७ कात्तिक, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अख्तियार दुरुपायोग अनुसन्धान आयोगकका प्रमुख आयुक्तले पदको दुरुपयोग गरेको हुनाले उनलाई अनुशासनको कारबाही गरिनु पर्ने धारणा सार्वजनिक गरेको छ ।
क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले जारी गरेको वक्तव्यमा भनिएको छ, “सरकार तथा सत्ता र सरकारी सेवामा रही आएका गैरजिम्मेवार र गलत तत्वहरुबाट भ्रष्टाचार, वेदखली तथा पदको दुरुपायोग हुँदै आएको कुरा जगजाहेर नै छ । यसै प्रक्रियामा अहिले अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि संसदमा महाभियोगको प्रस्ताव पेश गरिएको छ ।
ठीक यहींनिर अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्तको नियुक्तिकै समयमा जनताको ठूलो हिस्साद्वारा गरिएको विरोधमाथि तात्कालिक सरकार तथा प्रमुख राजनीतिक दलहरुद्वारा गरिएको उपेक्षा पनि विशेष स्मरणीय छ । साथै, यस प्रक्रियामा सत्तारुढ र प्रतिपक्ष शक्तिहरुका स्वार्थ मिल्ने र बाझिनेजस्ता कारणहरुले पनि काम गरेको कुरा उल्लेखनीय रहेको छ । तसर्थ, हाम्रो पार्टी सरकार, सत्ता वा सरकारी सेवामा रहेका कुनै पनि व्यक्तिबाट पदको दुरुपयोग तथा भ्रष्टाचार गरिएको स्थितिमा त्यस प्रकारका व्यक्तिहरुमाथि अनुशासनको कारबाही हुनुपर्ने कुरामा दृढ रहेको कुरा यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछ ।”