चितवन । पूर्व गृहमन्त्री तथा पूर्वमुख्यसचिव माधव घिमिरेको अवस्था अझै अज्ञात रहेको छ । घिमिरे चढेको जीप आइतबार साँझ त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना बेपत्ता भएका थिए ।
सोमबार बिहानैदेखि खोजी कार्य सुरु गरिएको भएपनि पत्ता लाग्न सकेको छैन । आइतबार साँझसम्म खोजी कार्य गरिएपनि अँध्यारो भएपछि स्थगित गरिएको थियो ।
खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कार्पियो जीप नदीमा खसेको थियो ।
दुर्घटनामा घिमिरेकी आमा चैतन्याकुमारी, सुरक्षा गार्ड सशस्त्र प्रहरीका सहायक निरीक्षक रामचन्द्र कार्की र घिमिरका आफन्त नारायण काफ्लेको मृत्यु भएको हो ।
वेपत्ता हुनेमा पूर्व गृहमन्त्री घिमिरे, उनका दुई भाई मोहन र प्रकाश घिमिरे छन् । प्रकाश घिमिरे राष्ट्रिय खेलकुद परिषदको प्रतियोगिता विभाग प्रमुख हुन् ।
गाडीका चालक विष्णु राईलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि भरतपुर लगिएको छ ।
मुक्तिनाथको दर्शन गरेर फर्किदै गरेका घिमिरे आफैले गाडी चलाएको बताइएको छ । पूर्व मूख्य सचिवसमेत रहेका माधव घिमिरे २०६९ सालमा गठित खिलराज रेग्मी नेतृत्वको चुनावी गैरराजनीतिक सरकारमा गृह तथा परराष्ट्रमन्त्री थिए ।