prachanda headquater

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको काँध चढेर एमालेसँग नै बार्गेनिङ गर्ने रणनीति लिएको छ ।

एमालेले आफूसँग गरेको नौं बुँदे सहमति पालना नगरेको तथा छुट्टै भएको भद्र सहमति पालना गर्ने छाँट नदेखाएको भन्दै माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारको साथ छाड्ने चेतावनी दिएर पुनः एमालेसँग नै सत्ता बार्गेनिङ गर्ने भएको हो ।

केही समयअघि नै राष्ट्रिय सरकार गठन गठन गर्नुपर्ने धारणा राख्दै आएका प्रचण्डलाई ओलीले बजेट लगत्तै सरकारको नेतृत्व दिने भन्दै प्रलोभन देखाएपछि चौविस घण्टा नबित्दै कांग्रेस छाडेर फेरि ओलीसँग नै भित्री र बाहिरी भनी दुई सहमति गरेका थिए । प्रधानमन्त्री ओलीसँग भएको दुई सहमति मध्ये नौ बुँदे सहमति सार्वजनिक गरिए पनि भद्र भनिएको सरकार सट्टापट्टा गर्ने तीन बुँदे गोप्य सहमति ओलीले अस्वीकार गरेपछि प्रचण्डले फेरि एक पटक सत्ता बार्गेनिङ्को रणनीति लिएको छ ।

ओली सरकार ढाल्न भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसको साथ लिइराख्ने तर भित्रभित्रै एमालेसँग नै वार्गेनिङ गर्ने प्रचण्ड रणनीति पार्टी हेडक्वाटरबाट स्वीकृत गराएका छन् । शनिवार सम्पन्न भएको पार्टी हेडक्वाटर कार्यालयको बैठकले राष्ट्रिय सरकारको निर्माणका लागि छलफल चलाउनेदेखि सरकार बनाउने सम्मको सबै अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई नै दिएको प्रवक्ता पम्फा भुसालले बताइन् ।

माओवादी केन्द्रका अर्का हेडक्वाटर कार्यालयका सदस्य मणि थापाले आफूहरुसँग भएको कुनै पनि सहमति एमालेले कार्यान्वयन नगरेकाले नयाँ सरकार निर्माणको पहल भइरहेको बताए । उनले साउनभित्रमै ओली नेतृत्वको सरकार ढल्ने पनि दाबी गरे ।

माओवादी केन्द्रीय कार्यालयको बैठक केही दिनदेखि पटक पटक बस्दै आएको थियो । शनिवार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले राष्ट्रिय सहमतिको नयाँ सरकार निर्माणका लागि अध्यक्ष प्रचण्डलाई नै जिम्मा दिने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

नयाँ राष्ट्रिय सहमतिको सरकारका लागि अध्यक्ष प्रचण्डलाई नै पहल लिन जिम्मा दिइएको उनले बताइन् । हेडक्वाटर केन्द्रीय कार्यालय बैठकले पार्टीको आगामी महाधिवेशनको तयारीबारेमा निर्णय गर्न आगामी असार २१ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय पनि गरेको भुसालले बताइन् ।

केन्द्रीय कार्यालयको बैठकले कार्यदलले पेश गरेको संगठनात्मक कार्यविधि र निर्वाचन कार्यविधिलाई अनुमोदन गरेको पनि उनले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर