काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि सोमबार विशेष साधारणसभा हुँदैछ ।
काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बोलाइएको साधारणसभाले आगामी एक वर्षका लागि अध्यक्ष र एक जना उपाध्यक्ष चयन गर्नेछ ।
अध्यक्षका लागि हालका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा चुनावी मैदानमा छन् ।
श्रेष्ठले अघोषित रुपमा पूर्व अध्यक्ष गणेश थापा समुहको प्रतिनिधित्व गरेका छन् भने शेर्पाले थापा विरोधी समुह बनाएर चुनावी अभियान बढाएका हुन् ।
यसैगरी एक उपाध्यक्षका लागि मणि कुँवर, दीपक खाती र उपेन्द्रमान सिंह मैदानमा छन् । एन्फाको यो १५ औं साधारणसभामा ६७ प्रतिनिधिले मतदान गर्नेछन् ।
एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा फिफाबाट निलम्बित भएपछि नयाँ अध्यक्षका लागि निर्वाचन हुन लागेको हो ।