यस ग्यालरीका सम्माननीय मुखिया महोदय !
म आज मेरा मित्रको चित्त बुझाउन नसकेकोमा धेरै दुःखी भएको छु । उहाँको चित्त नराम्रोसँग फाट्यो । मैले जतिपटक सिउन खोज्छु फेरी नयाँ नयाँ ठाउँबाट फाटेर आउँछ । दिनभरी सिउँछु रातभरी फाट्छ । यसपाली त मुटु कलेजो नै फाट्यो केले सिउने केले टाल्ने, म त हैरानीमा परेँ । गिरिजा बाबुले गुप्तबासबाट राजधानीको सहरमा ल्याएर पाँचतारेका चौरासी व्यञ्जनको भोगविलासमा डुबाएकालाई मैले
सोही खुराकको निरन्तरता दिन नसेकोमा मलाई अलिकता खिन्नता महसुस भएको छ ।
मूल कानूनको पोको पार्ने सहमति हुँदा सुशिलदा, मेरा मित्र, म र मोरङका महतौँका बिचमा भएको सोह«बुँदे भद्र सहमतिलाई गुजराती भैयाले बिथोलिदिए र सुशिलदालाई नराम्रोसँग बटारे । उहाँ बिर्ताको प्रथम पुरुष हुने अबसरबाट चुक्नुभयो । र, त्यो चान्स मेरो आफ्नै दिलका अनन्य मित्रले पाउनु भयो । अनि हामीले हाम्रा बाबु बराजुले जोगाइदिएको बिर्ताको भागबण्डा भद्र सहमति अनुसार लाउन सकेनौँ । त्यसपछि म, मेरा मित्र, महतौँ, पञ्चायतका जिम्माल, उखानबहादुर र ससाना भुरेटाकुरे मुखियाहरू मिलेर नयाँ सहमती गर्न बाध्य भयौँ । हाम्रो सहमतिबाट गुजराती भैया निकै नाराज भए । जेजस्तो भए पनि उनी हाम्रा छिमेकी हुन्, मर्दा पर्दा चाहिने, रोटीबेटीको सम्बन्ध भएका साथी । तर पनि नचाहँदा नचाहँदै हामीले उनलाई केही समय तिरस्कार गर्नै पर्यो ।
त्यसको बदला उनले नराम्रोसँग लिए र हाम्रा रैतीहरूले छसात महिना नपाउनु दुःख पाए । हाम्रा रैतीहरूले धैर्यतापुर्वक दुःख खेपे तर हामी झुकेनौँ । हामी नझुक्दा हाम्रा रैतीहरूले हामीलाई स्यावासी दिए । लौ है अब त सुप्रिमो र उखानप्रसाद मिलेर जानु पर्छ भने । विगतमा बिग्रिएको हामी दुबैको छवि सुध्रिन थालेको थियो । जे भए पनि लाटासोझा रैतीहरूले हाम्रो असली अनुहार देख्न नसकेकोमा हामीलाई फाइदै भएको थियो ।
मेरा मित्रले पनि धेरै पटक मसँग अब त हाम्रो विचार र लाईनका धेरै कुरा मिलेको छ हामी एउटै परिवारमा जोडिन पनि सक्छौँ भनेर भन्नु हुन्थ्यो । म कति खुसी थिएँ । ढिलै भएपनि मित्रको बुद्धि फिरेछ भन्ने लागेको थियो । उहाँ त पिँध नभाको लोटा पो रहेछ । मैले त के सक्थेँ, हजार जिब्रा भएका शेषनागले पनि उहाँलाई चिन्न नसक्ने रहेछ ।
यति छिटोछिटो रङ बदल्ने छेपारो त संसारमै छैन होला । अझ उहाँमा त आवाज पनि बदल्न सक्ने क्षमता छ । बिहान उठेदेखि सुत्नेबेलासम्म कतिपटक आवाज फेर्नुहुन्छ त्यो त उहाँ आफैले सम्झनै सक्नु हुन्न । त्यत्रो क्षमता छ । पच्चिसबर्से गुप्तबासले त उहाँलाई अद्भुत क्षमताको विकास गराएछ । विचरा उहाँका सोझा गुरुले केको चिन्न सक्थे । नेपालमा नयाँ अद्भुत छेपारो विकासित भएको कुरा बरू
गिनिज बुकमा पो लेखाउनु पर्ने भयो । यो पनि नेपालको चिनारी हो । बधाई छ मेरा मित्रलाई ।
मुखिया महोदय,
हाम्रो पिकनिक थलोको ग्यालरी बैठकमा आएर गुजराती भैयाले पानी र जवानी पाहाडमा रहनै सक्तैन भनेर भन्दा हामी सबैले तालीको गडगडाहट स्वरबाट समर्थन गरेकै त थियौँ । त्यतिबेला मेरा मित्र, डाक्टरसाव, महतौँ, महिषपालहरू, पञ्चायतका मुखिया र जिम्मालहरू तथा मेरै कोटरीका पुराना मुखियाहरूले कसरी मच्चि मच्चि ताली ठोक्नुभएको थियो ।
मलाई राम्रोसँग याद छ । मलाई भने त्यतिबेला उनको कुरा त्यति मनासिव लागेको थिएन । जे भएपनि हामीले उनलाई भगवान ठानेका थियौँ । साक्षात भगवान हाम्रो देवभूमिमा नयाँ गुजराती अवतार लिएर आए भन्ने ठान्यौँ । सबैले ताली ठोकेर स्वागत ग¥यौँ । उनले हामीलाई फकाउँदै फकाउँदै आफ्नो कमण्डलुभित्र हाल्न थालेका थिए । हामी विच्किएर उछिट्टियौँ । मेरा मित्रले टुँडीखेलबाट औँला ठड्याएर उनलाई हाँक दिनुभयो । एैले त मेरा मित्र लुथ्रुक्क परेर उनको लगौँभित्रै छिर्नु भएछ । मैले त पत्तै पाइन ।
तपाइँहरूले ठान्नु भएको होला कि यसले आफ्नो पदमा लिसो टाँस्सिएझैँ टाँस्न्छि र हामीलाई भाग खान दिँदैन भन्ने । म त्यस्तो जुका होइन नुन टिमुर लाएर निकाल्नु पर्ने । मलाई बिर्ताको मुखिया बनाउँदा मैले प्राप्त गरेको गणितको अङ्क अहिले मसँग छैन । सबै भन्दा नजिकको विचार पनि मिल्दै गएका मित्रले मुखैमा आची गरेर हिँडेपछि म हिसाबमा फेल भएँ ।
मलाई गणित विषयको व्याक त लागि सक्यो । आज यो ग्यालरीमा आउँदा त झन् महतौँले समेत लात्ति हानेर हिँडे । उनको त जन्मजात गुण नै त्यही थियो, आफ्नो गुण देखाउने नै भए । उनी त जताजता बाहुन बाजे उतै उतै फूलपाती चढाउने महतौँ परे । जताबाट ठूलो प्रसादको भाग पाइन्छ उतै खान दौडने मान्छे । अब फेरी उताको भतेरमा भाग खोज्न दौडिए । यो सबै घटनाक्रमबाट मैले के निर्णयमा पुगेँ भने मैले अब मित्रहरूलाई मुखिया बन्ने बाटो खोलिदिनु पर्छ । त्यसैले आजै मैले बिर्ताका प्रथम मुखियालाई भेटेर पदबाट राजिनामा दिएर आइसकेको छु । अब तपाइँहरूले दिपावली गरेर जस्न मनाए हुन्छ ।
उता गुजराती मुखियाका मुलुकमा मेरो बहिर्गमनको जानकारी पाएर जस्न मनाइरहेका छन् भन्ने मलाई खबर प्राप्त भएको छ । मलाई पक्का कुरा के थाहा थियो भने मेरा मित्र मसँग सँधैभरी सहकार्यमा टिक्न सक्दैनन् भन्ने कुरा । किनकि उहाँ आफ्नो बुद्धिले चल्ने मान्छे होइन । मलाई मेरा मित्रको जस्तो एकैछिनमा टाउकाको पारो तताएर कुरा गर्न पनि आउँदैन । उहाँ त भद्र मान्छे पर्नु भो । यो मेरो भनाई होइन । उहाँ आफैँले म त भद्र मान्छे हुँ भन्दै प्रचार गर्दै हिँडेको भएर भनेको हुँ । भद्र मान्छेको पारो सिलबरले बनेको हुन्छ, छिनछिनमै तातिने र लुथ्रुक्क परेर सेलाउने गर्छ । भद्र मान्छेले सबैसँग भद्र सहमती पनि गरिरहन्छ । अहिले उहाँले चारतारेका डेउडापतिसँग भद्र सहमती गर्नु भएको छ ।
विगतमा पनि सिलगुढी, पटना, पञ्जाव, दिल्ली, लखनऊ, सिङगापुर, हङकङतिर, पनि यता हाम्रो बिर्तापट्टीका र उता गुजरातीका बिर्तापट्टीका गुप्त र खुला सबै तहका मुखियाहरूसँग भद्र सहमती गरेका थुप्रै उदाहरण छन् । कहिले आफ्नै कोटरीका डाक्टर, वैद्य, झाँक्रीधामी र आकासमा लाग्ने केकेजाती कुइरो, बादल, बर्सा आदि इत्यादिसँग पनि बेलाबेला भद्र सहमती गरेर पारङ्गत नै हुनुभएको छ । त्यसैले यसपाली गुजराती मुखियाको आदेसमा डेउडापतिसँग गरेको भद्र सहमतीले मेरा मित्रको कल्याण गरोस् ।
जय भोलेनाथ ।