काठमाडौं । प्रधानमन्त्रीको पदभार ग्रहण गरेको चार दिनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रालयको विकास सम्बन्धि प्राथमिकताहरु तीन दिनभित्र आफूसमक्ष पेश गर्न सचिवहरुलाई उर्दी जारी गरेका छन् ।
आइतबार सिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाल सरकारका सबै सचिवहरुलाई डाकेर मन्त्रालयको कार्ययोजनाहरु आफूलाई देखाउन उर्दी जारी गरेका हुन् ।
अर्थमन्त्रीसमेत रहेका माकेका नेता कृष्णबहादुर महरालाई साथमै राखेर प्रधानमन्त्री दाहालले विकास निर्माण सम्बन्धि प्रवचनसमेत दिए । केपी ओली नेतृत्वको सरकारले प्रस्तुत बजेट र नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तीन दिनभित्र कार्ययोजना प्रस्तुत गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित कार्यक्रममा कुन–कुन विकास निर्माणका आयोजना कति समयभित्र सम्पन्न गर्न सकिन्छ समयावधि तोकेर मुख्यसचिवमार्फत सो कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएको बैठकमा सहभागी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।
यसैगरी, सरकारका काम कारबाही गुणस्तरीय र पारदर्शी बनाउन, गरिबसँग सरकारका योजनालाई साकार पार्न, पूँजिगत खर्चलाई प्रभावकारी बनाउन, विदेशबाट आउने नेपालीलाई भन्सारमा आइपर्ने समस्या निराकरण गर्न, विद्युत्भार कटौती न्यून गर्न, टे«ड युनियनसँग समन्वय गर्न र राष्ट्रिय गौरवका आयोजना अघि बढाउने सम्बन्धमा पनि प्रधानमन्त्रीले निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ ।