baiddhya-dahal-kiran-prachandaकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुकुम्बासीका समस्या समाधान गर्न आग्रह गरेका छन् ।

सुकुम्बासीका समस्यासम्बन्धी एक ज्ञापन पत्र बुझाउँदै उनले जे जस्तो भएपनि कम्युनिष्ट प्रधानमन्त्रीको हैसियतमा सुकुम्बासीहरुको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

सिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुकुम्बासीका प्रतिनिधिसहित पुगेका अध्यक्ष किरणले भने, ‘पञ्चायती व्यवस्थादेखि नै हामीले सुकुम्बासीका समस्या उठाउँदै आयौं, अहिलेसम्म यो समस्या समाधान भएको छैन, जे जस्तो भएपनि तपाईं दोस्रोपटक कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको छ, यही बेला, तपाईंकै पालामा सुकुम्बासीका समस्या समाधान गर्नुस् ।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी समस्या गम्भीर विषय भएको र पहिलो पटक नेकपा (क्रान्तिकारी माओवादी) ले यो समस्यालाई संस्थागत र व्यवस्थित रुपले उठाएकोमा धन्यवाद दिंदै सकेसम्म र्याडिकल्ली नभए सुधारात्मक ढंगले सुकुम्बासीहरुको समस्या समाधान गर्ने आश्वासन दिए ।

‘म प्रधानमन्त्री हुनेवित्तिकै सुकुम्बासीका विरुद्ध भएका सबै गतिविधिलाई रोक्न लगाएको छु’, उनले भने, ‘अहिलेको स्थिति संक्रमणकालभित्रको संक्रमणलीन रहेको र स्थायी प्रकृतिको सरकार नबनेको अवस्थामा सुकुम्बासीहरुका विरुद्ध भएका गतिविधि गलत छन्, यो समस्यालाई सकेसम्म र्याडिकल्ली नभएपनि सुधारात्मक रुपमा समाधान गर्ने कोशिस गर्नेछु ।’

क्रान्तिकारी माओवादीका नेता रामसिंह श्रीसले ९ बुँदे मागसहितको ज्ञापनपत्र पढेर प्रधानमन्त्रीलाई सुनाएका थिए । सुकुम्बासीका नेताहरुले खिलराज रेग्मीको पालादेखि नै सुकुम्बासी बस्तीमा पानी, विजुलीको सुविधा कटौती गरेको र भूकम्प पीडित सुकुम्बासीहरुले पनि सुकुम्बासी भएकैले राज्यबाट कुनै राहत नपाएको भनेर राखेको विषयमा भने प्रधानमन्त्री प्रचण्ड मौन रहे ।

नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता हरिभक्त कँडेल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत र अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका महासचिव सन्ध्या प्रधानलगायत सुकुम्बासी नेताहरु पनि ज्ञापन पत्र बुझाउने क्रममा उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर