काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालमा हिन्दू धर्मको विरोधको नाममा क्रिश्चियन धर्मको प्रचार भइरहेको बताएका छन् ।
इच्छुक प्रतिष्ठानका संरक्षक तथा पाँचौ प्रज्ञा सभाका प्रमुख अतिथि वैद्यले सभालाई सम्बोधन गर्दै नेपालको सांस्कृतिक रूपान्तरण क्रान्तिमा नै आधारित हुने भएकाले क्रान्तिको पेचिलो प्रक्रियासँगै सांस्कृतिक रूपान्तरणको आन्दोलन पनि विकसित हुने बताए ।
उनले क्रान्तिकारी सांस्कृतिक आदर्श त्याग, तपस्या र बलिदानमा आधारित भएको बताउँदै इच्छुकका सपनाहरू पुरा गर्न नसकिएको उल्लेख गरे ।
आफ्नो सम्वोधनका क्रममा वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक वैद्यले नेपालमा धार्मिक रुढिवाद र अन्धविश्वासको विरोध गर्ने कुरा सही भएता पनि हिन्दू धर्मको विरोधको नाममा क्रिश्चियन धर्मको प्रचार तथा विस्तार हुनु, ब्राह्मणवादको विरोधको नाममा अन्ध जातिवाद मौलाउनु भएको बताए । जातीय आन्दोलन वर्गीय आन्दोलनसँगै अघि बढ्ने उनको भनाई थियो ।
यसै सन्दर्भमा चैतन्यले सांस्कृतिक रूपान्तरणको क्षेत्र व्यापक भएकाले अग्रगामी संस्कृतिको सुरुआत र पुरातन रुढिवादी संस्कृतिको परित्याग गर्ने कुराको थालनी कम्युनिष्ट पार्टीहरूले आफूबाट थाल्नुपर्ने बताए ।
काठमाडौंमा इच्छुक भवनमा आयोजित पाँचौ साधारण सभामा प्रतिष्ठान कार्यसमिति सदस्य, प्राज्ञ सभा सदस्यहरूको उपस्थिति रहेको थियो । साधारणसभामा सदस्य सचिव हिरामणी दुखीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले प्रतिष्ठानको समग्र प्रगति विवरण तथा प्रतिष्ठानले भोगेका समस्याहरूको विषयमा प्रष्ट पारेका थिए ।
सदस्य सचिवले वार्षिक कार्यक्रम तथा अनुमानित बजेटका साथै गत आवको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेपछि सुझावका लागि फ्लोर ओपन गरिएको थियो । सो अवसरमा प्राज्ञहरू सत्य पाहाडी, लोकबहादुर थापा, मोदनाथ मरहट्टा, पन्चकुमारी परियार, सीता शर्मा, सुकुम शर्मा, मित्रलाल पंज्ञानी, राजबहादुर कुँवर र अनिल श्रेष्ठले प्रतिवेदनमाथि सुझाव र जिज्ञासा राखेका थिए ।
सभामा उठेका विषयहरूलाई सदस्य सचिवले जावफ दिँदै महत्वपूर्ण सुझावहरूलाई प्रतिवेदनमा समेट्ने जनाएपछि एकमतले उक्त पतिवेदन पारित गरिएको थियो । प्रज्ञासभाले विधानतः दुई वर्षे कार्यकाल अझै बाँकी रहेकोले पुरानो कार्यसमितिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
सभाले कविता गोष्ठी, वैचारिक अन्तरक्रिया गोष्ठी, विधागत कार्यशाला, मासिक सांस्कृतिक संवाद, सांगीतिक कार्यक्रम, पुस्तकालय व्यवस्थापन, इच्छुक स्मृति दिवस आयोजना र पुरस्कार वितरणजस्ता वार्षिक कार्यक्रमहरू ठोस गरेको छ ।
प्रतिष्ठानका संरक्षक चैतन्यको प्रमुख आथित्यतामा सम्पन्न प्राज्ञसभाको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले, स्वागत कार्यसमिति सदस्य रोशन जनकपुरीले र सञ्चालन सदस्य सचिव हिरामणी दुखीले गरेका थिए ।