काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण अन्तिम समयमा आएर रद्ध भएको छ । राष्ट्रसंघको महासभामा भाग लिन दाहाल सोमवार अमेरिका जाने कार्यक्रम थियो ।
अन्तिम समयमा आएर दाहालले आफ्नो अमेरिका भ्रमण स्थगित गरेका हुन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रक्रिया अगाडि नबढाइ अमेरिका गएमा आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो ।
संशोधन प्रक्रिया अगाडि नबढाइ भारत भ्रमणमा नजानसमेत मोर्चाले प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो ।
परराष्ट्र मामिलाका जानकार रमेशनाथ पाण्डे लगायतका बुद्धिजीवीहरुको सल्लाहपछि प्रधानमन्त्री दाहालले अमेरिका भ्रमण स्थगित गरेको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।
दिल्ली भ्रमणमा जानु एकदिनअघि मोर्चाका नेताहरुसँग छलफल गरी दाहाल दिल्ली प्रस्थान गरेका थिए । दिल्लीबाट फर्किए लगत्तै सोमवार नै राष्ट्रसंघको महासभामा जाने कार्यक्रम तय गरिएको थियो ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण भ्रमण रद्ध गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । देशको पछिल्लो राजनीतिक घटनाक्रम तथा दलहरुसँगको छलफल गर्नुपर्ने जिम्मेवारी बोधका साथ प्रधानमन्त्रीले भ्रमण स्थगित गरेको मल्लले बताए ।
दशैं अगाडि नै मधेसवादी दलहरुसँग छलफल गरी संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने, स्थानीय निकाय पुनःसंरचनाको बारेमा दलहरुसँगको छलफल गरी अन्तिम निर्णय गर्नुपर्ने, चीन तथा भारतका उच्चस्तरीय भ्रमण लगायतका गम्भीर विषय थाती नै रहेका कारण प्रधानमन्त्री दाहालले अमेरिका भ्रमण स्थगित गरेको दाहालको निजी सचिवालयले जनाएको छ ।
अमेरिका भ्रमण स्थगित गरी प्रधानमन्त्री दाहालले सोमवारदेखि नै राजनीतिक छलफल तीब्र पार्ने र दशैं अगाडि नै सहमतिका विषयहरु टुंगो लगाउने बताइएको छ । दाहालले अमेरिका भ्रमण स्थगित गर्नुमा अन्य राजनीतिक कारणहरुसमेत रहेको हुन सक्ने स्रोतको भनाइ छ ।