काठमाडौं । नयाँ नयाँ नाममा राजनीतिक पार्टी खोल्ने तर देशमा सिन्कोसम्म नभाँच्ने राजनीतिक संस्कारलाई व्यंग्य प्रहार गर्दै चर्चित गायक नविन पौडेलको गीत ‘नयाँ पार्टी खोल्छु’ बजारमा आएको छ ।
लोक संस्कृतिका शब्दहरुलाई टपक्कै टिपेर जनतामाझ पस्किन सिपालु गायक पौडेलले यो गीतमार्फत नेपालमा राजनीतिका नाममा चलिरहेको कुसंस्कारलाई तीखो व्यंग्य प्रहार गरेका छन् ।
गीतमा नविन पौडेल र देवी हमालको स्वर रहेको छ भने संगीत पनि पौडेलले आफैले भरेका छन् । यस्तै शब्द दिग्गज धौराली र देवी हमालको रहेको छ ।
विजय थापाको निर्देशनमा बनेको गीतको भिडियोमा हाँस्य कलाकार कमल गाउँले, पल्पसा ढंगाेल ‘चम्सुरी’, र सरु खड्काले अभिनय गरेका छन् ।
राजनीतिमा शैक्षिक योग्यताको कुनै मतलव नहुने र विभिन्न देशमा गएर नेता तथा सांसदहरुले देशकै बेइज्जती गरेका समाचारहरु आइरहँदा शिक्षित व्यक्ति राजनीतिमा प्रवेश गर्नुपर्ने र देशको पक्षमा जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने उनको गीतको सन्देश छ ।
गीतमा भनिएको छ, ‘एसएलसीमा चार विषय लाग्नेहरु पनि, भाषण गर्दै हिँडेका छन्, ठूलै मान्छे बनी, सत्य कुरा बोल्छु, नेपालमा आम्दानी राजनीतिमै रै’छ, यही वर्ष भित्रमा नयाँ पार्टी खोल्छु ।’
यसअघि ‘हरेक जात जाति छौ नानाथरी’, ‘जान्न म त त्यो घर’, ‘ए हजुर सुन्नु भाछर’, ‘यस्तै हुन्छ भन्ने भा’, ‘आजै भेट भाको’, ‘श्रीनगर बतासे डाँडैमा’ जस्ता चेतनामूलक र यथार्थपरक गीत ल्याएका पौडेलले पहिलो पटक तीज गीत लिएर आएका हुन् ।
यसैवर्ष उनले ल्याएका ‘नयाँ पार्टी खोल्छु’ र ‘दुःखका दिन गए’ बोलका गीत यतिबेला चर्चाको शीखरमा छन् ।
जनताको पक्षमा काम गर्ने बाचा गरेर सरकारमा जाने तर सरकारमा पुगेपछि हावादारी गफमात्रै लगाउने प्रवृत्तिलाई गीतमा व्यंग्यवाण प्रहार गरिएको छ ।