जनकपुरधाम । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले वर्गीय, जातीय र लैंगिक समस्या सामाधानका लागि एक भई मोर्चा निर्माण गरी आन्दोलन गरे मात्र अधिकार प्राप्तिको लडाईले सफलता पाउने बताए ।
शुक्रबार जनकपुरमा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष वैद्यले मधेशी, जनजाति, लैंगिक, वर्गीय, जातीय लगायतका समस्याको सम्बोधनको निम्ति आमुल परिवर्तन मार्फत जनताको संघीय गणतन्त्र आवश्यकता रहेको प्रस्टयाए ।
उनले वर्गीय, जातीय र लैंगिक लगायतका समस्याहरुको समाधानका निमित्त मोर्चा बनाएर स्वशासन सहितको आत्मनिर्णयको अधिकारको निर्णायक आन्दोलनको जरुरी रहेको बताए ।
उनले अहिले जारी गरिएको भनिएको नयाँ संविधानको संशोधन र पुनःर्लेखनको आवश्यकता नभई राज्य व्यवस्थाको आमुल परिवर्तनको आवश्यकता भएकोले जनताको संघीय गणतन्त्र अनिवार्य भएको बताए ।
अहिले देशमा गणतन्त्र स्थापना भएपनि भनिए जस्तो मात्रै लागेकाले यसको लागि पुरानो राज्यको पुनःसंरचनाको ध्वस्त गरी नयाँ राज्य सत्ता निर्माण गर्नुपर्ने उनकाे भनार्इ थियाे ।
अहिले देशमा ७ प्रदेश घोषणा गरिएको छ बताउदैँ किरणले सोको विरोध गर्दै भने देशमा १४ प्रदेशको जरुरी छ कसैको अधिकार कटौती गरी घोषणा गरिएको प्रदेशहरुले न त समस्याको समाधान दिनसक्छ न त देशकै हित हुन सक्छ भन्दै उनले भने, ‘हाम्रो पार्टीले अहिले पनि १४ प्रदेशको अवधारणालाई यथावत नै राखेका छौ ।’
उनले ७ प्रदेशको सवालमा टिप्पणी गर्दै अहिलेको प्रदेशको कार्यान्वयन अवस्थालाई देख्दा विकास क्षेत्र झै रहेको बताए । उनले यसको लागि राज्यको पुनःसंरचना हुनुपर्नेमा जोड दिए ।
७ प्रदेशको घोषणाले थारुहरुको हक र अधिकार तथा पहिचान खोसिएको बताउदै केन्द्रिय अध्यक्ष वैद्य भने अधिकार सम्पन्न र थोरै जातिय तथा पहिचान भएको ठाउँमा राज्यले अग्राधिकार सम्पन्न सहितको राज्य बनाउदाँ दिर्घकालसम्म लागि सकारात्मक हुने बताए ।
नयाँ जारी गरिएको संविधानमा वर्गिय, जातिय, लैंगिक, उत्पिडनमा परेका जनताको अधिकार खोस्नेमा सबै पहाडिया नभएर थोरै शोषक र अंहकारवादी पहाडियाको बदमासीको कारणले देशमा जटिल समस्याहरु उत्पन्न भएको र एक अर्काप्रति विद्वैशको भावना फैलिन पुगेको बताए केन्द्रिय अध्यक्ष किरणले बताए ।
उनले सामन्त, शोषक र अहंकारवादी पहाडियाको बदमासीले गर्दा जातियताको मुद्दा जटिल बनेको भन्दै उनले भने जबसम्म वर्गिय, जातिय र उत्पिडनमा परेका जनताले वर्ग संघर्षको बाटो अपनाउदैन तबसम्म मधेश आन्दोलन लगायतका आन्दोलनले सही बाटो लिईदैन भने अन्योलतामा मात्र रुमलिरहन्छ ।
त्यस्तै मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता सीपि गजुरेल गौरवले तराई मधेशमा वर्गिय विभेद अन्त्य नभएसम्म आन्दोलनको अन्त्य नहुने बताए ।
उनको अनुसार मधेशमा चलेको मधेश आन्दोलनले वर्गिय मुक्तिको बाटो नसमात्दा सम्म यस्तो आन्दोलन अन्योल र सिथिलतामै सम्पन्न हुने बताए ।
उनले देशमा प्रादेशिक खाका कोरिएपनि सिमांकन लगायतका विवादहरु अहिले पनि यथावत रहेकाले यसको टुंगो पनि त्यतिकै जटिलता रहेको तर्फ ईंगित गरे । यसको समस्याको समाधानका प्रचण्ड नेतृत्वको सरकारले समेत गर्न नसक्ने ठोकुवा गरे ।
उनले प्रचण्ड तर्फ ईंगित गर्दै भने प्रचण्डले क्रान्ति सकियो र हाम्रो माँग पुरा भयो भनेर गरेको छ, त्यो गलत र भ्रम मात्र रहेको भन्दै क्रान्ति अझै जारी रहेको बताए ।
मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको केन्द्रिय अध्यक्ष रोशन जनकपुरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेताहरु कृष्णदेव सिंह दनुवार, रसिक अन्सारी, पारस यादव, सीताराम तामांग, नन्दकुमार झा, बलराम यादव र रिणा रिजाल लगायतकाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।