भारतले पनि सार्वजनिक विदा र सुरक्षाकर्मीलाई रिकी गर्न दिन्छ त ?

कार्यालय सदस्य, नेकपा (क्रान्तिकारी माओवादी)

प्रकाशित मिति : २०७३ कार्तिक २३

- रामसिंह श्रीस

भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणसँगै नेपालका राजनीतिक दल र खासगरी सरकार तथा त्यसको वरिपरी रहेका दलको चाकडीतन्त्रको राम्रोसँग पर्दाफास भएको छ । कुनै एउटा छिमेकी देशको पदाधिकारी अर्को छिमेकी देशमा जानु सामान्य विषय भएपनि त्यसलाई सरकार र संसदमा रहेका कतिपय राजनीतिक दलले उत्सवको रुपमा सार्वजनिक विदा दिएर नै मनाए ।

जसलाई आम रुपमा सर्वसाधारणले ‘लम्पसार दिवस’ भनेर व्यंग्य गरेका छन् । भारतको यो नांगो दलाली र चाकडीले नेपालको राष्ट्रियता र स्वाभिमानमा पुनः ठेस लागेको छ । यसै सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) का कार्यलय सदस्य रामसिंह श्रीससँग गरिएको कुराकानीको सारसंक्षेप :

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई क्रान्तिकारी माओवादीले कसरी हेरिरहेको छ ?

गत असारमा सम्पन्न हाम्रो पार्टीको राष्ट्रिय भेलाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु झनै विकराल बन्दै गएका छन् भन्ने जुन निष्कर्ष निकालेको थियो, पछिल्लो राजनीतिक घटनाक्रमले त्यसलाई थप पुष्टि गर्दै गएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको २५ बुँदे संयुक्त वक्तव्य, लोकमानसिंह प्रकरण, आकाशिदो महंगी र बेरोजगारीले हाम्रो पार्टीको निष्कर्षलाई पुष्टि गरेको छ ।

पदमा जान र पाएको पद टिकाइराख्न विदेशी प्रतिक्रियावादी शक्तिको दलालीलाई तीव्रता दिएको छ । समग्रमा, क्षणिक रुपमा भएपनि प्रतिगामी र यथास्थितिवादीहरु सक्रिय भएको स्थिति हो अहिलेको । यो राम्रो पक्ष होइन । यस प्रकारको स्थितिलाई समाप्त गर्न क्रान्तिकारी शक्तिहरुले पनि आफ्नो प्रयत्न जारी राखिरहेका छन् ।

भारतीय राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिने र सडकमा अघोषित कम्र्फू लगाउने काम गरेको भन्दै सरकारको सार्वजनिक रुपमा व्यापक आलोचना भइरहँदा क्रान्तिकारी माओवादीको कुनै भनाइ सार्वजनिक भएन भन्ने पनि जनगुनासो देखियो नि ?

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा सार्वजनिक विदा दिने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । यो विरोधलाई हाम्रो पार्टीले समर्थन गर्दछ । भारत र चीनको राष्ट्रपति आउँदा सार्वजनिक विदा दिने निर्णय गरेर सरकारले चीनको राष्ट्रपति पनि छिट्टै नेपाल भ्रमणमा आउँदैछन् भन्ने भ्रम सिर्जना गर्न प्रयत्न गरेको छ ।

नेपाल सरकारको कमजोरीका कारणले चीनको राष्ट्रपतिको नेपाल भ्रमण रद्द भएको हो । यो वास्तवमा नेपाल सरकारको भारतीय विस्तारवादी शासकको नाङ्गो दलाली मात्र हो । ठीक त्यस्तै सुरक्षाको नाममा सडकमा अघोषित कर्फू लगाउने कुराले पनि नेपाल सरकारको क्षमता कति कमजोर रहेछ भन्ने कुरालाई बताउँछ । त्यतिमात्र होइन, भारतीय सुरक्षाकर्मीहरुले नेपाल आएर भारतीय राष्ट्रपति जाने ठाउँहरु काडमाठौं, जनकपुर र पोखराको रेकी गरेका थिए । नेपालको राष्ट्रपति भारत भ्रमण जाने तयारी हुँदैछ ।

के नेपालको सुरक्षाकर्मीहरु भारतको विभिन्न ठाउँमा गएर रिकी गर्न सक्छन् ? के नेपालको राष्ट्रपति भारत भ्रमणमा जाँदा त्यहाँ राष्ट्रिय रुपमा सार्वजनिक विदा दिइन्छ ? यस्तो कुनै पनि हालतमा हुने छैन । यो त नेपाल सरकारको भारतीय विस्तारवादी शासकहरुको दलाली मात्र हो ।

भारतीय राष्ट्रपतिको भ्रमणसँगै कांग्रेस सभापति देउवाले गर्न लागेको दिल्ली भ्रमण, अनिर्णित लोकमान प्रकरण, संविधान संशोधनको सकस, धार्किक अतिवादीहरुको दौडधूप सबैले मुलुकलाई कुन दिशा दिने देख्नुुहुन्छ ?

तपाईंले राख्नुभएको यी विषयहरुले मुलुकको राजनीतिलाई प्रतिगामी दिशातिर धकेल्ने प्रयत्न भइरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ । लोकमान जस्तो भ्रष्ट र जनविरोधी व्यक्तिमाथि लगाइएको महाभियोगको प्रस्तावलाई असफल बनाउन भारतीय दूतावास लागि परेको छ । संविधानलाई आफ्नो अनुकूल संशोधन गराउन भारतले प्रयत्न गरिरहेको छ ।

धर्मनिरपेक्षतालाई हटाएर नेपाललाई हिन्दू राज्य बनाउन मोदी सरकारले हरसम्भव प्रयत्न गरिरहेको छ । ओली सरकार गिराएर प्रचण्डको नेतृत्वमा जुन सरकार बन्यो, त्यो पनि भारतीय शासकहरुकै डिजाइनमा बनेको हो । यस पृष्ठभूमिमा कांग्रेस सभापति शेरवहादुर देउवाको भारत भ्रमण भारतीय विस्तारवादी शासकहरुको आशिर्वाद लिन नै हो । अझ अर्को गम्भीर कुरा के छ भने नेपालका पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले फ्रि तिब्बत अभियानका नेताहरुसँगै गोवाको एक कार्यक्रममा सम्बोधन गरेका छन् ।

यसले भारतले नेपाललाई ‘एक चीन नीति’बाट पछि हट्न दबाब दिन थालेको त होइन भन्ने प्रश्न उठेको छ । भावी प्रधानमन्त्रीको लाइनमा रहेका व्यक्ति चीनविरोधी गतिविधि गरिरहेका तिब्बती नेताहरुसँगै देखिनु नेपालका लागि एकदमै घातक कुरा हो । आज देशमा जुन घटनाक्रमहरु भइरहेका छन्, यसले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाल अत्यन्तै गम्भीर बन्दैछ भन्ने संकेत गर्दछ ।

२५ बुँदे राष्ट्रघाती संयुक्त वक्तव्यविरुद्ध राष्ट्रिय स्वाधीनताको संयुक्त आन्दोलनको तयारी कसरी अगाडि बढिरहेको छ ?

२५ बुँदे राष्ट्रघाती संयुक्त विज्ञप्तीका विरुद्धमा काठमाडौंमा संयुक्त विरोध प्रदर्शन भइसकेको छ । तिहार छठ जस्तो पर्व परेका हुनाले अहिले ठोस कार्यक्रम बनेको छैन । यो पर्वपछि अरु देशव्यापी रुपमा विरोधका कार्यक्रमहरु बनाउने समझदारी अगाडि नै बनेको छ । अब आन्दोलनका कार्यक्रमहरु बन्नेछन् ।

राष्ट्रिय स्वाधीनताको आन्दोलनमा आठ वामघटकका अतिरिक्त अरु राष्ट्रवादी शक्तिहरुसँग सहकार्य गर्ने सम्भावना कस्तो देख्नुहुन्छ ?

कात्तिक ९ गते आठ वामहरुको काठमाडौंमा एउटा संयुक्त विरोध कार्यक्रम भयो । यो २५ बुँदे राष्ट्रघाती संयुक्त वक्तव्यको विरुद्धमा आउने अन्य राजनीतिक शक्तिहरुलाई पनि सामेल गराउँदै जाने भन्ने समझदारी भएको छ । २५ बुँदेको विरोध गर्ने अन्य शक्तिहरु पनि भएका हुनाले आठ बाम घटकबाहेक अन्य शक्तिहरुसँग पनि सहकार्य हुन सक्ने प्रवल सम्भावना छ ।

बाह्य राष्ट्रियता र आन्तरिक राष्ट्रियताको अन्तरसम्बन्धलाई क्रान्तिकारी माओवादीले कसरी व्याख्या गर्दै आएको छ ?

राष्ट्रियतालाई बाह्य र आन्तरिक भनेर कसरी व्याख्या गर्ने ? यो जटिल प्रश्न हो । विदेशी साम्राज्यवाद, विस्तारवादसँगको नेपाली जनताको अन्तरविरोधलाई वाह्य र नेपाल बहुजाती, बहुभाषिक र बहु धार्मिक देश भएको हुनाले जातजाति, भाषाभाषी र धार्मिक अन्तरविरोधलाई आन्तरिक राष्ट्रियता भन्न खोज्नुभएको होला ।

नेपाली जनता विभिन्न जातजाति, भाषाभाषी र विभिन्न धर्महरुमा विभक्त भएका छन् । त्यतिमात्र होइन नेपालका जनता वर्गमा पनि विभाजित छन् । दलाल नोकरशाही पुँजीपति र सामन्तवर्गले शासनसत्ता चलाइरहेका छन् । मजदुर किसान लगायत आम नेपाली जनता तिनै शोषकवर्गको शोषणमा परिरहेका छन् । यहाँ जातीय उत्पीडन, भाषिक उत्पीडन र धार्मिक उत्पीडन पनि छ ।

यी सबै प्रकारका वर्गीय, जातीय, भाषिक र धार्मिक उत्पीडनलाई कायम राख्न, अग्रगामी दिशामा जान नदिन र अझै सकेसम्म प्रतिगामी दिशामा लैजान विद्यमान दलाल, नोकरशाह, पुँजीपति र सामन्तवर्गको राज्यसत्ता लागिपरेको छ । त्यसकारण यी सबै प्रकारको शोषण–उत्पीडनबाट मुक्ति हुनका लागि विद्यमान राज्यसत्तालाई फाल्नु र सर्वहारावर्गको नेतृत्वमा आम शोािषत पीडित जनताको राज्यसत्ता कायम गर्नु आजको राष्ट्रिय कार्यभार हो ।

यसैले यी समग्र उत्पीडनबाट मुक्ति हुने प्रश्न मुख्यतः वर्गीय मुक्तिसँग जोडिएको छ । त्यसकारण, जातीय, भाषिक र धार्मिक उत्पीडनबाट मुक्तिको लागि हुने संघर्षलाई वर्गीय मुक्तिको लागि हुने संघर्षसँग जोडेर लैजानु पर्छ ।

जनजीविकाका समस्याहरु अहिले निकै विकराल बन्दै गएका छन्, यी विषयमा क्रान्तिकारी माओवादीको स्वर सानो भयो भन्ने गुनासो सुनिने गरेको छ नि ?

यो विषयमा क्रान्तिकारी माओवादीको स्वर सानो भएको पटक्कै होइन । दृष्टिकोणको कुरा गर्ने हो भने हाम्रो पार्टीको दस्तावेज, विभिन्न बैठकका निर्णयहरु, वक्तव्यहरु र आफ्ना प्रकाशनहरुमा यो जनजीविकाको विषयमा पार्टी बोलिरहेकै छ । जहाँसम्म यो विषयलाई लिएर संघर्ष गर्ने कुरा छ, पार्टी आन्तरिक सांगठानिक कार्यमा बढी व्यस्त भएका कारणले ठोस र मूर्तरुपमा निरन्तर कार्यक्रम दिन सकिएको छैन । फरक यति मात्रै हो ।

संगठन र संघर्ष सँगसँगै जाने कुराहरु हुन् । यी दुईवटा विषयहरु सँगसँगै जाँदाजाँदै पनि कहिले संगठन पक्ष, कहिले संघर्षको पक्ष मुख्य भएर आउँछ । अहिलेसम्म संगठनको पक्ष मुख्य भएर आएको थियो, अब संघर्षको पक्ष मुख्य भएर आउनेछ ।

राष्ट्रिय राजनीतिको मूल धारमा क्रान्तिकारी माओवादी आउन सकेन भन्नेहरुलाई के भन्नुहुन्छ ?

राष्ट्रिय राजनीतिको मूलधारमा आउने भनेको संसदीय धारमा जाने भनेको हो । यो संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था हो, शोषक वर्गको हित गर्ने व्यवस्था हो । यो खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो । त्यसकारण शोषित पीडित जनताको मुक्तिको लागि यो व्यवस्थालाई ध्वस्त पार्नुपर्छ र त्यसको ठाउँमा नयाँ जनवादी व्यवस्था ल्याउनु पर्छ ।

नेकपा (क्रान्तिकारी माओवाद)को मुख्य उद्देश्य यो संसदीय व्यवस्थालाई ध्वस्त पारी नयाँ जनवादी व्यवस्था स्थापना गरेर सामाजवाद हुँदै साम्यवादमा पुग्ने हो । त्यसकारण नेकपा (क्रान्तिकारी माओवादी)ले त्यस्तो शोषकवर्गको हित गर्ने राष्ट्रिय राजनीतिको मूलधारमा अरुले लैजान प्रयत्न गरेपनि जानेछैन । आफ्नै क्रान्तिकारी धारको निर्माण गर्छ र शोषित उत्पीडित वर्गको मुक्तिको लागि हुने संघर्षमा अग्रीम पंक्तिमा उभिन्छ ।

मुलुकमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक अन्तरविरोधहरुको एकीकृत समाधनबारे क्रान्तिकारी माओवादीको रोडम्यापबारे संक्षिप्तमा प्रकाश पारिदिनुस् न ।

मैले यो प्रश्नको जवाफ मूलतः अगाडिको प्रश्नमा नै दिइसकेको छु । आदिम साम्यवाददेखि यताको मानव जातिको इतिहास भनेको वर्गसंघर्षको इतिहास हो । वर्ग देखा परेपछि वर्गसंघर्ष पनि देखाप¥यो । एउटा वर्गले अर्को वर्गलाई दमन गर्न राज्यसत्ताको उत्पत्ति भयो । दास युगमा राज्यसत्ता दासमालिकहरुको हातमा थियो । सामन्ती युगमा राज्यसत्ता सामन्तहरुको हातमा थियो । पुँजीवादी समाजमा राज्यसत्ता पुँजीपतिहरुको हातमा गयो ।

अर्धसामन्ती र अर्ध/नव औपनिवेशिक अवस्था भएको हाम्रो देशमा राज्यसत्ता दलाल, नोकरशाह, पुँजीपति र सामन्तवर्गको हातमा छ । वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक अन्तरविरोधहरु मूलतः राज्यसत्तासँग जोडिएको हुन्छ । त्यसकारण यी अन्तरविरोधको एकीकृत समाधान भनेको समाजमा सबभन्दा शोषित सर्वहारावर्गको नेतृत्वमा आम श्रमिक जनताको राज्यसत्ता स्थापना गरेर मात्र हुन्छ ।

यो काम शान्तिपूर्ण तरिकाबाट र चुनावमा बहुमत ल्याएर हुँदैन । यो क्रान्तिबाट मात्र सम्भव हुन्छ । त्यसकारण यी समस्या समाधानको लागि मूल कार्य भनेको क्रान्ति हो । जसको माध्यमबाट राज्यसत्ता शोषित–उत्पीडित वर्गको हातमा आउँछ । हाम्रो रोडम्याप भनेको यही हो ।
आफ्ना घोषित लक्ष्य हाँसिल गर्न क्रान्तिकारी माओवादी कसरी अगाडि बढिरहेको छ ?

आफ्नो घोषित लक्ष्य हासिल गर्न सबभन्दा पहिले सही नीति र कार्यक्रम हुनु पर्छ । हामीले आफ्नो नीति कार्यक्रम मूल रुपमा तय गरिसकेका छौं । त्यसपछिको कुरा हो– संगठन, संघर्ष र जनसम्पर्क । विचारधारात्मक एकतालाई संगठित रुप नदिइकन भौतिक शक्ति तयार हुँदैन । त्यसकारण क्रान्तिकारी विचारधाराको आधारमा संगठनलाई अगाडि बढाउनु पर्छ र विचार संगठनको आधारमा शोषित–उत्पीडित वर्गको मुक्तिको लागि संघर्ष गर्नु पर्छ । संघर्ष त्यतिबेला मात्र सफल हुन्छ, जब जनताको ठूलो हिस्साले संघर्षमा भाग लिन्छ । त्यसकारण पार्टीले जनधार निर्माण गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हुन जान्छ । यी नै कुराहरुलाई ध्यान दिएर पार्टी आफ्नो लक्ष्य प्राप्तिको लागि अगाडि बढिरहेको छ ।
अन्तमा, प्रकाश पार्नु पर्ने थप केही विषयवस्तु छन् भने राखिदिनुस् न ।

जनताको राजनीतिक चेतनालाई माथि नउठाइकन जनताका हक अधिकार र राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्दैन । जनचेतना उठाउने कुरामा मिडियाको महत्वपूर्ण भूमिका हुन्छ । त्यसकारण जनपक्षधर मिडिया र मिडियामा काम गर्ने श्रमजीवि पत्रकारहरुले जनचेतना जगाउने काममा अहं भूमिका खेल्नु पर्दछ । यो काम मिडियाबाट पनि निरन्तर रुपमा होस् भन्ने आशा र विश्वास राख्दछु ।