एजेन्सी । उत्तरी सिरियाको इदलिबमा विद्रोहीको कब्जामा रहेको एक गाउँमा भएको हवाइ हमलामा २० जना भन्दा बढी मारिएका छन् ।
हमलामा एक स्कुल तथा रिहाइशी क्षेत्रलाई निशाना बनाइएको थियो । संयुक्त राष्ट्रसंघको यूनिसेफ शाखाले नियोजित रुपमा स्कुललाई निशाना बनाइनु युद्ध अपराध भएको बताएको छ ।
संयुक्त राष्ट्रसंघका लागि रुसका दूत भिताली चूरकिनले यस हमलामा रुस संलग्न नभएकोमा आफू विश्वस्त रहेको बताएका छन् ।
सिरियाको सरकारी सञ्चारमाध्यमले हमलाबारे जानकारी दिदै चरमपन्थीको गढमा हमला गरिएको र जसमा बिद्रोहीको मृत्यु जनाएको छ । सिरियामा लामो समयदेखि जारी हिंसाका क्रममा विद्यालय, अस्पतालजस्ता संवेदनशील क्षेत्रमा समेत आक्रमण हुने गरेको छ ।
सन् २०११ मा राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको आन्दोलन केही समयपछि नै गृहयुद्धमा परिणत हुँदा हालसम्म २ लाख ९० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
सिरियामा शान्ति स्थापनाका लागि पटक पटक पहल गर्नुका साथै युद्धविराम गरिएपनि त्यसले सार्थक रुप लिन सकेको छैन ।