दाहाल सरकार त क्रान्तिकारी माओवादीमाथि पूरै दमनमा उत्रियो नि ! के त्यही एक हजारको स्वेच्छिक आर्थिक अभियान मात्रै यसको कारण के हो त ?
–नेपालको राष्ट्रिय राजनीतिमा एकातिर साम्राज्यवाद र विस्तारवादका दलालहरुको वर्चस्व बढ्दै गएको कुरा सबैमा सर्वविदितै छ । त्यसैको परिणामस्वरुप कहिले वली सरकार, कहिले दाहालको सरकार बन्ने क्रम जारी छ । दाहाल सरकारको निर्माण यसको पछिल्लो कडी हो भन्नेमा दुईमत छैन ।
त्यसैले, एकातिर राज्यसत्तामा विस्तारवादले आफ्नो पकड मजबुत बनाएर नेपाली जनताले संघर्षद्वारा प्राप्त हक, अधिकार समाप्त बनाउँदै लागे क्रम जारी छ भन्ने राष्ट्रिय स्वाधीनता जस्तो महत्वपूर्ण विषय समेत समाप्त बनाउने हर्कतहरु भइराखेका छन् ।
अर्कोतिर हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) जनताका पूर्ण हक अधिकार प्राप्त गर्ने कठिनतम आन्दोलनका साथै राष्ट्रिय स्वाधीनताको लडाइँलाई जित्नका निमित्त स्पष्ट धारणासहित लडिरहेको छ । त्यसैले एकातिर विस्तारवादका दलाल र अर्कोतिर हाम्रो पार्टीका वीचमा ठूलो अन्तरविरोध छ, दरार छ र तीव्र संघर्ष जारी छ ।
यसैको परिणामस्वरुप राजनीतिक, सांगठानिक र आर्थिक रुपमा हाम्रा साथीहरु जुटिरहेको अवस्थामा हाम्रो पार्टीका केन्द्रीय सदस्य लगायत चारजनाको गिरफ्तारी हो भन्ने बुझ्नु नै उपयुक्त हुन्छ । यथार्थ चित्रण पनि त्यही हो ।
अन्य राजनीतिक पार्टीहरुले लाखौं करोडौं आर्थिक सहयोग उद्योगी, व्यावसायी, व्यापारीबाट लिएको देखिन्छ । क्रान्तिकारी माओवादीले चाहिं १ हजारको स्वेच्छिक आर्थिक सहयोग उठाउँदा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेर अवैध चन्दा असुलीको मुद्दा नै चलाइयो नि ?
– प्रतिक्रियावादी वर्गको हातमा राज्यसत्ता हुनुको कारण सत्ताधारी पार्टीहरुले उद्योगी, व्यावसायी, व्यापारीहरुबाट मात्र होइन, घुस, कमिसन लगायत विविध माध्यमबाट लाखौं, करोडौं मात्र होइन अरबौं अरब रुपैयाँ कुम्ल्याएर पार्टीमा जम्मा मात्र गरेका छैनन्, स्वयम् व्यक्तिहरुले समेत प्रतिस्पर्धात्मक तवरबाट कालो धन थुपारेका छन् ।
सत्ता आफ्नो हातमा हुनुको नाताले त्यसलाई वैध बनाउँदै आएका छन् । प्रतिक्रियावादी दलालहरुको हातमा सत्ता रहँदासम्म यो प्रक्रिया जारी नै छ । प्रतिक्रियावादी दलाल सत्ताका विरुद्ध राष्ट्रिय स्वाधीनता र आमूल परिवर्तनको आन्दोलनमा लागेको हाम्रो जस्तो क्रान्तिकारी पार्टी जसले अहिलेको अवस्थामा एक हजार रुपैयाको स्वेच्छिक सहयोग उठाउने कार्यलाई उनीहरुे अवैधानिक ठहराउनु कुनै नौलो विषय भने होइन । किनकि, राणा शासन, पंचायती शासन, बहुदलीय शासन र अहिलेको लोकतान्त्रिक गणतन्त्रको शासनमा नाम र पात्र मात्र फरक हो प्रवृत्ति बदलिएको छैन भन्ने कुराको एउटा प्रमाण यही त हो ।
शासकवर्गका यी र यस्तै गिरफ्तारी, दमनको एउटा विन्दूमा पुगेपछि जनता स्वयम्ले त्यसको जमेर प्रतिकार गर्नेछन् । जब राज्य फासिष्ट तबरबाट दमनमा आउँछ, त्यतिबेला एउटा सचेत क्रान्तिकारी पार्टीले जनताका हक, अधिकारको प्राप्ती रक्षा र राष्ट्रिय स्वाधीनताका खातिर हतियार वलमा टिकेको प्रतिक्रियावादी वर्गको सत्तालाई जरैदेखि भत्काएर जनताको जनवादी सत्ता स्थापना गर्न हतियार नै उठाउँछन् । विश्वको इतिहासले यही सावित गरेको छ । नेपाल त्यसको अपवाद बन्न सक्तैन । हामी चाहन्छौं शासकहरुले दमनबाट समस्याको समाधान गर्न सकिन्छ भनेर नसोचून ।
झुठ्ठा मुद्दा खारेजी र गिरफ्तार नेता कार्यकर्ता रिहाईको माग गर्दै घोषणा गरिएको कार्यक्रममा तपाईं पनि गिरफ्तार पर्नुभयो नि ?
–हाम्रो पार्टीका नेता कार्यकर्तालाई अनावश्यक र अनाहकमा गिरफ्तार गरी कृत्रिम तबरबाट झुठा मुद्दा लगाएर थुन्ने काम गरेका कारण हाम्रो नेकपा (क्रान्तिकारी माओवादी) नेवा: राज्य समन्वय समितिको आयोजनामा चक्काजाम, सिठ्ठि जुलुस तथा उपत्यका बन्दजस्ता कार्यक्रम घोषणा गरेर आन्दोलनमा उत्रने क्रममा राज्यले आफूलाई अत्यन्तै निर्लज्ज तबरबाट दमनमा उतार्यो ।
बन्दुकको भाषा मात्र बुझ्ने प्रतिक्रियावादी सत्ता हाम्रा सामान्य कार्यक्रमबाट समेत तस्र्यो र निकृष्ट तवरबाट दमनमा उत्रियो । पार्टीले घोषणा गरेको एक घण्टा चक्काजामको क्रममा मलगायत १३ जना साथीहरु गिरफ्तारीमा पर्यौं । तर हामीलाई के विश्वास थियो भने राज्यले जति दमन ग¥यो, आन्दोलन त्यति नै सशक्त बन्दै जान्छ र अन्ततः सत्ता आन्दोलनकारीका अगाडि झुक्न बाध्य हुन्छ । हाम्रो आन्दोलनले उनीहरुलाई वाध्य गरायो पनि । अन्ततः हामीले हाम्रा साथीहरुलाई छुटाएरै छाड्यौं ।
अब संघर्षका कार्यक्रमलाई कसरी अगाडि बढाउनुहुन्छ ? र कुन मुद्दामा केन्द्रीत गर्नुहुन्छ ?
–हाम्रो संघर्षका कार्यक्रम सफल भइसकेका छन् । षड्यन्त्रकारी सरकार पराजित बनेको छ । हाम्रो संघर्षको जित भएको छ । अब हाम्रो संघर्ष जनजीविकाका मुद्दामा केन्द्रीत हुन्छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका तीनवटै विषय महत्वपूर्ण छन् । किनकि, राष्ट्र र जनतासँग प्रत्यक्ष जोडिएका विषय हुन् यी ।
तत्काल जनताका दैनिक सरोकारका विषयहरु, महंगी, कालाबजारी, भ्रष्टाचार, बेरोजगार जस्ता विषयहरुलाई हामीले निरन्तर रुपमा उठाउँदै आएका छौं । राष्ट्रिय स्वाधीनताको सवाल पनि अत्यन्तै जटील बन्दै आएको छ । भर्खर मात्र प्रधानमन्त्री दाहाले भारत भ्रमणको क्रममा गरिएका सहमतिहरु अत्यन्तै खतरनाक रुपमा भएका छन् । यिनै महत्वपूर्ण विषयहरुलाई लिएर हामीहरु संघर्षमा जान्छौं ।
जहाँसम्म आवाज सुन्छ सुन्दैन भन्ने कुरा छ, त्यो त शासकहरुको नियतै हो कि प्रतिक्रियावादी राज्यले जनताको आवाज सुन्दैन, बन्दुक र बुटले कुल्चन्छ । तर त्यो नै उसको पतनको बाटो हो भन्ने कुरा उसले बुझ्दैन । हाम्रो आन्दोलनले जनता जागरुक हुँदै जान्छन् र एक दिन अवश्य परिवर्तनको घाम झुल्कन्छ । त्यसभन्दा अघि हामीमा असीम दृढता र धैर्यताको खाँचो पर्दछ ।
अन्तमा केही ?
–वर्गदृष्टिले सँधै भोका, नाङ्गा, उत्पीडन र विभेदमा परेका जनताको आवाजहरुलाई निरन्तर रुपमा उठाउँदै लैजान सफल होस् । यही कामना र सुझाव दिन चाहन्छु ।