sora-shraddaकाठमाडौं । हिन्दू परम्पराअनुसार आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्ष सुरु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । यस अवधिमा छोरा छोरीहरुले आफ्ना दिवंगत पितृको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् ।

घर, नजिकका तीर्थ तथा तालकुण्डमा गई स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई पिण्डदान र तर्पण गर्ने गरिन्छ ।

काठमाडौंको पशुपति, गोकर्ण, जनकपुरको गंगासागर, कालीगण्डकी किनारका विभिन्न तीर्थस्थलहरु लगायतका नदी किनारमा बिहानैदेखि श्राद्ध गर्नेहरुको भीड लागेको छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ ।

यो अवधिभर बाबुआमा नहुनेहरुले माछामासु, लसुन, प्याज जस्ता तामसी परिकार खान नहुने धार्मिक परम्परा छ । यस्तै, यस अवधिमा बाबुआमा नहुनेहरुले एकछाक मात्रै खाने चलन पनि छ ।

आश्विन कृष्ण पक्षमा सूर्य कन्या राशिमा रहेको बेला पितृका निम्ति पर्व जस्तै हुने धार्मिक मान्यता छ ।

हिन्दू धर्ममा पितृको स्थान देवताभन्दा पनि माथि रहने गर्दछ । ठूला चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नु अघि पनि पितृको सम्झना गर्ने परम्परा रहेकाले बडादशैं र तिहार जस्ता ठूला पर्वअघि पितृ पक्षमा संपूर्ण पितृको सम्झना गर्ने गरिएको विश्वास गरिन्छ ।

यी तिथिमा कारणबस रोकिए कृष्ण औँसी, अष्टमी वा द्वादशीका दिन, यी दिनमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म एक दिन जुराएर श्राद्ध गर्नुपर्ने धार्मिक मान्यता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर