उपनिषद्कालमै नेपालको अस्तित्वमा रहेको पाइन्छ । यस अर्थमा नेपाल प्राचीन देश हो । मध्यकालीन नेपालका सामाजिक लोकसंस्कार संस्कृतिका बारेमा सबै प्रस्ट नभए पनि प्राप्त ऐतिहासिक सामग्रीहरूबाट भने शासकीय प्रभुत्व, वर्ण व्यवस्था हस्तक्षेप, धार्मिक जडताको प्रतिविम्ब लोकसाहित्यमा परेको देखिन्छ । राज्यसत्ताभित्रका गुट, उपगुट तिनीहरूका बीचमा हुने संघर्षले आमजनताहरूमा पार्ने प्रभावले समाज समुदायले सिर्जना गर्ने लोकसाहित्यमा प्रभाव पारेको पाइन्छ ।
पछिल्लो कालखण्डमा नेपाल विभिन्न भुरेटाकुरे राज्यमा विभाजित थियो । ती राज्यहरूमा आ–आफ्नै प्रकारका लोकसाहित्य, संस्कृति एवम् जीवन पद्धति, मूल्य मान्यताहरू थिए । भूगोल जनसंख्याले पृथक राज्य देखिए पनि कयौँ संस्कृतिका विसारदहरू भने एउटै–एउटै देखिन्छन् । विभिन्न राज्यहरूबीच हुने मेलमिलाप, झैझगडा, जय, पराजय, भारदारी वा शासकीय षड्यन्त्र आदिको प्रभाव लोकजीवनमा पर्ने र त्यसको प्रतिछायाँ लोकगीतमा व्यक्त भएको पाइन्छ ।
राज्य सञ्चालनमा प्रयोग गरिएको दैवी शक्तिका नाममा शासक र शासितबीचको असमान खाडलका विरुद्धमा जनचेतना वा प्रतिशोधमा आएको असाधारण परिवर्तनले लोकगीत सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह हुनपुग्यो । परम्परागत समाजभन्दा माथि उठेर जीवन र जगत्लाई बुझ्ने प्रगतिशील धारणाको औचित्य पुस्ट्याईंले विगतका सोच मूल्य मान्यतामा परिवर्तन आउँदा यथास्थिति र प्रगतिशीलताको द्वन्द्वले लोकगीत सिर्जनामा प्रभाव पर्नु स्वभाविकै थियो ।
यसरी विचारमा आएको परिवर्तनले वर्ग कित्तामात्र छुट्टिएन, सामाजिक ध्रुवीकरण हुँदै यथास्थितिवादी वा शासकीय लोकगीतहरू र जनपक्षीय वा जनताका लोकगीतहरूमा विभाजन हुनपुग्यो । हाम्रो र तिम्रो वा हुने र नहुने अथवा हेप्ने र हेपिनेहरूका वर्ग स्वार्थअनुरूपका लामो समय चलेको वा चल्ने सामाजिक द्वन्द्वले सिर्जित लोकगीतहरूको प्रभाव समकालीन समाजमा प्रत्यक्ष पर्दछ । त्यस्ता सिर्जनाले अल्पकालीन र दीर्घकालीन छाप छाडेको पाइन्छ । कुनैको अस्तित्व छोटो समयसम्म रहन्छ भने कुनैको प्रभाव लामो समयसम्म पर्दछ । जस्तो तलको लोकगीत–
बजार भाउ उक्लिँदो छ, पेशा छ मन्दीमा ।
नेपाल देश ठगी खायो, सुगौली सन्धीमा ।।
राजनीतिक परिवर्तन हुन जति सजिलो छ लोकसाहित्य, संस्कृति परिवर्तन हुन त्यति सजिलो हुँदैन । जस्तो तत्कालीन जुम्ला राज्यका राजा बलिराजले चलाएको भैलो वर्तमानसम्म विभिन्नरूपमा कायमै छ । स्रष्टाहरू दूरदृष्टि राख्दछन् । लोकगायकहरू आफ्नो भूगोलमा मात्र सीमित हुँदैनन् । आफ्नो र अर्काको देशमा भएका दमनका विरोधमा कसरी सिर्जना हुनसक्तछ भन्ने कुरा भियतनाम युद्धमा अमेरिकी साम्राज्यवादले गरेको बर्बर दमनलाई लोकस्रष्टाहरूले यसरी गीतबाटै सचेत गराउन पुग्दछन् ।
खोलाखोला नहिँड्नुहोला ।
अम्रिकानले खसाउँछ बम गोला ।।
समाज एउटै गतिले चल्दैन । परम्परावादी समाजले थोपरेको निराशा, कुण्ठा, अन्धविश्वास, कुरीतिबारे नबुझ्दा निराशावादी गीतहरू सिर्जना हुनपुगे । असमानताका कारण नबुझ्दा आफ्नो पीडा खप्न नसकी मृत्युवरण गर्ने सजिलो उपाय र बाँच्दासम्म दुःख व्यहोर्नुपर्ने बाध्यतालाई मीठासयुक्त गीतहरू यसरी सिर्जना भएको देखिन्छ ।
मानकोट छेडा गाड, म आफैँ तरुँकी ।
घाँटीमाथि पासो लगाई, हिँई कतै मरुँकी ।।
पाक्यो फल चरीले खान्छ, काँचो फल रुखै छ ।
जाँसम्म परानी रन्छ, त्याँसम्म दुःखै छ ।।
वर्गीय चेतनाको अभावमा वर्ग कित्ताको बोध नहुँदा शासक सामन्तहरूलाई खुसी बनाउन चाकडी चाप्लुसी गर्दै यस्ता गीतहरू पनि सिर्जना हुन पुग्दछन् । जस्तो–
साल कसा, समय कसा, मैना कसा कसा ।
पाटन दुबो पलाई जाला, हिउँचुलीय रसा ।।
न आसा, न कुण्ठा, न उत्साह उमंग यस्ता गीतहरू पनि सिर्जना भएका छन् । जस्तो–
घाँम बुडी डाँडैमा गैग्या, सल्ली टुप्पा घाम छन् ।
मन्र्यालाई कालैले लैगो, बाचन्यालाई राम छन् ।।
माल अड्डा बैदार छैन, खाता बई खोल्नु छ ।
के–के हुन्छ समयले, तमासा देख्नु छ ।।
जब असमानता बढ्दै जान्छ, सामाजिक द्वन्द्वले पृथक २ वर्गको आ–आफ्नो वर्ग स्वार्थअनुसारका लोकसिर्जनाहरू हुनपुग्दछन् । धनी र गरिब वर्गबीच हुने न्याय वर्गीय हुन्छ भन्दै लोकस्रष्टाहरू यसरी लोकगीत सिर्जना गर्न पुग्दछन् ।
बस्ती राम्रो समाइलाको, धारपानीका केला ।
धनीको निसाफ हुन्छ, गरिब हुन्छ हेला ।।
गरिबीका कारण आयआर्जनका लागि विदेशिनुपर्ने आमनेपालीको नियति बनेको छ । हिजो भारतका गल्लीगल्लीमा बहादुर, गोर्खाको नामले विदेशमा श्रम गर्ने नेपाली आज खाडीलगायतका देशहरूमा सस्तो मूल्यमा श्रम बेच्दै छन् । कामको खोजीमा विदश गएका पति घर नफर्कनु एक्लै घर व्यवहारको पीडाले पिरोलिनुको पीडा गीतबाटै मनका भाव यसरी व्यक्त हुन्छन्–
माथि खेत कालु शाहीको, तल्तिर भानेको ।
ढुङ्गाको मन हुँदो रैछ, छोडेर जानेको ।।
वरकी फरकी गर्छन्, पारी वनका साज ।
जोडीको परेवा छैन, एक्लै घुम्छ बाज ।।
समयको गतिसँगसँगै परिवर्तित राजनीतिक पद्धतिका प्रभावले अन्य क्षेत्रजस्तै लोकसाहित्यमा प्रभाव नपार्ने कुरै भएन । १० वर्षे जनयुद्धले राज्यको समग्र क्षेत्रमा प्रभाव पार्दा लोकगीतमा समेत नयाँ धारको विकास ग¥यो । नेपाली समाजमा रहेका विभिन्न कुरीतिहरूलाई राजनीतिकरूपमा जनयुद्धले क्षतविक्षत पार्दै जाँदा सामाजिकरूपमा जनताका गीतहरू मार्फत् जनयुद्धलाई सहयोग पु¥याउन थुप्रै लोकगीतहरू सिर्जना भएका छन् । परम्परागत मायाप्रीतिका गीतहरू भाग्य भरोसायुक्त अदृश्य शक्तिप्रतिको अघाध विश्वास, त्रास एवम् शासकहरूका स्तुतिगानका लोकगीतहरूको सट्टामा राष्ट्रिय स्वाधिनता र वर्गीय मुक्तिका लागि जागरूक बनाउने लोकगीतहरू सिर्जना हुनपुगे । गाउँघरका वन जङ्गल, पाखा पखेरामा विभिन्न भाका र लयमा जनताका गीतहरू कथ्न, भन्न र गाउन थालियो । जस्तो–
केटी – हात्तीमाथि माओत्याय, माओत्यामा होद्धा ।
दुबै मिली कसम खाँदै, बनौँ मुक्ति योद्धा ।।
केटा – सीमाध्याईं बजार राम्रो, ताल मिल्याको तोली ।
शोषक फाल्न आजै उठौँ, न भनौ है भोलि ।।
केटी– बिछोड भयाका जोडा, दिनका मैना गन्ने ।
जनवाद अनाउँदासम्म, हुन्न मनको भन्ने ।।
केटा– दुई बैनी बयाली खेल्छिन, रुप्स्या रानी वन ।
जनवाद कसरी आउला, फेरि मलाई भन ।।
केटी– भेरीका जँगार ठूला, तर्ने वालो तर्छ ।
गरिब, किसान, सर्वहारा, फेरि उठ्नुपर्छ ।।
जनयुद्ध बीचमै तुहियो । १२ बुँदे सम्झौतापछि जनवादी राज्य सत्ताका लागि लडेका मुक्ति योद्धाहरू क्यान्टोन्मेन्ट, सेना समायोजन हुँदै गौरपूर्ण बलिदानीमा ब्रेक लाग्दा आमूल परिवर्तनको आकांक्षामा तुषारापात भयो । विभिन्न भ्रमहरू सिर्जना भए । संगठित विशाल शक्ति खण्डित भयो । शान्ति सम्झौताको करिब एक दशकमै व्यवहारतः जनुद्धले देखाएका सपनाहरू लथालिङ्ग भताभुङ्ग हुनपुगे । नयाँ नेपालको नारा हास्यपूर्ण बन्न गयो । भनाइ र गराइमा एकरूपता देखिएन । अपेक्षा गरेका नायकहरू खलनायकमा परिणत भए । जनताका आशा निराशामा परिणत भए । विसङ्गतिका श्रृङ्खलाहरू यति बढेकी त्यसलाई सही बाटोमा ल्याउन भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना भयो । तर पनि जनता आफ्नो मुक्तिका लागि पुनः वर्ग कित्ताको पहिचान गर्दै पुनः संगठित हुन, अझ स्पातिलो बन्नुको विकल्प देख्दैनन् । जनताको मुक्तिका लागि अर्को युद्ध अवश्यम्भावी देख्न थालेका छन् । त्यसैले जनताको मुक्तिका लागि अर्को वर्गीय युद्धको तयारी गर्न मुक्ति युद्धको विचार रक्षार्थ पुनः संगठित हुँदैछन् । विगतको समीक्षा, नेतृत्वको गद्धारी अबको तयारी, संगठनका बारेमा आफ्नै लोकभाकामा नयाँ गीतहरू यसरी सिर्जना गर्दै गाउँघरतिर जनतालाई तलका गीतहरूबाट जागरूक बनाउँदैछन्–
मर्मा जिउली खोला बढ्या, माछी मार्ने जाल ।
क्या भनी मरायौ जन्ता, भयो क्या आज काल ।।
जरन धान लगाउन छोड्या, बन्काडज्युली खेत ।
सामन्ती रवाफ उस्तै, छन् कि छैनन् चेत ।।
देशैभरि अस्तव्यस्त, को–को छन् मस्तीमा ।
विद्रोहको राँको बालाँै, हाम्रो गाउँ बस्तीमा ।।
काँधैमा बन्दुक बोकी, काँ जान्छौ मर्माली ।
सीमा मिच्न्या भारतले, खाँदैछ कर्णाली ।।
सुम्लो बग्ने कर्णालीय, धुम्लो बग्ने भेरी ।
संघर्ष अपूरो भयो, लड्नुपर्छ फेरि ।।