Policeकाठमाडौं । सात महिनाभन्दा बढी समयसम्म चलेको मधेस आन्दोलनका क्रममा मारिएका सबै प्रहरीलाई सरकारले सहिद घोषणा गरेको छ । 
मधेस आन्दोलनमा प्रहरी प्रकाशनले नै दमन गरी निहत्था नागरिकको हत्या गरेको भन्दै मधेसवादी दलहरुले विरोध गरे पनि सरकारले भने मधेस आन्दोलनमा मारिएका आन्दोलनकारीसहित प्रहरीको समेत उच्च मूल्यांकन गर्दै सहिद घोषणा गरेको छ ।

मधेस आन्दोलनका क्रममा भदौ ७ गते कैलालीको टिकपुरमा भएको घटनामा एकै दिन वरिष्ठ प्रहरी उपरीक्षकसहित ७ जना मारिएका थिए ।

उक्त घटनामा प्रहरी वरिष्ठ उपरीक्षकसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ जना प्रहरी मारिएका थिए । 

टिकापुरमा थारु आन्दोलनकारीको आक्रमणमा परी सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार श्याम खडका तथा प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी हवल्दार रामविहारी चौधरीको मृत्यु भएको थियो । 

त्यसपछि मधेसका विभिन्न ठाउँमा आन्दोलनकारीको आक्रमणमा परी अन्य चार प्रहरीको पनि मृत्यु भएको भन्दै सरकारले ११ प्रहरीलाई सहिद घोषणा गरेको छ । 

मधेस आन्दोलनमा मारिएको भन्दै उच्च सम्मानका साथ मन्त्रिपरिषद्को विहीबारको बैठकले प्रहरी हवल्दारद्वय जनक नेगी, देवबहादुर पाण्डे र सशस्त्रका प्रहरी हवल्दार थमनबहादुर विक र काशीराम कामीलाई सहिद घोषणा गरेको हो । सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ४२ जना आन्दोलनकारीलाई पनि सहिद घोषणा गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर