दशवर्षे जनयुद्धले क्रान्तिप्रति आशावादी र प्रतिबद्ध हुन प्रेरित गरिहन्छ

प्रकाशित मिति : २०७३ कार्तिक २५

- भक्तराज थापा‘अपिल’, संयोजक, जनक्रान्तिका घाइते–अपाङ्ग योद्धा संघ

janaganatantrik-morcha-1

तपाईको घाईते जीवनको वारेमा विगत र वर्तमान स्थितिबारे बताईदिनुस न ? 

मुक्ति या मृत्युको सपथ खाएर जनमुक्ति युद्धमा होमिएको एउटा योद्धाका लागि युद्धमा घाइते हुनु सामान्य कुरा थियो । तर सुविधा सम्पन्न अस्पतालमा औषधोपचार हुन नसक्दा झन्डै खुट्टा गुमाउनु प¥यो । घाइते अवस्था निकै कहालिलाग्दो र पीडादायी हुने नै भयो । श्रमजीवि सर्वहारावर्गको मुक्तिको अभिलाषाका अगाडि मेरो घाइते जीवन सहायक नै थियो । तर पार्टीको मूल नेतृत्वमा देखापरेको विचलनका कारण पार्टी र क्रान्ति धरासायी बन्न पुग्यो । अन्ततः पार्टी विभाजित हुन पुग्यो । हज्जारौ सहिद, वेपत्ता योद्धा, घाइते योद्धाहरुले देखेको मुक्ति र स्वतन्त्रताको सपनामाथि ठूलो घात गरियो । क्रान्ति पराजित भएपछि घाइते योद्धाहरुको अवस्था बेहाल छ । हामीले भनेका छौं– १० वर्षे जनयुद्ध तथा १९ दिनको जनआन्दोलनविना यो परिवर्तनको कल्पना गर्न असम्भव थियो । युद्ध, आन्दोलनमा घाइते–अपांग भएका योद्धाहरुलाई राज्यले राष्ट्रिय सम्मानसहितको परिचयपत्र उपलब्ध गराउनुपर्छ र दैनिक जीविकोपार्जनका लगायत सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ ।

माओवादी आन्दोलनको वर्तमान स्थितिलाई चाँहि कसरी हेरिरहनु भएको छ ?

जनयुद्धकालीन माओवादी आन्दोलन र अहिलेको माओवादी आन्दोलनमा आकाश जमिनको फरक छ । मूल नेतृत्वले पार्टी, क्रान्ति र आम श्रमजीवि वर्गलाई धोका दिएपछि पार्टी विभाजित हुन पुग्यो । क्रान्ति असफल हुँदाको स्थितिलाई किताबमा पढेका थियौं, हामीले आफ्नै जीवन व्यवहारमा भोगिरहेका छौं । समाजमा वर्ग अन्तरविरोध रहेसम्म क्रान्तिको प्रक्रिया निरन्तर जारी रहन्छ । मुुलुकमा अहिले पनि विगतमा जनयुद्ध गर्नुपर्नाका कारणहरु, परिस्थिति विद्यमान छन् । जनताले महसुस गर्ने गरी कुनै परिवर्तन भएको छैन । सत्तामा पुरानै वर्गको एकाधिर कायम छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु अझ विकराल बनेर गएका छन् । समाजको यही स्थितिको गर्भबाट नयाँ क्रान्तिकारी पुस्ता हुर्किरहेको छ । अब त्यो पुस्ताले पुरा गर्छ नेपालमा नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार ।
जरुर अहिले माओवादी आन्दोलन विभाजित छ । माओवादी आन्दोलनको एउटा हिस्सा प्रतिक्रियावादी वर्गसँग लहसिन पुगेको छ । अर्को हिस्सा वामपन्थी आवरणमा दक्षिणतिरकै यात्रातिर लागेको देखिन्छ । यसर्थमा, माओवादी आन्दोलनका वैचारिक तथा दार्शनिक नेताको रुपमा स्थापित मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) नै सही र क्रान्तिकारी पार्टी हो । नेपालमा नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार यही पार्टीको पहलकदमीमा मात्रै सम्भव देखिन्छ । तसर्थ, देशभित्र र बाहिर छरिएर रहेका आम क्रान्तिकारीहरु, सहिद परिवारहरु, घाइते योद्धाहरु र मुक्तिकामी जनताहरु अब क्रान्तिकारी माओवादीको झण्डा वरिपरि गोलबद्ध हुन जरुरी छ ।

आजको स्थितिबाट जनयुद्धको भिषण दिनहरुको सम्झना गर्दा कस्तो अनुभूति हुन्छ ?

सामान्य काम गर्दै पढ्दै गरेको एउटा युवा, क्रान्तिको मीठो र महान सपना बोकेर युद्धमा लागियो । मृत्युको रतिभर प्रभाव नगरी वर्गदुश्नसँग थुुप्रै युद्ध मोर्चा लडियो । कैयौं रात जंगलमा, कैयौं रात जनताको घर आँगनमा, भोक, तिर्खा र निद्राको प्रवाह नगरी साँच्चै एउटा उदात्त भावका साथ हामीले सुन्दर समाज (संसार)को कल्पना गरेका थियौं । वम र वारुद्धको धुवाभित्र खेल्दै गोलीको निशाना छल्दै गर्दा घाइते हुँदा पनि वर्गदुश्मनका विरुद्ध लड्ने साहसमा कमी आएको थिएन । बरु घाइते जीवन वर्गवैरीका विरुद्ध अझ स्पालितो बनेको थियो ।

अहिले पनि विगतका ती दिनहरु सम्झँदा मभित्रको क्रान्तिकारी योद्धा जुर्मराउँछ र वर्गवैरीका विरुद्ध फेरि पनि जाइलाग्न खोज्छ । हामी क्रान्तिकारी हौं, सपना देख्नुपर्छ । केही लोभीपापीहरु क्रान्तिको प्रक्रियाबाट थाक्न सक्छन्, भाग्न सक्छन्, पार्टी र क्रान्तिलाई धोका दिदै तुच्छ र छुद्र स्वार्थको रछ्यानमा लटपटिन पुग्छन्, तर क्रान्ति जारी रहन्छ । क्रान्तिको आवश्यकताले क्रान्तिकारी नेता र कार्यकर्ताहरु जन्माउँदै लैजान्छ । क्रान्तिकारीहरुमा असीम धैर्यता, दृढ इच्छाशक्ति र त्यागको भावना चाहिन्छ । मलाई दशवर्षे जनयुद्धले क्रान्तिप्रति आशावादी र प्रतिबद्ध हुन प्रेरित गरिहन्छ ।