कलाकार सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहारको उजुरी

प्रकाशित मिति : २०७३ आश्विन २

santosh-pantaकाठमाडौं । कलाकार सन्तोष पन्तमाथि वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग गएका पन्तले दुर्व्यवहार गरेको भन्दै एक महिला सुरक्षा गार्डले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी हुन् ।

केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत रहेका पन्तले आफ्नो संवेदनशील अंगमा छुने काम गर्नुका साथै व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्न पनि सोधेर थप पीडा दिएको उजुरीमा उल्लेख रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

स्रोतका अनुसार केटिएमका अध्यक्ष साह, निरीक्षक विष्णु कोइराला, हेडगार्ड राजेन्द्र तामाङ पनि महिला होस्टेलमा पुगेका थिए । महिला होस्टेलमा राति ११ बजेपछि कसैलाई प्रवेश नदिइने भए पनि प्रमुख स्वयम् आएकोमा ढोका खोलिएको उनको भनाइ छ ।

उनले अध्यक्ष साहले पनि श्रीमान भए/नभएको, छोराछोरी भए/नभएको, काम गरेपछि र अगाडिको शारीरिक तौल र नाप के कति घटबढ भएको लगायत प्रश्न गरेको उजुरीमा उल्लेख छ ।

महिला अधिकारकर्मी मञ्जु भण्डारीले महिला कामदारमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्नुपर्ने माग गरिन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी खतिवडाले भने उजुरी आएको र त्यस विषयमा अनुसन्धान हुने बताएका छन् ।