काठमाडौं । सिरियामा सन् २०११ देखि जारी हिंसा अन्त्यका लागि सामूहिक रुपमा प्रयास गर्न अमेरिका र रुस सहमत भएका छन् ।
अमेरिका र रुसबीचको सहमतिअनुसार अब दुवै देशले आगामी सोमबारदेखि विद्रोहीविरुद्ध सामुहिक रुपमा कारबाही थाल्नेछन् ।
दुई देशबीचको यो सहमतिसँगै एकआपसमा सत्रुता समेत कम हुने भएको छ ।
सिरियामा विद्रोहीविरुद्ध एकीकृत कारबाही अभियानपूर्व सिरिया सरकारलाई विपक्षीको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरिने भएको छ ।
त्यसका लागि अमेरिकाले संयुक्त केन्द्र स्थापना गर्ने र त्यही केन्द्रमार्फत् इस्लामिक स्टेट (आइएस) तथा अल–नुस्रा फ्रन्टविरुद्ध संयुक्त कारबाही अभियान चलाइने अमेरिकी विदेशमन्त्री जोन केरीले बताएका छन् ।
जेनेभामा अमेरिकी विदेशमन्त्री जोन केरी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच भएको छलफलपछि दुई देशले सिरिया मुद्दामा एक भएर लाग्ने घोषणा गरेका हुन् ।
तर, यसका लागि सिरिया सरकार र विपक्षी दुबैले सहयोग गर्नुपर्ने अमेरिकी विदेशमन्त्री केरीके भनाई थियो ।
सिरियाली विपक्षीलाई अमेरिकाले सैन्यसहितको सहयोग गर्दै आएको छ भने रुसले राष्ट्रपति बसर अल असद पक्षलाई सहयोग गर्दै आएको छ ।
सिरियामा सन् २०११ मा राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको आन्दोलन केही समयअघि गृहयुद्धमा परिणत भएको थियो ।
सिरियामा सन् २०११ देखि सुरु भएको हिंसाका क्रममा हालसम्ममा २ लाख ८० भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् ।