trump1एजेन्सी । अमेरिकी राष्ट्रपति पदका लागि हुने निर्वाचनको मिति नजिकिदै गर्दा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमा एक पछि अर्को संकट थपिन थालेको छ ।

यौन उत्पीडनको एउटा भिडियो सार्वजनिक भएर ट्रम्पको आलोचना भइरहेका बेला अर्की एक पोर्न स्टारले पनि आफूमाथि ट्रम्पले यौन उत्पीडन गरेको आरोप लगाएकी छन् ।

ती पोर्न स्टारले ट्रम्पले आफूलाई होटलमा १० हजार डलर दिने प्रस्तावसहित बोलाएको बताएकी छन् ।

महिलामाथि यौन उत्पीडनको आरोप लागेर कमजोर बनेका ट्रम्पमाथि पोर्न स्टार जेसिका ड्रेकले समेत आफूलाई होटलमा बोलाएर यौन उत्पीडन गरेको सार्वजनिक गरेपछि उनको अभियानमा थप धक्का लाग्ने आशंका गरिएको छ ।

अमेरिकाको लस एञ्जलसमा एक पत्रकार सम्मेलनका आयोजना गरेर उनले करिब १० वर्षअघि क्यालिफोर्नियाको लेक ताहोमा ट्रम्पसँग आफूले भेटेको बताएकी हुन् । उनलाई ट्रम्पले बोलाएपछि केही साथी समेत लिएर गएको उनको भनाई थियो ।

४२ वर्षीय ड्रेकले आफूसँगै गएका दुई युवतीलाई ट्रम्पले उनीहरुको अनुमति बिना नै समातेर चुम्बन गरेको आरोप लगाएकी छन् । त्यसपटक उनलाई कोठामा आएबापत १० हजार डलर दिएको र त्यसको केही समयपछि एक अज्ञात व्यक्तिले समेत उनलाई फोन गरेर एक्लै कोठामा आउन भनेको तर आफू नगएको उनको भनाई छ ।

ट्रम्पको सन् २००५ को एक अश्लील शब्दसहितको भिडियो सार्वजनिक हुनुका साथै अहिलेसम्म ११ महिलाले यौन उत्पीडन गरेको आरोप लगाइसकेका छन् ।

भिडियोमा ट्रम्पले महिलाका बारेमा अश्लील शब्दसहित भद्धा टिप्पणी गरेको देखिएपछि उनको आलोचनाको शिकार बनेका थिए । उनले सोही कारण माफी समेत मागिसकेका छन् ।

ट्रम्पको चुनावी प्रचार अभियानले भने ती पोर्नस्टारले लगाएको आरोपलाई अस्वीकार गरेको छ । अभियानले यसलाई झुठो भएको भन्दै ट्रम्पले ती महिलालाई चिन्दै नचिन्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर