनयुद्ध लडेर आएका मुट्टिभर लोभीपापीहरुलाई भने ऐस, आराम र मोजमस्तीको जीन्दगी छ ।

पुराना संसदवादीहरुलाई उछिन्दै उनीहरु अहिले राष्ट्रको ढिकुटी ब्रम्हलुट गर्न पुगेका छन् । हिजो जनताका अगाडि बगरेको बाचा, सहिदलाई साँक्षी राखेर लिएको सपथ, जनमुक्तिका मुद्दाहरुले उनीहरुको दील दिमागलाई छुदैन । व्यक्तिगत छुद्र स्वार्थका लागि उनीहरुको नाङ्गो दौडले सिंगो माओवादी आन्दोलनलाई नै बद्नाम बनाइदिएको छ । कुनैवेला ‘माओवादी’ परिचय जनताको निम्ति गर्व र आकर्षणको केन्द्र थियो भने अहिले घृणा र तिरस्कारको पर्याय बन्न पुगेको छ ।

kiran-com

यसो हुनुमा वर्गविरोधी वा वर्गवैरी भन्दा पनि माओवादी आन्दोलनभित्रै जन्मिन पुगेको अभिजात वर्ग मुख्य जिम्मेवार छ । त्यो अभिजातवर्गको संसदवादी राजनीतिक अवतार नै माओवादी आन्दोलनका लागि अभिषाप बन्न पुगेको छ ।

विडम्बना, माओवादी आन्दोलनभित्रको यी गैरमालेमावादी चिन्तनधाराका विरुद्ध विद्रोह गरेर मालेमाको नयाँ क्रान्तिकारी धारा खडा गर्न पुगेका किरणहरुलाई पनि दायाँ र बायाँबाट ठूलै घेराबन्दी गरियो र यो धारालाई सिध्याउन ठूलै प्रयत्न गरियो । जनतामा यति ठूलो भ्रम छरिएको छ कि सच्चा माओवादी पहिचान गर्न नै जनतालाई मुस्किल परिरहेको छ ।

०५२ सालमा जनयुद्ध सुरु गरेको माओवादीले उठाएका मुद्दाहरु अहिले नेकपा (क्रान्तिकारी माओवादी)ले बोकेर हिडिरहेको छ ।

संसदवादी पार्टीहरु त्यसमा पनि कांग्रेस, एमाले र तत्कालीन एमाओवादीको सिण्डिकेट लादेर जारी गरिएको संविधानले नयाँ कलेभरमा पुरानै प्रतिक्रियावादी संविधान र व्यवस्थालाई संस्थागत गर्न पुगेको छ । त्यस्तो व्यवस्था र संविधानको बहिस्कार गरेर जनताको संघीय गणतन्त्रमा आधारित संविधानले मात्र जनतालाई अधिकार सम्पन्न गर्नसक्ने भन्दै ऊ नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको छ ।

अहिले मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)लाई नै नेपाली कम्युनिष्ट आन्दोलनको ‘वैचारिक केन्द्र’ मानिन्छ । फेरि पनि तितरवितर भएका कम्युनिष्ट क्रान्तिकारीहरुलाई गोलबन्द गरेर मात्र नयाँ जनवादी क्रान्तिलाई पूर्णता दिन सकिन्छ भनेर क्रान्तिकारी माओवादीले त्यस दिशामा पहल गरिरहेको छ । यो अहिलेको आवश्यकता पनि हो ।