आज साम्राज्यवादी र विस्तारवादी शक्तिलाई हामीले जति मजबुत देखेका छौं, त्यो केबल कागजी बाघ र स्वार्थकेन्द्रमा आधारित छ । तसर्थ आजको युगमा क्रान्ति झनै महत्वपूर्ण र अत्यावश्यक छ । जनयुद्ध, सशस्त्र विद्रोह, र छापामार युद्धको कुरा गर्दा हामीले भुल्नै नसक्ने नाम हो, चे ग्वेभारा ।
पछिल्लो आधा शताब्दीको अवधिमा विश्वको साम्राज्यवादी र सामन्तवादी खेमाको विश्लेषण गर्ने हो भने उनीहरु असाध्यै विवादित, विभाजित र कमजोर बनेको छ । तर क्रान्तिकारी र साम्यवादी शक्तिहरुले त्यसभित्रको अन्तरविरोधलाई सहि ढंगले उपयोग गर्दै एकढिक्का भएर क्रान्ति सम्पन्न गर्नेतर्फ सफलता हात पार्न सकेनन् । सन् १९९० को दशकमा सोभियत संघको विघटनपछि साम्यवादी खेमा झनै कमजोर बन्न पुग्यो । आज साम्राज्यवादी र विस्तारवादी शक्तिलाई हामीले जति मजबुत देखेका छौं, त्यो केबल कागजी बाघ र स्वार्थकेन्द्रमा आधारित छ । तसर्थ आजको युगमा क्रान्ति झनै महत्वपूर्ण र अत्यावश्यक छ । जनयुद्ध, सशस्त्र विद्रोह, र छापामार युद्धको कुरा गर्दा हामीले भुल्नै नसक्ने नाम हो, चे ग्वेभारा ।
अर्नेष्टो चे ग्वेभारा एक असल डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ थिए । जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रान्ति ल्याए, जागरणको आन्दोलन चलाए, मुक्ति दिलाए र क्रान्ति आइकनको पहिचान बनाएर छोटो समयमा संसारबाट विदा लिन पुगे । मृत्युपछि उनको अनुहार संसारभरका क्रन्तिकारीले आस्थाको रुपमा ग्रहण गर्ने, वामपन्थी गतिविधि र सांस्कृतिक गतिविधिको प्रतिक बन्यो । अर्जेन्टिनामा जुन १४, सन् १९२८ मा जन्मिएका चे यस्ता व्यक्ति हुन्, जसले क्युबाली क्रान्तिमा आफ्नो मुख्य भूमिका निभाए र बोलिभियाको क्रान्तिका क्रममा बलिदान दिए । आज चे ग्वेभारा नामले संसारभरका माक्र्सवादी, क्रान्तिकारीको शिर उचो बनाएको छ र विश्व क्रान्तिको झण्डा फहराईरहने प्रेरणा प्रदान गरेको छ ।
कसरी क्रान्तिकारी बने चे ग्वेभारा ?
अर्जेन्टिनाको मध्यमवर्गीय परिवारमा जन्मिएका चे परिवारमा तेते नामले बोलाइन्थे । इन्जिनियर बाबुका छोरा चेले बाल्यकालमा आर्थिक रुपमा धेरै संघर्ष गर्नुपरेन तर उनले न्याय, फाँसीवादको विरोध, धार्मिक सहिष्णुता, साहित्यप्रतिको गहिरो रुची, आर्थिक उपार्जन र व्यक्तिगत सम्पत्तिको मोह नराख्नेजस्ता महत्वपूर्ण कुरा घरमै सिके । जसले आफूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाउनसक्छ र सार्वजनिक जीवन जिउने प्रतिबद्धता गर्छ उसले अन्य जस्तासुकै कठिन परिस्थितिलाई पनि जित्नसक्छ । अर्जेन्टिनी ‘चे’ अर्थात ‘हाम्रो’ वास्तममै विश्वभरका क्रान्तिकारीका लागि प्रेरणाका स्रोत बन्न पुगे ।
दुई वर्षको उमेरमा नै दीर्घरोगी भएका चेको स्कुल जीवन हुन अरुको जस्तो सामान्य हुन सकेन । आत्मविश्वासी, बहुआयामिक र विद्रोही स्वभावका चे मूढी, अनुशासनहिन तर अध्ययनशील थिए । १३ वर्षको कलिलो उमेरमा नै स्कुले जीवन सकेर सन् १९४१ मा डिन फ्यूनस स्टेट कलेजमा अध्ययन गरेका चेले ४ वर्षको कलेज अध्ययन सकेर राजधानी ब्यूनस आयर्सको यूनिभर्सिटीमा मेडिकल विभागमा डाक्टरी पढ्न थाले । उनको परिवारको इन्जिनियर बनाउने चाहाना भएपनि क्यान्सर रोगबाट आफ्नी हजुरआमाको मृत्यु, आमाको क्यान्सरसँगको युद्ध र आफ्नै दम रोगका कारण उनी आफू डाक्टर बन्न चाहन्थे । कहिल्यै राम्रो नम्बर ल्याउनेतर्फ नसोच्ने उनले ६ वर्ष लामो विश्वविद्यालयको पाठ्यक्रम ३ वर्षमै पूरा गरे । घुमन्ते र पढन्ते चेले घुम्दा घुम्दै माक्र्सदेखि फ्रायडसम्मका पुस्तकहरु अध्ययन गरे ।
सानै उमेरदेखि नै कमजोर स्वास्थ्य र दीर्घरोगी भएका उनले आत्मविश्वासकै कारण चिकित्सा अध्ययनका क्रममा ल्याटिन अमेरिकाका धेरै देशका अधिकांश स्थानमा पुगे । त्यसबेला ल्याटिन अमेरिकी जनता गरिबी, भोग, रोग र अशिक्षासँग जुधिरहेका थिए । यसले चेको मनमा गहिरो चोट पु¥यायो । शारीरिक रोगको उपचार त गर्न सकिएला तर सामाजिक, आर्थिक र राजनीतिक कारणले गरिबी, रोग, भोक र अशिक्षाको रातमा रुमल्लिएका जनतालाई मुक्ति दिलाउनु कठिन कार्य थियो । यसको उपचार कसरी गर्न सकिन्छ भन्ने यक्षप्रश्न उनको मनमा उठ्यो । सोही कठिन कार्यमा आफूलाई जीवनपर्यन्त लगाए ।
उनी अध्ययन र पेशाका हिसाबले डाक्टर त बने तर डाक्टर बनेर आफ्नी हजुरआमा, आमा र आफूजस्तै रोगी र दिनदुःखीको सेवा गर्ने जुन उद्देश्य राखे, त्यो आफ्नो जीवनमा लागु गर्ने कि नगर्ने भन्ने कुरा महत्वपूर्ण कुरा थियो । उनले त्यो सामाजिक रोग निको पार्नका लागि रोगको कारण खोज्दै गए । गाउँ गाउँ, बस्ती बस्ती पुगे, त्यसपछि झनै धेरै रोगी भेटे, अमेजन जंगलका रेड–इण्डियन, आदिवासी बस्ती, पेरुका खेतका किसान, भरिया, ड्राइभरदेखि चिलीका खानीका मजदुरसम्मको जीवन पढे । त्यो समस्याको समाधानका लागि सर्वहारा वर्ग र क्रान्तिकारीको सत्ताको आवश्यकता थियो, क्रान्ति बिना क्रान्तिकारी सत्ता सम्भव थिएन ।
अन्तमा उनले निष्कर्ष निकाले कि गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो । जसबाट छुटकारा पाउने एकमात्र उपाय हो क्रान्ति । अनुन्धानकर्ता हुन मेडिकल साइन्समा योगदान दिन वा जनतालाई राहत दिन डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरो क्रान्तिकारी बन्नु भएको निष्कर्ष निकाल्दै समाज परिवर्तनको क्रान्तिकारी आन्दोलनका यात्री बने ।
चे १९५३ मा डाक्टरी पेशा छाडेर बोलिभियाको यात्रामा निस्किए । बोलिभियामा त्यसबेला पूँवीवादी सुधारवादी सरकारले गरेको टिन खानीलाई राष्ट्रिकरण, जमिन आदिवासी किसानहरुमा वितरण गर्नेलगायतका कामबाट उनलाई थप बल दियो । उनले त्यहाँ बस्दा नै क्रान्तिकारी जीवन व्यवहारलाई अनुशरण गरे सोही कारण उनको जीवनको सुरुवात र अन्त्य बोलिभियामा नै भएको मानिन्छ । बोलिभियाको सुधारवादबाट उनी खुसी हुन भने सकेनन् । उनले ल्याटिन अमेरिकी मुक्तिदाता सिमोन बोलिभारको शालिकअघि उभिएर सुधारवादको विरोधमा भाषण गरे र ट्रकमा चढेर पेरुको आदिवासी क्षेत्रतर्फ गए । उनी पछि ग्वाटेमाला पुगे ।
ग्वाटेमालाको सुधारवादी सरकारका कारण दुई महिनासम्म अर्जेन्टिनी दूतावासमा शरण लिएर बसेका उनी मेक्सिको गएर माक्र्सवादको अध्ययनमा लागे । त्यहाँ बस्दा नै उनले माक्र्स र लेलिनका रचना र छापामार युद्धका कलाकौशलको अध्ययन गरेका थिए । मेक्सिकोमा रहँदा नै उनको क्युबामा क्रान्तिपछि निर्भासित जीवन बिताइरहेका फिडेल क्यास्ट्रो र राहुल क्यास्ट्रोसँग भेट भयो । त्यसअघि नै उनले क्युवामा अमेरिकापरस्त बाटिस्टा सरकारविरुद्ध क्रान्तिको तयारी भइरहेको बारे क्युबाली डाक्टर निको लोपेजबाट थाहा पाइसकेका थिए । क्यास्ट्रो दाजुभाईसँगको भेटपछि क्युबाको क्रान्तिमा सहभागी भए र नेतृत्वदायी भूमिका निर्वाह गरे । क्रान्ति सम्पन्न भएपछि फिडेल क्यास्ट्रो नेतृत्वको सरकारमा उनी केन्द्रिय बैंकका अध्यक्ष र उद्योगमन्त्री बने ।
मन्त्री बनेपनि कहिल्यै भत्ता लिएनन् बरु आफ्नो जीवन गुजार्नका लागि निश्चित समय शारीरिक श्रमदान गरे । अमेरिकाको नाकैपनि साम्यवादी सत्ता स्थापना भएपछि त्यसलाई असफल पार्नका लागि ठूलो षढ्यन्त्र भइरहेको थियो । फिडेल क्यास्ट्रोलाई मात्रै ६ पटकसम्म हत्याको षढयन्त्र गरेको अमेरिकाको गुप्तचर संस्था सीआईएले चेलाई पनि सन् १९५४ देखि १९६२ सम्म निरन्तर पिछा गरिरह्यो । फिडेल क्यास्ट्रोलाई क्युबाको क्रान्ति र क्रान्तिपछि उद्योगमन्त्री भएर महत्वपूर्ण सहयोग गरेका चेले क्युबाली समाजवादका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउन ठूलो भूमिका खेले ।
त्यसपछि मन्त्रीपद छाडेर उनी कंगोमा गएर क्रान्तिका लागि प्रयास गरे । कंगोमा क्रान्तिकारी विचार प्रवाह गरेका उनी त्यसपछि बोलिभियाको क्रान्तिमा समाहित बने । बोलिभियाको क्रान्तिमा लड्दालड्दै पक्राउ परेका चेको ९ अक्टोबर १९६७ मा हत्या भयो । चेको हत्यामा साम्राज्यवादी गुटमा ठूलै खुसियाली भएपनि ल्याटिन अमेरिकाको मुक्ति आन्दोलन, विश्व क्रान्ति र कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुग्यो । उनको शबको तस्बिरसमेत हत्याको ४७ वर्षपछि मात्रै सार्वजनिक गरियो । आज चेका बारेमा लेखिएका दर्जनौं पुस्तकमार्फत उनको क्रान्तिकारीता र छापामार कलाकौशल तथा चेद्वारा लिखित गुरिल्ला युद्धका नियम पुस्तकमार्फत उद्घाटित भइसकेको छ । छापामार युद्धका नियमहरु प्रशस्तै पढ्न पाइन्छ ।
क्युबाको शान्ता क्लारामा चेले बन्दुक उठाएको भव्य शालिक निर्माण भएको छ । क्युबाको क्रान्ति र क्रान्तिपछिको स्थायित्वका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका चेको सम्झनामा हरेक वर्ष अक्टोबर ९ तारिखका दिनलाई त्यहाँको सरकारले ‘हिरोइक गुरिल्ला डे’ को रुपमा मनाउने गरेको छ । चे २० औं शताब्दीका विश्वका शक्तिशाली र महत्वपूर्ण व्यक्तिको रुपमा साम्राज्यवादी कित्तामा समेत दरिएका थिए भने क्रान्तिकारी आन्दोलनभित्र क्रान्ति नायक हुन् ।
चेको महान सपना
प्राकृतिक र सांस्कृतिक सम्पदाको धनी ल्याटिन अमेरिका लामो समयसम्म स्पेनिस साम्राज्यवादको उपनिबेशको रुपमा रह्यो । स्पेनिस उपनिबेश र स्पेनिस उपनिबेशपछि पनि अमेरिकी प्रभावमा रहेका ल्याटिन अमेरिकी देशमा निरन्तरको दमन, उत्पीडन र नवउपनिवेशको शोषणमा परेका मात्रै थिएनन् असमानताको उदाहरण पनि बनेका थिए । सिमोन बोलिभारले स्पेनिस साम्राज्यवादबाट मुक्ति दिलाए । चे समग्र दक्षिण अमेरिकालाई साम्राज्यवादबाट मुक्ति दिलाउने अभियानका साथ क्रान्तिमा लागेका थिए । दक्षिण अमेरिकी देशहरु ब्राजिल, अर्जेन्टिनाजस्ता ठूला देशमा वामपन्थी सरकार स्थापना भएपछि त्यसले अमेरिका र ल्याटिन अमेरिकाबीचको सम्बन्धमा ठूलो प्रभाप प¥यो ।
ब्रिक्समा सामेल ब्राजिलले अमेरिकी एकाधिकार बजारमूल्यलाई ठूलो चुनौती दियो । अमेरिकी साम्राज्यवादलाई ल्याटिन अमेरिकी जागरणको आन्दोलनले ठूलो धक्का दिन सफल भयो । सोही कारण अहिलेपनि अमेरिकाले ल्याटिन अमेरिकी देशमा वामपन्थी सरकार ढलाउन र आफ्ना कठपुतली सरकार निर्माणका लागि षढ्यन्त्र गरिनै रहेको छ । ल्याटिन अमेरिका, क्यारेबियन क्षेत्रका जनतामाझ चे ग्वेभारा लोकप्रिय नाम हो । उनको अल्पकालीन सशस्त्र विद्रोहपछि सत्ता कब्जा गर्ने कार्यनीतिक सोच सबै देशमा पूरा हुन सकेन । क्युबा र निकारागुवामा यो योजना सफलतापूर्वक कार्यन्वयन भयो । अझैपनि कतिपय ल्याटिन अमेरिकी देशमा वामपन्थी सत्ता कायम छ । तर, सिंगो ल्याटिन अमेरिकालाई साम्राज्यवादको प्रभावबाट मुक्त बनाउने चेको सपना भने अझै पूरा हुन सकेको छैन ।
अन्त्यमा, सोभियत संघको विघटनपछि पनि वर्तमान समयमा साम्राज्यवाद बहुध्रुवमा विभाजित छ । सुरुवातमा नै भनिसकिएको छ की आज साम्राज्यवादी एकछत्र रुपमा बलियो बनेका होइनन्, बरु क्रान्तिकारी र समाजवादी आन्दोलन कमजोर बन्न पुगेका कारण साम्राज्यवाद कागजी बाघका रुपमा स्थापित भएको मात्रै हो । चीनले दीर्घकालीन जनयुद्धको माध्यमबाट क्रान्ति सम्पन्न गर्न सफल भयो । रसियाले सहरी विद्रोहमार्फत समाजवादी सत्ता स्थापना ग¥यो । नेपालजस्ता तेस्रो विश्वका कतिपय देश आजपनि संक्रमणकालीन राज्यव्यवस्थाबाट गुज्रिरहेका छन् । यी देशहरुमा साम्राज्यवाद, विस्तारवादसँगै क्रान्तिकारी आन्दोलनका कतिपय व्यक्तिहरु लतारिन पुग्दा यसको गरिमामाथि धक्का पुगेको छ । सामन्तवादी र साम्राज्यवादीहरुले मुक्ति र परिवर्तनको आन्दोलन, गरिबी, रोग, भोक, प्रताडना, र सामाजिक न्यायका लागि भएका हरेक आन्दोलनलाई अपराधका रुपमा व्याख्या गर्ने गरेका छन् । कतिपय क्रान्तिकारी शक्ति त्यसलाई प्रतिवाद गर्न नसकी साम्राज्यवादी, विस्तारवादी र नवसंशोधनवादीका पुच्छर बन्न पुगेका छन् ।
नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गर्ने अठोटका साथ सुरु भएको जनयुद्धलाई बिचमा नै सम्झौता मार्फत समाप्तीको घोषणा गरेर प्रचण्डसहितका कतिपय नेताहरु प्रतिक्रियावादी सत्ताका एजेन्ट बन्न पुगेका छन् भने जनयुद्धमा क्रान्तिकारी जनपरिषद्को संयोजक समेत रहेका डा.बाबुराम भट्टराई माक्र्सवादलाई नै छाडेर भागेका छन् । माओवादी केन्द्र वामपन्थी खोलको दक्षिणपन्थी प्रवृत्तिको परिणाम हो भने बाबुरामको नयाँ शक्ति खुल्लमखुल्ला प्रतिक्रियावादी बिजातीय प्रवृत्तिको झुण्ड हो । जसले माक्र्सवाद, वैज्ञानिक समाजवाद, कम्युनिष्ट आन्दोलनको पवित्रता, सामाजिक न्याय र समतामूलक समाज निर्माण र विकासको वृहत अवधाराणालाई धान्न सक्दैनथ्यो । त्यसले सुरुमा नै आफ्नो पहिचान प्रष्ट पारेर क्रान्तिकारी आन्दोलनलाई ठूलो फाइदा नै पु¥याएको छ ।
रुस र चीनको समाजवादी क्रान्ति, क्युवा, उत्तर कोरिया, भियतनाम लाओसजस्ता देशका समाजवादी राज्यव्यवस्था, बोलिभिया, निकारागुवा, भेनेजुएलामालगायत दर्जनौ देशमा रहेका वामपन्थी र समाजवादी सरकारले आज पनि साम्राज्यवादीको मुटुमा ड्याङ्ग्रो बजाइरहेका छन् । चे तीनै व्यक्ति हुन् जसले २० औं शताब्दीमा साम्राज्यवादलाई दिनमा भोक र रातमा निद्रा लाग्न दिएनन् । एक अथक छापामार योद्धा चेका बारेमा थुप्रै फिल्म निर्माण भएका छन् । चे ग्वेभारा जीवन पर्यन्त क्रान्तिकारी भएर रहे । अदम्य साहस, निरन्तरको संघर्ष, क्रान्तिकारी आन्दोलनप्रतिको अटुट आस्था र इमान्दारिता, माक्र्सवादी विचारधाराका कारण आज उनी क्रान्तिकारी पंक्तिमा स्थापित छन् । उनलाई साम्राज्यवादले कहिल्यै पनि सुखले बस्न दिएन । उनले गरेको संघर्ष आज पनि करोडौंको प्रेरणाको स्रोत हो । माक्र्सवादबाट प्रशिक्षित उनी सबैभन्दा प्रसिद्ध विचारक–योद्धा समेत हुन् । उनी बुद्धि र साहसको अनौठो संयोग भएका सर्वहारा वर्गका प्रतिनिधि, विश्व क्रान्तिका छापामार योद्धा, डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ हुन् । उनले छाडेको एउटै सन्देश क्रान्ति, निरन्तर क्रान्ति र जीवन पर्यन्त क्रान्ति हो ।