देशमा अत्याचार बढेपछि, शान्ति खल्बलिएपछि, सत्तामा रहेकाहरुको आडमा सत्ताका मतियारहरुको मनपरितन्त्र चल्न थालेपछि गाह्रो हु“दोरहेछ । त्यो देशका सचेत नागरिकहरुले चुप लागेर बस्न नसकिदो रहेछ । त्यसपछि सल्किंदो रहेछ विद्रोहको रांको अनि जेठको खडेरीमा सल्केको डढेलोझैं फैलिंदोरहेछ । अकल्पनीय ढंगले पातपतिङ्गरहरुलाई खरानी पार्दै अघि बढ्दो रहेछ ।
यो दशबर्ष लामो जनयुद्ध यसैको परिणाम थियो । केयौं खप्पिस खप्पिस राजनीतिक ज्योतिषहरुको भविष्यवाणीलाई लोप्पा खुवाउंदै नेपालको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमासमेत प्रभाव बिस्तार गर्दै जनयुद्ध छलाङ्मय गतिमा अगाडि बढ्यो । अन्ततः २०६२ साल चैत्र २४ गतेदेखि सारा जनता ओर्लिए सडक सडकमा ।
जनआन्दोलनको राँकोले शहर धप्प बल्यो । तातिए सडकहरु । सोझिए आन्दोलनका लप्काहरु राजदरबारतिर । अनि राजा ज्ञानेन्द्र बाध्य भए– ‘नेपाली जनताको नासो जनतालाई नै फिर्ता गर्न’ । यसरी दश बर्षको जनयुद्धको जगमा टेकेर नेपाली जनताले चलाएको १९ दिनको आन्दोलनले नेपाली राजनीतिक संस्कारको कायापलट गरिदियो । तिनै राजाद्वारा ब्यु“ताइएको संसदले ‘मरेको बाघको जुंघा’ उखेलिदियो । यो सानो लेखमा विगत दश वर्षको जनयुद्धको क्रममा सांस्कृतिक क्षेत्रमा देखापरेका रुपान्तणका बारेमा सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
लिच्छविकालदेखि सामान्य रुपमा चल्दै आएको पेशाको आधारमा जातको वर्गीकरण गर्ने परिपाटि मल्लकालसम्म आइपुग्दा अझ विकसित भएर गयो । सामाजिक/आर्थिक सुधारको नाममा गरिने कतिपय कामहरुले मानिसलाई वर्गीकरण गर्दै लग्यो । पेशाको आधारमा उचनीच जाति हुनथाल्यो । अलि घटिया खालको काम गर्नेहरु क्रमशः अछूत मानिंदै जान थाले । यहा“सम्म कि पेशाको आधारमा मानिसले लगाउने पहिरन र आभूषणको समेत वर्गीकरण गरियो ।
यसरी लिच्छविकाल, मल्लकाल हुदै शाहवंशीय राज्यकालसम्म आइपुग्दासम्म पनि समाजमा छूतअछूत जातिको रुपमा मानिसलाई भेदभाव गर्ने परिपटि कायमै रह्यो । अछूत जातिका मान्छेहरुलाई सरकारी उच्च ओहदामा पुग्ने अवसरबाट बञ्चित गरियो । संविधानमा जातको आधारमा कुनै भेदभाव नगरिने उल्लेख गरिए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन सकेन । दलितहरुलाई सार्वजनिक वस्तुको उपभोगमा समेत प्रतिबन्ध कायमै रह्यो ।
तर जब जनयुद्ध सुुरु भयो, युद्धमा थुप्रै दलितहरुको सहभागिता बढ्यो । कार्यकर्ता पङ्क्तिबाट सुरु भएको सहभोज, सहबासको प्रक्रिया जनताको स्तरसम्म बिस्तारित भयो । गाउ“गाउ“मा सहभोज कार्यक्रम चलाएर सबै जात जातिका मान्छे संगै बसेर खाने, हात मिलाउने आदि हुंदै जान थाले । उपल्लो जातिका मानिसहरुले पनि कथित तल्लो जातिका भनिनेहरुलाई आफ्नो घरमा प्रवेश गर्नमा कुनै आपत्ति जनाएनन् । अन्तर्जातीय विवाहलाई ने.क.पा.(माओवादी)ले प्रोत्साहन गरेर लग्यो ।
मान्छेका रहनसहन, पहिरन, आभूषण, लवाइ खवाइ, विवाह तथा मृत्यु संस्कारमा पनि उल्लेख्य रुपमा परिवर्तन भएको देख्न सकिन्छ । नेपालका कतिपय जाति÷जनजातिहरु परम्परादेखि नै गाईको मासु खाने गर्दथे । स्वास्थ्यको लागि हानिकारक नभएपनि कानूनमा गाईको बध गर्नु अपराध मानिने भएकोले मरेको मात्र खाने चलन थियो । जसले गर्दा रोगी पशुहरुको मासुको सेवनबाट मान्छेमा समेत रोग फैलन सक्ने खतरा रहन्थ्यो । ने.क.पा.(माओवादीं) ले मरेका पशुहरुको मासु सेवन गर्न प्रतिबन्ध लगायो ।
महिलाहरुले गहनालाई दासताको प्रतीक मान्दै आफूसंग भएका गहनाहरु धमाधम आफ्नो संगठनलाई बुझाउन थाले । महिलाप्रति हुने उत्पीडनविरुद्ध हजारौं महिलाहरुको जनयुद्धमा सहभागिता बढ्यो । त्यसमा पनि जनमुक्ति सेनामा महिलाहरुको उल्लेख्य सहभागिताले उनीहरु आफ्नो हकअधिकार प्राप्तिका निम्ति कति सचेत छन् भन्ने कुरालाई पुष्टि ग¥यो । अन्धविश्वासमा आधारित प्रतिगामी खालका चाडवाड, मेलापर्वहरु क्रमशः निषेधित हु“दै जानु, युद्धमा जा“दा र युद्धबाट फर्किंदा हजारौं जनसमुदाय भेला भएर जनमुक्ति सेनालाई बिदाई तथा स्वागत गर्ने जस्ता संस्कार विकसित भएर गए ।
महिलाहरुलाई विवाहपश्चात् युद्धमा निरन्तरता दिइराख्न धेरै व्यवहारिक कठिनाइहरु हुने गर्छन् । खासगरी जनमुक्ति सेनामा खट्ने महिलाहरुलाई सन्तान जन्मिसकेपछि उनीहरुको पालन पोषण र हुर्काउनमा समय दिनुपर्ने भएकोले घरमै अथवा शिविरमा रहन बाध्य हुनुपर्छ । जसले गर्दा पुरुषहरु नै बढि बाहिर खटनपटन हुने, कतिपय पुरुषहरु युद्धकै कारण विदेश पलायन हुने गर्दा महिलाहरुमाथि पारिवारिक जिम्मेवारी स्वभाविक रुपले बढेर गएको छ । घरको आर्थिक तथा व्यवहारिकलगायत सम्पूर्ण कामहरुको जिम्मेवारीले गर्दा उनीहरुमा आत्मनिर्भर बन्न सक्ने क्षमताको विकास भएको छ ।