लामो समयदेखि विवादित रहँदै आएको दक्षिण चीन सागरका विषयमा फेरि विवाद सुरु भएको छ । फिलिपिन्सले दायर गरेको मुद्दाको एक अन्तर्राष्ट्रिष्य अदालतले फैसला गर्दै चीनको ऐतिहासिक दाबीलाई खारेज गरेपछि चीन आक्रोशित बनेको छ । चीनले दक्षिण चीन सागरमाथि आफ्नो दावी कायमै राखेको छ र उनले अदालतको फैसलालाई ‘रड्डीको टोकरी’ मा फ्याँक्न लायक भनेको छ ।
के हो दक्षिण चीन सागर
चीन सागर प्रशान्त महासागरकै एक हिस्सा हो र दक्षिण चीन सागरपनि । यो चीनको दक्षिणमा पर्छ । यो प्रशान्त महासागरको एक हिस्सा हो जुन, सिंगापुरदेखि ताइवानको खाडीसम्म लगभग ३५ लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । पाँच वटा महासागरपछि यो सबैभन्दा ठूलो सागर हो । यसमा धेरै नै साना साना टापुहरु रहेका छन् ।
यिनीहरुलाई संयुक्त रुपमा द्वीप समूह भनिन्छ । यो दक्षिण चीन सागर र यी द्वीपहरुमाथि विभिन्न देशले आफ्नो दावी गरिरहेका छन् । दक्षिण चीन सागर ताइवानसहित चीनको दक्षिणी क्षेत्र, भियतनाम र कम्बोडियाको पूर्व, फिलिपिन्सदेखि पश्चिम, मलाया पेनिनसुला र सुमात्राको पूर्व तथा बाङ्का–बेलितुङ टापु र बोर्नियोको उत्तरी क्षेत्र हो ।
यो दक्षिण चीन सागरका विषयमा सतहमा चीन र अन्य एसियाली राष्ट्रहरुबीच विवाद देखिदै आएपछि यसको खास विवाद चीन अमेरिकी वर्चस्वको लडाई बन्दै आएको छ । केही समयअघि अमेरिकाका विध्वंसात्मक युद्धपोत दक्षिण चीन सागरमा प्रवेश गरेका थिए । चीनले यसलाई एसियाली क्षेत्रमा स्थायित्व र शान्ति विगार्ने कदम भन्दै कडा आलोचना गरेको थियो ।
दक्षिण चीन सागरमा अमेरिकी युद्धपोत
दक्षिण चीन सागरको क्षेत्र पछिल्ला केही वर्ष विवादको केन्द्र बनेको छ । यसमाथि चीनको मात्रै नभएर ताइवान, मलेसिया, भियतनाम, ब्रुनाई र फिलिपिन्सले समेत हक दावी गर्दै आएका छन् । यसमध्ये संसारकै शक्तिशाली देश बन्ने दौडमा रहेको चीनको दावी सबैभन्दा मजबुत छ । दक्षिण चीन सागरको ठूलो क्षेत्रमा चीनको दावी छ ।
ठूलो हवाई र जलमार्ग दक्षिण चीन सागरमा हरेक वर्ष संसारको करिब ३ खर्ब लडरको कारोबार हुने गर्छ । सोही कारण पनि चीनले यो जलक्षेत्रमा आफ्नो अनुमति विना कसैले पाइला राखेको रुचाउँदैन । अमेरिकाले भने यो जलमार्ग जसले पनि प्रयोग गर्न सक्ने दावी गदैए आएकोछ । चीनले यस जलक्षेत्रलाई कब्जा जमाएर अमेरिकी वाहनहरुको स्वतन्त्रतामा अंकुश लगाउन नहुने बताउँछ ।
सोही कारण अमेरिकाले यस क्षेत्रमा बेलाबेलामा आफ्ना युद्धपोत र मिसाइल यस क्षेत्रमा पठाउने गर्छ । उसले यसलाई जलक्षेत्रको स्वतन्त्रतालाई सीमित गर्ने चिनियाँ प्रयासको विरुद्धमा भएको बताउँदै आएको छ । गतवर्षको अक्टोबरमा अमेरिकाको एक मिसाइल विध्वंसात्मक युद्धपोत लासेन चीनले निर्माण गरेको कृतिम द्वीप नजिकै पुगेपछि चीनले कडा प्रतिक्रिया जनाएको थियो । उसले दक्षिण चीन सागरमा अनुमति बिना छिर्ने काम खतरनाक हुनसक्ने भन्दै यस्ता कदम नदोहो¥याउन अमेरिकालाई चीनले चेतावनी दिएको थियो ।
चीनविरुद्ध फैसला
एक अन्तराष्ट्रिय अदालतले साउथ चाइना सीको मुद्दामा चीनविरुद्ध फैसला दिएको छ । अदालतले फिलिपिन्सले दक्षिण चीन सागरमाथि गरेको दावीलाई सही मान्दै चीनको ऐतिहासिक प्रमाण, समुद्र र यसका संसाधनको एकाधिकारको कुनै प्रमाण नरहेको दाबी गरेको छ । चीनले भने यस फैसलालाई गलत आधारमा लिएको निर्णय बताउँदै नमान्ने स्पष्ट पारिसकेको छ ।
दक्षिण चीन सागरको विषयमा हुने कुनै पनि छलफलमा समेत भाग नलिने चीनले यसअघि नै बताइसकेको अवस्थामा पछिल्लो फैसला आएको हो । चीनले दक्षिण चीन सागरमा पछिल्ला केही समयदेखि कृत्रिम द्वीपसमेत निर्माण गरिरहेको छ । अन्तर्राष्ट्रिय अदालतले जस्तोसुकै फैसला दिएपनि दक्षिण चीन सागरका विषयमा आफ्नो सम्प्रभुता रक्षा गरेरै छाड्ने बताएको छ ।
चिनियाँ रक्षा मन्त्रालयले चिनियाँ जनमुक्ति सेना धम्की र खतरा समाधानका लागि तयार रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘फिलिपिन्सको अनुरोधमा सुरु भएको दक्षिण चीन सागरको विषयमा कुनै अदालतले गरेको व्यवस्था न चीनले स्वीकार गर्छ न मान्छ ।’ दक्षिण चीन सागरका विषयमा भएको कुनै पनि फैसलाका आधारमा कसैले पनि गरेको दाबीलाई चीनले विरोध गर्ने भएको छ ।
फिलिपिन्सले दक्षिण चीन सागरमा चीनको एकल दाबीको विरोध गर्दै चीनको आधिकारिक मानचित्रभन्दा अन्य क्षेत्रमा समेत चीनले गरेको दाबी अस्वीकार गर्न माग गरेको थियो । अंग्रेजी अक्षर ‘यू’ आकारमा रहेको उक्त क्षेत्र तेलको अधिकतम भण्डारका साथै विश्वको कारोबारका लागि महत्वपूर्ण संसाधनयुक्त हो । यसको ९० प्रतिशत क्षेत्रमा चीनको दाबी रहँदै आएको छ ।
फैसला ‘फोहोरको भाँडो’ मा हाल्न लायक
चीनले संयुक्त राष्ट्र संघ समर्थित अदालतले दक्षिण चीन सागरको विषयमा गरेको फैसलालाई अस्वीकार गर्दै ‘फोहोरको भाँडो’ मा हाल्न लायक भएको टिप्पणी गरेको छ । चीनले रणनीतिक रूपमा महत्वपूर्ण दक्षिण चीन सागरमाथि एकतर्फी वायु–सुरक्षा जोन घोषित गर्ने अधिकार रहेको दाबी गरेको छ । फैसला लागू गर्न अन्तर्राष्ट्रिय आग्रह अस्वीकार गर्दै चिनियाँ रक्षामन्त्री जनरल चांग वानकानले चीनले उक्त फैसलालाई नमान्ने र यसका आधारमा हुने कुनै पनि कारबाही र सुझाव स्वीकार नगर्ने जनाएका छन् ।
चीनले दक्षिण चीन सागरमाथिको चीनको अधिकार र क्षेत्रीय सम्प्रभुता कुनै पनि आदेशले कुनै हालतमा प्रभावित नहुने स्पष्ट पारिसकेको छ । चीनले दक्षिण चीन सागरको केही क्षेत्रमा फिलिपिन्सको अधिकारको इतिहास या अन्तर्राष्ट्रिय काुनुनको आधार नरहेको जनाएको छ ।
चिनियाँ सहायक विदेशमन्त्री लियु झेनमिनले चिनियाँ नौसेना दक्षिण चीन सागरमा कुनै पनि बेला सक्रिय बन्ने सक्ने उल्लेख गरेका छन् । उनले दक्षिण चीन सागरमा छिमेकी देश र आसियन देश मिलेर शान्ति र स्थिरता बनाइराख्ने र विमानको आवागमनलाई स्वतन्त्र बनाई राख्न सकिने बताए । चीनले दक्षिण चीन सागरलाई युद्ध क्षेत्र नबनाउन पनि आग्रह गरेको छ ।
ताइवानले पठायो युद्धपोत
अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरमा चीनको ऐतिहासिक दाबी खारेज गरेपछि ताइवानले आफ्नो समुद्री क्षेत्रको सुरक्षाका लागि भन्दै एक युद्धपोत त्यस क्षेत्रमा पठाएको छ । ताइवानकी राष्ट्रपति साई इंग–वेनले युद्धपोत दक्षिण चीन सागरमा पठाउँदै ताइवान आफ्नो देशको अधिकारको रक्षाका लागि प्रतिबद्ध रहेको जनाएकी छन् ।
यसलगत्तै पोत दक्षिण सहर काओहसिउंगबाट ताइवान नियन्त्रित तेपिंग द्वीपतर्फ लागेको छ । फैसलामा स्मार्टलेज सिरिजमा सबैभन्दा ठूलो टापु ताइवान प्रशासित तेइपिंग कानुनी रुपमा एक ‘चट्टान’ भएको र यसको विशिष्ट आर्थिक क्षेत्र नबनाएको उल्लेख छ । यसले ताइवानको अन्य टापुको आसपासको जलक्षेत्रमा रहँदै आएको दाबी खारेज गरेको छ । ताइवानले यसलाई अस्वीकार गर्ने र कानुनी रुपमा बाध्यकारी नरहेको उल्लेख गरेको छ । ताइवानले पनि फैसलाका कारण तेईपिंग नै खतरामा परेको भन्दै युद्धपोत पठाएको हो ।
एक सेन्टिमिटर पछि छाडिन्न : चीन
अन्तराष्ट्रिय अदालतले विवादित दक्षिण चीन सागरमा आफ्नो दावी खारेज गरेपनि चीनले सम्प्रभुताको विषय देशको सबैभन्दा महत्वपूर्ण भएको भन्दै एक सेन्टिमिटर पनि नछाड्ने बताएको छ । चीनका एक युवा राजनीतिज्ञ तथा स्टेट काउन्सिलर यांग जिचीले आफ्ना पूर्वजहरुले छाडेर गएको विरासतमा एक सेन्टिमिटर पनि छाड्न नसक्ने बताएका हुन् । विदेशमन्त्री भन्दा माथिल्लो भुमिकामा रहेका उनी भारतसँगको सीमा वार्ताका लागि विशेष प्रतिनिधि समेत हुन् । सीमा विवाद समाधानका लागि उनले भारतसँग मात्रै १९ पटक वार्ता गरिसकेका छन् ।
अमेरिकाको हठाथ् टिप्पणी
अमेरिकाले अन्तर्राष्ट्रिय न्यायधिकरणको फैसलापछि विवादित क्षेत्रमा भड्काउ वा तनावको अवस्था सिर्जना गर्ने कुनै कदम नउठाउँन आग्रह गरेको छ । सन् २०१३ मा फिलिपिन्सले दायर गरेको मुद्दामा यस्तो फैसला आउनेवित्तिकै अमेरिकाले गरेको यो टिप्पणी शान्ति स्थापनाको पवित्र भावनाले आएको मान्न सकिने अवस्था छैन । बरु उसले दक्षिण चीन सागरमा आफ्नो हैकमलाई पुनस्थापित गराउने अस्त्रको रुपमा फैसलालाई लिइको छ ।
खरबौं डलरको रणनीतिक क्षेत्र दक्षिण चीन सागरमाथि आफ्नो स्वतन्त्रता सुरक्षित राख्न चाहन्छ अमेरिका । किनकी यो अमेरिकी अर्थव्यवस्थाका लागि पनि आवश्यक क्षेत्र हो । अमेरिकाले दक्षिण चीन सागरका विषयमा आएको फैसलाले एक पटक विवाद सकिएको र विभिन्न पक्षबीच व्यवहारिक र सार्थक बहसको बाटो खुलेको बताएको छ । यसमा उसले आफ्नो भूमिकाको समेत खोजी गरिरहेको प्रष्टिन्छ ।