‘जनताले माओवादी केन्द्र लाई लम्पसारवादी केन्द्र भन्न थालेका छन्’

सचिवालय सदस्य तथा तमुवान इन्चार्ज, नेकपा (क्रान्तिकारी माओवादी)

प्रकाशित मिति : २०७३ मंसिर २

- श्रीनाथ अधिकारी‘श्याम’

देश यतिबेला संकटको घडीमा उभिएको छ । दोस्रो संविधानसभाबाट संविधान बनेपनि त्यसले जनताको एजेण्डालाई सम्बोधन गर्न सकेको छैन । पछिल्लो समयमा भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा गरिएको चाकडीले नेपालका नेताहरु भारतप्रति कतिसम्म निहुरिन सक्छन् भन्ने पुष्टि पनि भएको । हामीले पछिल्लो नेपालको राजनीतिक अवस्थाबारे नेकपा (क्रान्तिकारी माओवादी) का सचिवालय सदस्य श्रीनाथ अधिकारी ‘श्याम’सँग गरेको कुराकानीको सारसंक्षेपः 

पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमहरुलाई कसरी हेर्नुभएको छ ?
–निकै गम्भीर खालका घटनाक्रमहरुदेखिन थालेका छन् । प्रचण्ड नेतृत्वको सरकार भारतीय सत्तासिन वर्गसँग पूरै लम्पसार परेको छ । भारतीय राष्ट्रपतिको भ्रमणको बेला सार्वजनिक विदा दिने, जनतालाई सडकमै निस्न नदिने गरी अघोषित कफ्र्यू लगाउनेजस्ता कार्यले प्रचण्ड नेतृत्वको सरकारलाई मात्रै होइन, जनताले नेकपा (माओवादी केन्द्र)लाई नै नेकपा (लम्पसारवादी केन्द्र) भन्न थालेका छन् ।

सरकार, सत्तारुढ पार्टीहरु र पार्टीका नेताहरु खुल्लेआम भारतको चीनविरोधी गतिविधिमा सामेल भइरहेका छन् । हालै शेरबहादुर देउवाले गरेको भारत भ्रमणको क्रममा गोवामा सत्तारुढ भाजपाद्वारा प्रायोजित ‘इण्डिया फाउण्डेसन’ नामक संस्थाले आयोजना गरेको ‘इण्डिया आइडियाज कन्क्लेभ–२०१६’लाई प्रमुख वक्ताको रुपमा दलाई लामाको सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गेसँगै सम्बोधन गरे । दलाई लामाले समेत भिडियो सम्बोधन गरेको सो कार्यक्रममा देउवाको सहभागिताका कारण छिमेकी चीनले नेपाललाई ‘एक चीन नीति’प्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउने स्थितिमा पु¥याएको छ ।

काठमाडौं स्थित आर्ट ग्यालरीको एउटा कार्यक्रममा ताइवानको झण्डा फहराइनु, चीनको एक टोलीलाई परराष्ट्र मन्त्रालयले अपमान गरि पठाएको भन्ने समाचारहरु पनि आएका छन् ।यी सबै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा जारी गरिएको राष्ट्रघाती २५ बुँदे संयुक्त वक्तव्यका परिणाम हुन् । प्रचण्डमार्फत् भारतीय शासकहरु नेपाललाई भारतको सुरक्षा छाताभित्र पार्न सफल भएका छन् र नेपालको परराष्ट्र नीति पनि उनीहरुले नै तय गर्न थालेका छन् । माथि भनिएका घटनाक्रमहरुले यसै तथ्यलाई पुष्टि गरेको छ ।

२५ बुँदेदेखि संविधान संशोधनसम्म भारतीय सत्तासीन वर्गले नेपालको राष्ट्रिय स्वाधीनतामाथि बोलेको धावालाई के भन्नुहुन्छ ?

२५ बुँदेको ११ नं.को बुँदाले स्पष्ट भनेको छ कि अब नेपालको सुरक्षा र परराष्ट्र मामिला भारतले हेर्छ । नेपाललाई आफ्नो सुरक्षा छाताभित्र पार्न भारतले २०११ साल, २०१७ साल र २०४६ सालमा पनि निकै प्रयास गरेको थियो । तर सफल हुन सकेको थिएन । अहिले विगतमा जनयुद्धताका भारतका विरुद्ध सुरुङ युद्ध गर्ने उद्घोष गरेका प्रचण्डले २०७३ साल भदौ ३१ माभारतको पटक पटकको प्रयासलाई सजिलै पुरा गरिदिएका छन् ।

भारतले यही तरिका अपनाएर सिक्किलाई आफ्नो मुलुकमा विलय गरायो भने भूटानको पनि उसले सुरक्षा र परराष्ट्र मामिलालाई आफ्नो छाताभित्र पारेकै छ । नेपाललाई भूटानीकरणहुँदै सिक्किम बनाउने भारतीय अभियानमा प्रचण्ड नयाँ लेण्डुपे बन्दैछन् ।हिमालयलाई आफ्नो सुरक्षा सीमा ठान्ने नेहरु डक्ट्रिनलाई ब्रिटिशकालीन मानसिकता बोकेका भारतीय शासकहरुले नेपालमाथि गिद्देनजर लगाउँदै आएका छन् । आफ्नो यही रणनीतिलाई पूरा गर्न संविधानमाथि स्वामित्व खोजिरहेको छ र अंगीकृत नागरिक पनि नेपालको संवैधानिक प्रमुख हुन पाउने गरी संविधान संशोधन गराउन चाहन्छ । यो भनेको दलालहरुप्रति पनि भारतीय शासकहरुले पूरै विश्वास गर्न नसकेको स्थिति हो । 

यी घटनाक्रमले मुलुकको सार्वभौमिकतामाथि निकै ठूलो आँच आएको संकेत गरेको छ । सच्चा देशभक्त, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरुले भारतीय हस्तक्षेप र यस्तो हस्तक्षेप निम्त्याउने दलाल शासकहरुको भण्डाफोर, विरोध र विरुद्धमा आन्दोलनको उठान गर्न जरुरी छ ।
राष्ट्रिय स्वाधीनताको प्रश्न निकै पेचिलो बनेको वर्तमान स्थितिमा क्रान्तिकारी माओवादीले चाहिं के गर्ने योजना बनाउँदैछ ?

shreenath-adhikariराष्ट्रिय स्वाधीनताको प्रश्न निकै गम्भीर बनेको यस घडीमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दालाई स्थापना कालदेखि नै उठाउँदै आएको हाम्रो पार्टी क्रान्तिकारी माओवादीले भारतीय शासकवर्गको नाङ्गो हस्तक्षेपको सडकमै उत्रेर कडा विरोध गर्दै आएको छ । आगामी मंसिर १० गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने योजना बनाएको छ ।

यस प्रदर्शनमा स्वाभीमानी जनताको उल्लेख्य सहभागिता हुने देखिन्छ । भारतीय शासकवर्गले गरेको हस्तक्षेप र दलाल शासकहरुको जनघाती र राष्ट्रघाती हर्कत जनताले प्रष्ट रुपमा बुझ्न र अनुभूत गर्न थालेका छन् ।

राष्ट्रिय स्वाधीनताको संयुक्त आन्दोलनको सम्भावना चाहिं छ कि छैन ?

–भारतीय विस्तारवादले लगाएको नाकाबन्दी, प्रचण्ड नेतृत्वको सरकार गठन, २५ बुँदे वक्तव्य, भारतीय राष्ट्रपतिको भ्रमण र सरकारको लम्पसारवादी चरित्र, देउवाको भारत भ्रमणसम्म आइपुग्दा नेपाली जनतामा राष्ट्रियताको भाव निकै जागृत भएको देखिन्छ । सामाजिक संजालमार्फत् राष्ट्रियता र स्वाभिमानको पक्षमा उर्लदो जनमत, विभिन्न वामघटकहरु, व्यत्ति, संघसंस्थाहरुको पहलकदमी सबैलाई हेर्दा संयुक्त राष्ट्रिय मुक्ति आन्दोलनले वृहत् आकार ग्रहण गर्दै अगाडि बढ्ने देखिन्छ । हाम्रो पार्टीले त्यस दिशामा पहल अगाडि बढाइरहेको छ । 

विगतमा राष्ट्रिय स्वाधीनताको चर्को कुरा गर्नेहरु, जो तपाईंहरुबाट अलग भएर माओवादी केन्द्रमा गएका छन्, उनीहरु यस विषयमा नबोल्नुको कारण के देख्नुहुन्छ ?

–क्रान्तिको कार्यदिशालाई परित्याग गरेर नवसंशोधनवादी समूहको पुच्छर बन्न गएकाहरुको कुरै नगरौं । पुच्छरले त मालिकको झिङ्गा धपाउने मात्रै काम गर्ने हो । त्यो धर्म उनीहरुले निभाइ रहेकै होलान् ।त्यसमाथि उनीहरु त अहिले लम्पसारवादीहरुको पो झिंगा धपाउनेमा पुगेका छन् त । यो भन्दा बढी अपेक्षा गर्न सकिन्न उनीहरुबाट । 

वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादले माओवादी आन्दोलनलाई कत्तिको क्षति पु¥यायो ?

–वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादले गर्दा नै प्रत्याक्रमणसम्म पुगेको नेपाली क्रान्ति सेटव्याक खान पुग्यो । र, प्रतिक्रान्ति विजयी बन्न पुग्यो ।यो भनेको माओवादी आन्दोलनको ठूलै क्षति हो । भूकम्पको धक्काले भग्नावशेषको अवस्थामा पु¥याएको जस्तै अनुभूति हुन्छ । तसर्थ, अब क्रान्तिको पुनर्निर्माण गरिनु पर्दछ । यो बेला भनेको क्रान्तिको पुनर्निर्माणको बेला हो । हिम्मत नहारीकन क्रान्तिकारीहरु दृढतापूर्वक क्रान्तिको पुननिर्माणमा जुट्नु परेको छ । 

 भीषण दुईलाइन संघर्षमा दायाँ बायाँ आक्रमणबाट बचाउन सफल क्रान्तिकारी माओवादीको अहिलेको आत्मगत अवस्था चाहिं कस्तो छ ?
–हो, निकै भीषण दुईलाइन संघर्षबाट हामीले नेपाली कम्युनिष्ट आन्दोलनको यो क्रान्तिकारी धारलाई बचाउन सफल भयौं । दायाँ र वायाँबाट यो धारलाई सिध्याउन भीमकाय कोशिसहरु भए ।दक्षिणपन्थी नवसंशोधनवादी र वामपन्थी अवसरवादीहरु नाङ्गो रुपमा माओवादी आन्दोलनको यो क्रान्तिकारी धारलाई सिध्याउन लागेकै थिए ।

उनीहरुले साम, दाम, दण्ड, भेद सबै प्रयोग गरे । तर, विचार र राजनीतिक हिसाबले हाम्रो विजय भयो । र, क्रान्तिको झण्डालाई बचाउन सफल भयौं । दायाँ र बायाँको आक्रमणबाट थिलथिलो भएको पार्टीलाई हामीले अहिले सबल बनाएका छौं । विचार, राजनीति, संगठन, संघर्ष र आर्थिक हिसाबले पार्टीलाई सबल बनाउँदै लैजाने क्रम तीव्रतामा अगाडि बढिरहेको छ । र, पनि वस्तुगत अवस्थाको हाराहारीमा पु¥याउन अझै मिहनेत गर्नुपरेको छ ।

मुलुकमा क्रान्तिकारी माओवादी आन्दोलनको उठानमा के कस्ता जटिलता र सम्भावनाहरु देख्नुहुन्छ ?

–क्रान्तिको नायक प्रतिक्रान्तिको खलनायक बन्दा क्रान्ति र पार्टी सिद्धिएका अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा धेरै दृष्टान्तहरु छन् ।नेपालमा पनि प्रचण्ड–बाबुरामको खलनायकीका विरुद्ध कमरेड किरणले क्रान्तिको झण्डा उठाउने साहस गर्नुभयो । नेपाली सर्वहारावर्गका लागि मात्रै होइन, अन्तर्राष्ट्रिय सर्वहारावर्गका लागि समेत एउटा गर्वको कुरा हो ।

यस्तो घटना अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा समेत विरलै पाइन्छ । क्रान्ति प्रतिक्रान्तिमा बदलिएपछि आन्दोलनमा टुट, फुट, विचलन, पलायन, विघटन, निराशा, हिनता, कुण्ठा जन्मिनु स्वभाविक कुरा हो । यसका बाबजुद हामीले क्रान्तिकारी धारलाई स्थापित गर्दै लगेका छौं । जनतासँग जोडिने र जनताको विश्वास आर्जन गर्ने कुरा जटिल छन् ।

त्यो जटिलता चिर्न र जनताको विश्वास आर्जन गर्न हामी जनतासँग जोडिरहेका छन् । जनतामा अन्य माओवादीहरु, यो प्रतिक्रियावादी सत्ता र उनीहरुले फिंजाएको भ्रमबाट विस्तारै मुक्त हुँदैछन् । जनता भ्रमबाट मुक्त हुँदै जाँदा क्रान्तिका क्षितिजहरु पनि उघारिदै जानेछन् । हामी दृढ विश्वासका साथ लागिरहेका छौं । हामीलाई विश्वास छ–अन्ततः जित जनता र सत्यको नै हुनेछ । 

माओवादी केन्द्र र विप्लव माओवादीभन्दा क्रान्तिकारी माओवादीप्रति जनता आशावादी हुनसक्ने कारणहरु चाहिं के के छन् त ?
–माओवादी केन्द्रलाई भन्दा कांग्रेस–एमालेलाई जनताले राम्रो भन्न थालेका छन् । पुरानै प्रतिक्रियावादी संसदीय शासनव्यवस्थालाई संस्थागत गर्न मरिहत्ते गरेर लागेको माकेप्रति जनतामा उतिसारो भ्रम छैन र उसले पनि भ्रम दिने हैसियत र ठाउँ राखेको छैन । अब उसले लगाउने क्रान्ति, समाजवादका कुरा जनताले बुझिसकेका छन् । जहाँसम्म विप्लव माओवादीको कुरा छ–उनीहरुसँग क्रान्तिको स्पष्ट कार्यदिशा छैन । मालेमावादलाई उनीहरुले दह्रोगरी समातेका छैनन्, उनीहरु मध्यमवर्गलाई क्रान्तिको आधारभूत शक्ति मानेर सत्ता साझेदारीको कुरा गर्छन् । प्रतिक्रियावादी सत्तासँग साझेदारीका लागि क्रान्तिको कुरा गर्नु भनेको प्रचण्ड–बाबुरामकै लाइन हो । त्यो भ्रममा पनि जनता अब धेरै दिन टिक्नेवाला छैनन् ।

जहाँसम्म हाम्रो कुरा छ, हामीले गर्ने भनेको नयाँ जनवादी क्रान्ति हो । नयाँ जनवादी क्रान्तिको कार्यदिशाको फौजी कार्यदिशा हामीले राष्ट्रिय सम्मेलनबाट समृद्ध पार्दैछौं । मालेमावादको वैचारिक आलोकमा क्रान्तिको रणनीति र कार्यनीतिको विकास गरेर नयाँ जनवादी क्रान्तिलाई पूर्णता दिने दिशामा हामी अगाडि बढिरहेका छौं । तुलनात्मक रुपले इमान्दार, असल नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा आबद्ध छन् । वर्गसंघर्ष र अन्तसंघर्षका भीषण प्रक्रियाबाट खारिएर आएको अनुभवले समृद्ध नेतृत्व छ, कार्यकर्तामा क्रान्तिप्रतिको तीव्र भोक छ । वैचारिक, राजनीतिक, संगठन र संघर्षका हिसाबले नयाँ ढंगको क्रान्तिकारी, जुझारु र अनुशासित पार्टी निर्माणमा हामी जुटेका छौं । वस्तुगत स्थिति क्रान्तिका निम्ति अनुकूल छ, हामी वस्तुगत स्थितिमाथि हावी हुने गरी आत्मगत स्थितिको विकासमा अहोरात्र खटिरहेका छौं । 

के संविधान संशोधनबाट चाहिं मुलुकले राजनीतिक निकास पाउन सक्दैन ?
यो संविधान आम श्रमजीवि जनताका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’जस्तै भएको छ । संविधानले जनताको जीवनमा कुनै परिवर्तन ल्याउन सकेको छैन । भ्रष्टाचार, महंगी, बेरोजगारी, कालोबजारीले गरिखाने जनताको ढाड भाँचेको छ । संसदवादी दलका नेता कार्यकर्ताहरु पैसा भनेपछि जुक्का र किर्नाजस्तै भएका छन् । उनीहरुलाई देश र जनताप्रति कुनै चिन्ता छैन, देश भाँडमा जाओस् तर आफ्नो खल्ती र भुँडी भर्न पाएपछि पुगेको छ । जनतामा राहत छैन, आहत बढेको छ ।

देशको ढिकुटी भागवण्डा लगाएर संसदवादीहरुले लुटिरहेका छन् । जनताको जीवन भोक, रोग र अभावले आक्रान्त छ । यस्तो अवस्थामा संविधान संशोधन होइन, यो संविधान पूरै खारेज गरेर जनताको संविधान बनाउन जरुरी छ । जनताको संघीय गणतन्त्रमा आधारित संविधानले मात्र राजनीतिक निकास दिनसक्छ र त्यस्तो संविधानले मात्र जनताको जीवनमा परिवर्तन ल्याउन सक्छ । र, जनताले अपनत्व बोध गर्न सक्छन् ।

लोकमान प्रकरणबारे चाहिं क्रान्तिकारी माओवादीको भनाइ के छ ?
–यो पनि भ्रष्ट, अनैतिक र अराजकहरुबीचकै गाईजात्रा हो । हाम्रो पार्टीले त नियुक्ति प्रक्रियामै लोकमानको विरोध गरेको थियो– युद्ध र आन्दोलन दबाउने रायमाझी आयोगको दोषीलाई अख्तियार प्रमुख बनाउनु हुँदैन भनेर । भ्रष्टाचारमा मुछिएको र प्रतिगामी सोच भएको व्यक्तिलाई अख्तियार प्रमुख बनाएपछि अहिले पानीमाथिको ओभानो हुन खोजेका छन् कांग्रेस, एमाले र माकेका नेताहरु ।

लोकमानको चरित्र र यी नेताहरुको चरित्रमा कुनै फरक छैन । यिनीहरुको कमजोरी लोकमानलाई सबै थाहा भएकोले नै उसले यिनीहरुलाई नटेरेको हो । संस्थागत रुपमा भ्रष्टाचार र कमिसनको जालो विच्छ्याएर राज्यको दोहन गर्ने यी नेताहरुलाई चाहिं कसले कारबाही गर्ने ?अब जनताले गर्नुपर्छ ।

अन्तमा थप केही भन्नु छ कि ?
आजको युग भनेको सूचना प्रविधिको युग पनि हो । सूचना प्रविधिको उच्चम प्रयोग क्रान्तिको लागि अनिवार्य बन्न जान्छ । यसर्थमा, संचारका साधनहरुको विशेष महत्व रहन्छ । यसको महत्वबोध पार्टीले गर्दै आएको छ । क्रान्तिको महान प्रक्रियामा तपाईंहरुले चलाएका सूचना संचारका माध्यमहरुले महत्वपूर्ण योगदान गर्न सकोस् । यही शुभेच्छा, यही शुभकामना ।